११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटकका रोजाइमा खरको छानोको घर

चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन्। विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायः घरमा जस्तापाताको छानो प्रयोग भएका छन्।

इच्छाकामना- २ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानो घरलाई भने भूकम्पले क्षति पुर्‍याएनन्। उनले अहिले उक्त घर भत्काएर नयाँ बनाउने सोच बनाएका थिए। पछिल्लो समय उक्त घर पर्यटकको रोजाइमा परेपछि भने सो घर मर्मतसम्भार गर्नतर्फ लाग्नुभएको छ।

फिस्लिङ–शक्तिखोर सडक विस्तारसँगै पर्यटक बढेको मायाटारमा उक्त घर नै पर्यटकको रोजाइमा परेपछि उनले मर्मतसम्भार गरेर पुरानै अवस्था राख्ने सोच बनाएका हुन्।

घरधनी गुरुङले भने, ‘भत्काएर नयाँ घर बनाउने सोचामा थिएँ तर सडक विस्तारसँगै केही वर्षयता मायाटारमा पर्यटकको आवागमन बढेपछि सय वर्ष पुरानो खरको छानोको घरमा फोटो खिचाउन र बस्न पर्यटकको रोजाइमा परेको छ,यसलाई मर्मतसम्भार गरेर संरक्षण गर्ने योजना बनाएको छु।’ यहाँ आउने पर्यटक यस घरमा फोटो खिचाएर मात्र फर्किने गरेको उनको भनाइ छ।

स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो। फिस्लिङ–शक्तिखोरको  कालोपत्रे सडकको उत्तरतर्फको डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउनेको भीड लाग्छ। एकपटक पुगेकाले इच्छाकामना गाउँपालिका- २ मा पर्ने मायाटार भन्नसाथ यही घर सम्झिन्छन्। घरले मौलिकता दिएको छ। पुरानो घरमा पुरानै शैलीको मौरीका घार पनि छन्।

यहाँ पर्यटकको चहलपहल हुन थालेकोे धेरै भएको छैन। स्थानीय भीमबहादुर प्रजाका अनुसार कुनै समय गोरखा, धादिङलगायतका जिल्लाबाट हेटौंडा, वीरगञ्ज हुँदै भारतसम्म जाने पैदलमार्ग यही बाटो पथ्र्यो। तर सडकमार्गको विकास क्रमसँगै मान्छे हिँड्न छाडेपछि मायाटार अनकन्टार बनेको थियो। केही वर्षयता फिस्लिङ–शक्तिखोर ग्रामीण सडक निर्माण भएपछि माायाटारमा चहलपहल बढ्न थालेको हो।

उनले भने, ‘यो ठाउँमा यतिको चहलपहल होला भन्ने लागेको थिएन, यो सबै सडक बाटोकै कारण भएको हो, कुनै दिन त यो आँगनभरि गाडी र बाइक हुन्छन्।’ ‘घुम्न आउनेलाई मात्रै सहज नभई यहाँका स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार पाएको छ, पहिले यस्तो ठाउँमा को आउँछ र भन्ने लाग्थ्यो। तर, बाटो पिच भएपछि त धेरै मान्छेहरु आउन थालेका छन्।’ 

वडाध्यक्ष पञ्चबहादुर चेपाङ पनि फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै पर्यटकको आवागमन बढ्नुका साथै स्थानियको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको बताउँछन्। अध्यक्ष चेपाङले भने, ‘सडक स्तरोन्नति भएसँगै यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढेको त छनै स्थानीयले उत्पादनको गरेको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको छ।’

काठमाडौंबाट हेटौंडातर्फ जाने केही यात्रुले शक्तिखोर-फिस्लिङ सडक प्रयोग गर्ने गरेका छन्। यस कारण पनि यो बाटोमा धेरै सवारीसाधन गुड्न थालेका छन्। यो बाटो पृथ्वीराजमार्गको फिस्लिङ, मौवाखोला र हुग्दीखोलाबाट चितवनको  पुरानो सदरमुकाम हुँदै उपरदाङगढी, शक्तिखोर हुँदै टाँडीस्थित पूर्व–पश्चिम राजमार्ग पुग्न सकिन्छ। –रासस

प्रकाशित: ८ माघ २०८० ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App