१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

बजेट अभावमा रोकिए ३ जिल्लाका ४ सडक निर्माण

तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएका छन्। सङ्घीय सरकार अन्तर्गत २०७९ सालमा सुरु भएको बागलुङको दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम रोकिएको हो।

सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेको तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिए।

उनका अनुसार चार सडक एक अर्ब १९ करोड ९२ लाख ९३ हजारमा निर्माण भइरहेकोमा अर्थ मन्त्रालयले बजेट नपठाउँदा यस वर्ष काम हुन सकेको छैन।

चार सडकलाई चालू आर्थिक वर्षमा एक करोडका दरले चार करोड मात्रै बजेट विनियोजन भएकाले रकम अभाव भएको अधिकारीको भनाइ थियो।

बागलुङ क्षेत्र नं १ को र म्याग्दीमा निर्माण भइरहेका सडकको सात करोड १२ लाख ४७ हजार रकम भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए।

उक्त चार सडक निर्माणका लागि एक अर्ब १९ करोड बजेट आवश्यक पर्नेमा चालू आवमा चार करोड मात्रै बजेट विनियोजन भएकाले समस्या भएको भन्दै इन्जिनियर अधिकारीले पटकपटक अर्थमन्त्रालयमा बजेट थप गर्न अनुरोध गरिएको जानकारी दिए।

‘एक निर्वाचन क्षेत्र, एक रणनैतिक सडक’ कार्यक्रम अन्तर्गत बागलुङ क्षेत्र नं १ स्थित बागलुङ बजार अदालतदेखि चौपारी–सिगाना–चापाखर्क–गाजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको गत वर्ष ४८ प्रतिशत भौतिक प्रगति भए पनि दायित्व भुक्तानी नपाएपछि निर्माण व्यवसायीले यस वर्ष काम गर्न सकेका छैन।’ उनले भने।

दश किमी कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजारमा सम्झौता भएको थियो। निर्माणको जिम्मा पाएको कर्ण बिल्र्डसले सुरुमा कामलाई तीव्रता दिए पनि भुक्तानी नपाएपछि काम गर्न समस्या भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सन्दीप श्रेष्ठको भनाइ छ।

‘गत वर्षको तीन करोड ३१ लाख तीन हजार भुक्तानी पाउन बाँकी छ। चालू आवमा जम्मा एक करोड बजेट विनियोजन भएपछि काममा फर्कन समस्या भएको हो’, उनी भन्छन्। श्रेष्ठले दायित्व भुक्तानी हुनासाथ काममा फर्कन बताउँदै बजेट थप्न आग्रह गरे।

बागलुङ क्षेत्र नं २ अन्तर्गत हरिचौर बजारबाट मल्म, पाण्डवखानी–रमुवा–रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक विसं २०७९ मा २५ करोड २० लाखमा सम्झौता भएको थियो। उक्त सडकका लागि एक करोड बजेट विनियोजन भएपछि काम रोकिएको हो। यस खण्डको १८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।

एक वर्षमा २५ करोडको सडकमा एक करोड बजेटले काम गर्न समस्या भएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राज थापाले बताए।

म्याग्दी जिल्लाको रत्नेचौर–ज्यामरुककोट, भकिम्लि हुँदै बराङ्जा जाने सडकको पूर्वाधार निर्माण सकिएपनि बजेट अभावमा कालोपत्रे हुन सकेको छैन। हालसम्म ४५ प्रतिशत भौतिक प्रगति गरेको उक्त सडकको निर्माण व्यवसायीलाई गत वर्षको तीन करोड ८१ लाख ४४ हजार भुक्तानी दिन बाँकी छ।

मुस्ताङको रणनीतिक सडकअन्तर्गत पर्ने लेतेस्थित थासाङ गाउँपालिका–२, ३, ४ र ५ मा पर्ने छयो–कुन्जे–टिटी–धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा बजेट अभावका कारण काम प्रभावित बनेको छ।

तीन वर्षमा कालोपत्र गर्नेगरी ३८ करोड ८८ लाख ६१ हजारमा निर्माण व्यवसायीसँग सम्झौता भएको उक्त खण्डको हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालयले जनाएको छ।

उक्त सडकमा गत वर्षको भुक्तानी दायित्व नरहे पनि चालू आवमा विनियोजन भएको एक करोडले काम गर्न समस्या भएको निर्माण कम्पनीको भनाइ छ।

३८ करोडको सडक निर्माणका लागि एक वर्षमा एक करोड मात्र बजेट आउँदा काम गर्न नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख अनुक्षा घिमिरेले अर्थ मन्त्रालयले आवश्यक बजेट नपठाउँदा काम गर्न समस्या भइरहेको सुनाए।

उनले तीन जिल्लाका चार ठूला सडकको कालोपत्रको काम सुरु गर्ने समयमा बजेट कटौती हुँदा निर्माण व्यवसायीले काम छोडेर हिँडेको गुनासो गरे।

‘ठूला सडक सिगाना र रत्नेचौरको कामको प्रगति सम्झौता अघि नै सक्नेगरी अघि बढेको थियो। गत असारमा बजेट कटौती भएर भुक्तानी गर्न सकिएन। यो वर्ष भुक्तानीका लागि पर्याप्त बजेट छैन’, घिमिरे भन्छन्, ‘अर्थमन्त्रालयमा बजेट थप गर्नका लागि समन्वय भइरहेको छ। हालसम्म बजेट थप नभएको अवस्थामा यो वर्ष चार वटै सडकमा काम नहुने देखिएको छ।’

प्रकाशित: १२ फाल्गुन २०८० १५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App