४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हट एयर बेलुनले पोखरामा पायो ९ हजार फिटसम्म उड्न पाउने अनुमति

पहिले भन्दा तीनगुणा बढी उचाईमा उड्न पाउने

पोखराको आकाशमा उडेको बेलुन। तस्बिरः नागरिक

पोखराको आकाशमा पर्यटकलाई सयर गराउँदै अएको हट एयर बेलुनलाई हालको भन्दा तीनगुणा बढी उचाईमा उडान अनुमति दिइएको छ। यसअघि पोखरामा जमिनको सतहदेखि ३ हजार फिटमाथिसम्म मात्र उडान गर्ने अनुमति पाएकोमा अब भने ९ हजार फिटसम्म हट एयर बेलुनले उडान गर्न सक्नेछ।

हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए। पहिला ३ हजार फिटसम्म मात्र उडान अनुमति रहेकोमा पछिल्लो पटक ९ हजार फिटसम्म उड्न अनुमति पाएको बाडेले बताए।

‘पहिले भन्दा तीनगुणा बढी उचाईबाट पोखरा र आसपासका दृष्य नियाल्न पाइनेछ,’ बाडेले भने, ‘यसले पर्यटकलाई अझै बढी रोमाञ्चकता थप्नेछ। ९ हजार फिटबाट पोखरा आसपासका दृष्य नियाल्न पाउँदा उच्च हिमाली श्रृंखला अवलोकन गर्न सहज हुनेछ।’

बेलुन नेपालले अबको तीनमहिनाभित्र स्काई डाइभ पनि गर्न मिल्ने गरि उचाई बढाउनका लागि सरकारसँग अनुमति माग गरेको थियो।

‘बेलुनबाट स्काई डाइभ गर्नका लागि प्रक्रिया अघि बढाएका थियौ। पर्यटन मन्त्रालयले स्वीकृत दिएको छ। अब केही प्रक्रिया पुरा गरेर तीनमहिनापछि बेलुनबाट पनि स्काई डाइभ सुरु हुनेछ,’ उनले भने। थप उचाइ लिएपछि अन्नपूर्ण हिमश्रृंखला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बाडेले बताए। 


पोखराको फेवातालको सिरान क्षेत्रमा पर्ने लौरुकदेखि चंखपुर क्षेत्रमा यसले उडान गरिरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग समन्वय गरेर उडान अनुमति प्रदान गरिएको पर्यटन मन्त्रालयका एटीसी अधिकृत मुकेशले डंगोललाई उद्द्धृत गर्दै कम्पनिले बताएको छ। उडानस्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययन पछि अनुमति पाएको बाडेले बताए।

तातो हावाले भरिएको बेलुनमा बसेर हावामा मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हटएयर बेलुन । नेपालमा पोखरामा मात्रै सञ्चालित हटएयर बेलुन साहसिक पर्यटकीय प्रडक्टका रुपमा पहिचान कमाएको छ। २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ। बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्छन्। 

सूर्याेदय र सूर्यास्तको दृष्यावलोकनमा रमाउने पाहुनाले बेलुनको उडान रुचाउने गरेका छन। दिउँसोमा भने हावाको गति बढी हुने भएकाले उडान हुँदैन। आधा घन्टा उडानको आन्तरिक पाहुनाले प्रतिव्यक्ति ९ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। ३ देखि ९ बर्षका बालबालिकाका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ। सार्क मुलुकका पर्यटकका लागि एकसय अमेरिकी डलर र विदेशी पर्यटकका लागि १ सय ३० अमेरिकी डलर शुल्क लिने उनले बताए।

प्रकाशित: १९ माघ २०८० १६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App