१६ जेष्ठ २०७७ शुक्रबार
अर्थ

सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

काँकडभिट्टा – पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्राविधिकले भारतबाट आयातित माछा छामेर र सुँघुरै जाँच्ने गरेका छन्। 

अरू धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन्।
मेचीनगरका नगरप्रमुख विमल आचार्यले ‘कुनै पनि खाद्य वस्तुको विषादी चेक नगरी भित्रिन नदिनू’ भनेर उर्दी जारी गरे पनि नाकामा परीक्षणको पुरानै शैली कायम छ। 

काँकडभिट्टाबाट आयात हुने भारतीय माछा झापाको राजमार्ग छेउछाउ र मेची अञ्चलका पहाडी जिल्लाका अधिकांश बजारमा आपूर्ति हुने गरेको छ । तर ती माछा छाम्छुम् र सुँघसाँघबाहेक कुनै जाँच हुने गरेका छैन । यसबाट आयातित माछामा मिसाइने हानिकारक फर्मालिन जस्तो विषाक्त रसायनको जोखिम रहन्छ।

फर्मालिन प्रयोग भएको माछा हेर्दा ताजा र राम्रो देखिने गर्छ । तर यस्तो रसायन मिसिएको माछा खाँदा मानिसलाई क्यान्सरलगायत रोग लाग्ने सम्भावना हुने विज्ञहरू बताउँछन्।

मेचीनगर माछा भित्रिने पूर्वका मुख्य नाका भएकाले फर्मालिन प्रयोग भएका र सडेका माछा भित्रिन नदिन काँकडभिट्टामा प्रयोगशाला स्थापना गर्न जरुरी देखिएको मेची सामुदायिक केन्द्र काँकडभिट्टाकी उपाध्यक्ष विना तामाङले बताए । 
काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष ०७३/७४ मा एक हजार ६ सय ७५ मेट्रिन टन माछा र ८३ मेट्रिन टन सिद्रा नेपाल भित्रिएको क्वारेन्टाइन चेक पोस्टले जनाएको छ।

भारतबाट आउने माछाको मात्रा केही वर्ष घट्दै गएको भए पनि नेपाल माछा उत्पादनमा आत्मनिर्भर भने हुन सकेको छैन । ‘सुँघेर र छामेर जाँच्ने हाम्रो रहर होइन,’ क्वारेन्टाइनका जाँचकी रामसेवक यादव आफ्नो बाध्यता सुनाउँदै भने, ‘एउटा राम्रो ल्याब भइदिएको भए यस्तो गर्नुपर्ने थिएन।’

वर्षेनी एक हजार ६ सय मेट्रिक टनभन्दा बढी आयात हुने माछा जाँच गर्ने क्रममा काँकडभिट्टाको एनिमल क्वारेन्टाइन कार्यालयले एकपटक पनि गुणस्तरहीन भनेर रोकेको घटना छैन।

‘व्यापारको माल हो, रोक्नु पनि भएन,’ प्राविधिक यादव भन्छन्, ‘खराब भन्ने आधार केलाई मान्ने ? ल्याब भए पो प्रमाणित गर्नु !’ फर्मालिन जाँच्न हाल विराटनगर वा काठमाडौंस्थित क्वारेन्टाइनकै प्रयोगशालामा नमूना पठाउनु पर्ने र त्यसको दोस्रो विकल्प भएको कर्मचारी बताउँछन्। 

तर जाँच लागि एउटा नमूनाको नौ सय रुपैयाँ तिर्नुपर्ने र पठाउन झन्झटिलो भएका कारण अहिलेसम्म छामेको र सुँघेकै भरमा स्वस्थताको प्रमाणपत्र जारी हुँदै आएको बताइन्छ।

मेचीनगरका नगरप्रमुख आचार्यले नाकामा विषादी मिसाइएका माछालगायतका खाद्य वस्तुको आयात रोक्न दिएको निर्देशन पूर्ण पालना गर्न जनशक्ति थप्नुपर्ने र उच्च प्रविधिको प्रयोगशाला स्थापना गर्नुपर्ने बताउँछन् कर्मचारी।

हाल चेकपोस्टमा एक अधिकृत र दुई प्राविधिकसहित तीनजनाको दरबन्दी छ । भन्सार कार्यालय भवनको माथिल्लो तलामा इन्टरमोडलले भाडामा लगाएको कोठामा एनिमल क्वारेन्टाइनको चेकपोस्ट रहेको छ।

मेचीनगरका नगरप्रमुख आचार्यले फर्मालिन मिसाइएको माछा भित्रिन नदिन कडा निर्देशन दिँदै आएका त छन् तर, त्यो कुन हदसम्म लागू हुन्छ भन्ने जवाफ भने पाइँदैन ।

प्रकाशित: २० फाल्गुन २०७४ १३:१७ आइतबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App