विश्व सम्पदामा सूचीकृतका लागि प्रस्तावित बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरेका छन्। जापान, जर्मन, फ्रान्स, अमेरिकालगायत चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका हुन्।
तिलाराकोटमा सुरु गरिएको उत्खननपछि विदेशी पर्यटक निरन्तर बढेका छन्। सन् २०१४ देखि तिलौराकोटमा बेलायतको दुर्हम विश्वविद्यालयको प्राविधिक सहयोगमा पुरातत्व विभागले उत्खनन गर्दै आएको छ। कोरोना कालपछि भने सन् २०२०, २०२१ र २०२२ मा तिलौराकोटमा एकदमै न्यून पर्यटक आएका थिए।
सन् २०२३ मा कुल ८१ हजार ८१९ पर्यटकले तिलौराकोटको अवलोकन गरेका छन्। सन् २०२३ मा कुल भारतबाहेक २५ हजार १९६ पर्यटक आएको लुम्बिनी विकास कोष सम्पर्क कार्यालयले जनाएको छ। सो अवधिमा २२ हजार ३०८ भारतीय र ३४ हजार ३२५ नेपालीले तिलौराकोट भ्रमण गरेका छन्। सबैभन्दा बढी म्यानमार, थाइल्यान्ड, कम्बोडिया, श्रीलंकाका बौद्धमार्गी यहाँ आएका थिए।
सेम्टेम्बरदेखि मार्च महिनालाई पर्यटक आउने सिजन मानिएको छ। डिसेम्बरमा ४ हजार ९०९ र नोभेम्बरमा ४ हजार ७६८ विदेशी पर्यटकले यहाँ अवलोकन गरेका थिए। तिलौराकोट भगवान् गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको तथा उनका पिता राजा शुद्धोदनको राजप्रासादका रूपमा परिचित छ।
९० प्रतिशत बढी विदेशी विश्वशान्ति, सद्भावको कामना र तीर्थाटन गर्न आउने गरेको तिलौराकोटस्थित लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए। तिलौराकोटमा गरिएको उत्खनन र विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित गरिएपछि लगातार विदेशी पर्यटक बढ्नु राम्रो संकेत भएको लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्मा किरनले बताए। ‘तिलौरोटमा उत्खनन र विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित गरिएपछि विदेशीहरू आउने क्रमसमेत बढेको हो,’ उनले भने।
यहाँ म्यानमार, श्रीलंका, बर्मा, भियतनाम, चीन, थाइल्यान्ड, कोरिया, जापानलगायत पर्यटक अत्यधिक मात्रामा आउने गरेका छन्। तिलौराकोटमा पर्यटकको संख्या बढ्नु सकारात्मक कुरा भएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए। स्थानीय युवा अगुवा प्रकाश घिमिरेले ठोस योजना र भौतिक पूर्वाधारको अभाव भएकाले प्रायः भारतको बाटो हुँदै लुम्बिनीको भ्रमणपछि मात्र यहाँ आउने गरेको बताए।
बुद्धको क्रीडास्थल तिलौराकोटमा पाइला टेके पुण्य प्राप्ति हुने भएकाले पवित्रस्थल मानेर आउने गरेका छन्। यहाँको मुख्य दरबार भग्नावशेषमा आई सूत्रपाठ, पूर्वी र पश्चिमी गेटमा भगवान् गौतम बुद्धको बाल्यकालको जीवनलीला पाठ गरेपछि मात्र शान्ति प्राप्त भई आत्मसन्तुष्टि हुने हँुदा यहाँ बौद्धधर्मावलम्बीहरू आउने बौद्धमार्गी बताउँछन्।
बुद्धको जीवनसँग सम्बन्धित धेरै पुराताŒिवक स्थल यहाँ हुँदा विदेशी पर्यटक आउने गदर्छन्। तिलौराकोटपछि निग्रमोधराम कुदान, धमनिया स्तुप, सगरहवा, निगालीकोट, गोटिहहवा, सिसहनियाकोटमा समेत पर्यटक जाने गरेका छन। विदेशी पर्यटक बढे पनि होटल तथा पर्यटन व्यवसायी भने निराश छन्
तिलौराकोटमा आएका पर्यटक सरदर ३९ मिनेट मात्र बिताएर फर्कने गरेका छन्। तिलौराकोट आएका पर्यटकको बसाइ र व्यतित गर्ने सयम बढाउने किसिमले पूर्वाधार र सुन्दरीकरण गर्नुपर्ने तिलौराकोट होटलका मालिक दिनेश रायमाझीले बताए।
प्रकाशित: २२ पुस २०८० ०२:३९ आइतबार