२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

विपन्नका लागि कपडा संकलन

पुनः प्रयोग गर्न सकिने न्यानो कपडा विपन्न समुदायका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी कोहलपुर शाखाको अगुवाइमा कपडा संकलन अभियान सुरु भएको छ। पछिल्लो समय चिसो बढ्दै जाँदा विपन्न समुदायका व्यक्ति बढी प्रभावित भएकाले उनीहरूलाई न्यानो बनाउन मानवीय सहायताका लागि उक्त अभियान सुरु गरिएको हो।

‘न्यानो रहौं, न्यानो बनाऔं’, ‘मन हुनेले दिऔं, मन खोलेर लिऔं’, ‘कपडा खेर नजाओस्, सबैलाई काममा आओस्’ भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको सामाजिक अभियन्ताले बताने गरेका छन्। यसले जाडोबाट कठ्यांग्रिएका व्यक्तिलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुर, नेपाल रेडक्रस सोसाइटी कोहलपुर, कोहलपुर जेसिस, लायन्स क्लब कोहलपुर, लायन्स क्लब कोहलपुर सयपत्री र लायन्स क्लब कोहलपुरलगायत व्यावसायिक संस्था यस अभियानमा लागेका छन्। कोहलपुरका विभिन्न वडामा कपडा संकलन हुने गरेको छ। संकलित कपडा लक्षित वर्गसम्म लगिने गरिएको अभियन्ताहरू बताउँछन्।

आफूले प्रयोग गरेर राखेका तर पुनः प्रयोग गर्न सकिने कपडा सबैले सहयोग गरेर यस अभियानलाई सफल बनाउनु पर्ने इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जनाए।

‘प्रयोग नभएर राखिएका कपडा कसैका लागि ठूलो राहत हुन सक्छ भने किन मानवताको काम नगर्ने,’ उनले भने, ‘दिनेले खुला दिलका साथ दिनुपर्छ।’

योसँगै रातिको समयमा त्यस्ता लक्षित वर्ग चिसोले निदाउनसमेत समस्या भएकाले ओढ्नेओछ्याउने कपडासमेत सहयोगीले दिनसक्ने उनले जनाए।

गत मंगलबार रेडक्रस उपशाखाको कार्यालयमा इलाका प्रहरी कार्यालय डिएसपी सुन्दर तिवारी, उत्तम ढकाल, कल्पना काफ्ले, अन्जना पाण्डे, दिनेश सिग्देल, कुसुम पोखरेल, ऋषि थापालगायतको उपस्थितिमा बैठक बसेको थियो। बैठकले उक्त निर्णय गरेको थियो।

प्रकाशित: ७ माघ २०८० ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App