१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अर्घाखाँचीमा खुल्यो ‘क्लोथ बैंक’

खाने र लाउने कुराको अभावमा कसैले दुःख नपाऊन् भन्ने उद्देश्यका साथ ‘क्लोथ एन्ड फुड बैंक नेपाल’ ले अर्घाखाँचीको सन्धिखर्कमा ‘क्लोथ बैंक’ स्थापना गरेको छ।

राष्ट्रियस्तरबाटै सञ्चालनमा रहेको यस संस्थाले ‘क्लोथ एन्ड फुड बैंक नेपाल’ स्थापना गरेर देशका केही स्थानमा ‘फुड बैंक’ र केही स्थानमा ‘क्लोथ बैंक’ शाखा सञ्चालन गर्दै आएको छ।

क्लोथ बैंक अर्घाखाँचीका सबै पालिकामा कपडा संकलनका लागि जाने र संकलित कपडा पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने क्लोथ बैंक अर्घाखाँचीका संयोजक सहयोगी बिसीले जानकारी दिए।

स्थानीय तहहरुको सहयोगमा कार्यक्रमलाई अगाडि बढाइने उनको भनाइ छ। ‘सन्धिखर्क नगरपालिकासँग सम्झौता हुने अन्तिम चरणमा छौं’, उनले भने, ‘अन्य पालिकासँग पनि सहयोग मागेका छौं। सकारात्मक प्रतिक्रिया पाएका छौं।’

सन्धिखर्कको पुलचोक साथी होटलनजिकै ‘क्लोथ बैंक’ को गोदाम रहने छ। केही दिनभित्रमा सामग्री संकलन गर्न टोल–छिमेकमा गाडी आउने भएकाले आफ्नो घरमा भएका पुराना तथा प्रयोगमा नआउने कपडा छुट्टाएर राख्न आयोजकले  आग्रह गरेको छ। ‘क्लोथ बैंक’ जिल्ला शाखाले कपडा संकलनका लागि ठाउँठाउँमा क्लोथ बक्स स्थापना गर्ने पनि जनाएको छ।

महानायक राजेश हमाल संरक्षक रहेको यस संस्थामा ऋषि धमला, पण्डित दिनबन्धु पोख्रेललगायतको आबद्धता रहेको छ।

प्रकाशित: १२ फाल्गुन २०८० १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App