बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आफ्नो विवाहको पुष्टि गरेका छन्। उनको यो तेस्रो विवाह हुनेछ।
दैनिक भास्करका अनुसार भेराइटी इन्डियासँग कुरा गर्दै उनले भने, ‘म हाल अमेरिकामा छु। विवाहको खबर सत्य हो। हामी जुलाई ५ मा विवाह गर्नेछौं।’
केही महिना अघि आमिरले विवाह आफ्नो प्राथमिकता नभएको र गौरीसँग यसरी नै खुसी रहेको बताएका थिए। तर अब उनी समयसँगै दुवैको भावना परिवर्तन भएको दाबी गर्छन्।
आमिरले भने, ‘अब हामी दुवैलाई लाग्छ कि हाम्रो सम्बन्धलाई अर्को तहमा लैजाने समय आएको छ।’
उनले थपे, ‘गौरी र म एकअर्काप्रति गम्भीर छौं। हामी बलियो सम्बन्धमा छौं। मेरो हृदयमा, म पहिले नै आफूलाई उनको पति मान्छु। अब, यो सम्बन्धलाई विवाहको नाम दिनु हाम्रो लागि स्वाभाविक अर्को कदम हो।’
आमिरले पहिलो विवाह सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग गरेका थिए। रीनासँगको विवाह १६ वर्षसम्म चल्यो। उनीहरूका दुई छोराछोरी जुनैद खान र इरा खान छन्। उनीहरू २००२ मा कानुनी रूपमा अलग भए। रीनासँग अलग भएपछि उनले निर्देशक किरण रावलाई भेटे। उनीहरूले सन् २००५ मा विवाह गरेका थिए। किरण रावबाट एक छोरा (आजाद) छन्, जसको जन्म आइभीएफमार्फत भएको थियो। १५ वर्षको विवाहपछि आमिर र किरणले जुलाई सन् २०२१ मा आफ्नो सम्बन्ध विच्छेदको घोषणा गरे। तर आफ्नो छोरालाई सँगै हुर्काउन र पानी फाउन्डेसन सहित धेरै फिल्म परियोजनाहरूमा सँगै काम गर्न जारी राखेका छन्।
आमिरले सन् २०२५ मा आफ्नो ६० औं जन्मदिनमा गौरीसँगको आफ्नो सम्बन्ध सार्वजनिक गरेर सबैलाई हैरान बनाएका थिए। गौरी बेंगलुरुकी एक सैलुन उद्यमी र फेसन पेशेवर हुन्। उनका बुबा तमिल–ब्रिटिश मूलका हुन् र उनकी आमा पंजाबी–आयरिश मूलकी हुन्। गौरी सन् १९२० को दशकमा भारतको स्वतन्त्रता आन्दोलनमा संलग्न ब्रिटिश कम्युनिस्ट फिलिप स्प्रेटकी नातिनी हुन्।
आमिर जस्तै, गौरीको पनि पहिले विवाह भएको थियो र उनीसँग सात वर्षको बच्चा (छोरा क्विन) छ। गौरी बच्चासहित विगत दुई वर्षदेखि मुम्बईमा सँगै बस्दै आएकी छिन्।
आमिर र गौरीले एकअर्कालाई २५ वर्षभन्दा बढी समयदेखि चिन्छन्। डेटिङ सुरु गर्नुअघि उनीहरू सुरुमा राम्रा साथी थिए। आमिर र गौरीले आफ्नो सम्बन्धलाई आधिकारिक बनाएदेखि नै गौरीलाई विभिन्न कार्यक्रम र अवसरहरूमा आमिरसँगै देखिन थालेको छ।
मे २०२६ मा नवभारत टाइम्स सँगको अन्तर्वार्तामा आमिरले गौरीसँगको आफ्नो सम्बन्धको बारेमा भनेका थिए, ‘म धेरै भाग्यमानी छु कि मैले गौरीलाई भेट्टाएँ र हाम्रो सम्बन्ध सुरु भयो। उनी अद्भुत छिन् र म उनीसँग अपार शान्ति पाउँछु। यद्यपि मेरो रीना दत्ता र किरण रावसँग गहिरो सम्बन्ध थियो, तर कुरा अगाडि बढेन। म आफूलाई भाग्यमानी ठान्छु कि गौरी मेरो जीवनमा आइन्। मलाई लाग्छ कि अब म पूर्ण छु।’
प्रकाशित: २३ जेष्ठ २०८३ ०८:१३ शनिबार





