१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

केशलिया–बुढीखोला करिडोर निर्माण यसै वर्षदेखि थाल्छौँ :मुख्यमन्त्री कार्की

बुढीखोला करिडोर निर्माणको डिपीआर हस्तान्तरण कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलगायत  । तस्बिर: चुमन बस्नेत /नागरिक

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  केशलिया–बुढीखोला करिडोरको निर्माण यसै वर्षदेखि सुरु गर्ने बताएका छन्।आज विराटनगरमा केशलिया–बुढीखोला करिडोरको डिपीआर प्रतिवेदन बुझ्दै कार्कीले यसै वर्षदेखि करिडोर निर्माण सुरु गर्ने जानकारी दिएका हुन्। 

कार्कीले पहिलो चरणमा भारतको सिमाना देखि बुढीगंगा–दुहबीको सिमाना स्थित बुढीखोला पुल सम्मको भागको निर्माण गरिने जानकारी दिए । कार्कीले यसै वर्ष देखि सुरु गरिने करिडोर निर्माणको काम तीन वर्ष भित्रै सम्पन्न गर्ने दाबी पनि गरे । कार्कीले भने‘यसै वर्ष देखि सुरु हुने करिडोर  निर्माणको काम तीन वर्ष भित्रै सम्पन्न गर्दछौँ ।’

कार्कीले केशलिया–बुढीगंगा करिडोरको निर्माण खोलामा बाँध बाँध्ने उद्देश्यमा मात्रै केन्द्रित नभएको बताए । करिडोर निर्माण पछि सुनसरीको अमडुवामा निर्माण हुने औद्योगिक क्षेत्रसम्मको पहुँच मार्गको रुपमा प्रयोग हुने । विराटनगर विमानस्थल डुबानको समस्या समाधान हुने मुख्यमन्त्री कार्कीले बताए।कार्कीले केशलिया बुढीखोला करिडोर दुहबी पुलसम्म मात्रै सीमित नभई नदिको स्रोत माथिल्लो चुरे क्षेत्रसम्म नै विकास गरिने जानकारी दिए।कार्कीले नदी किनाराका बस्तीसँगै जंगल पनि बचाउने अभियानका रुपमा विकास गर्ने योजना रहेको बताए।बृहत् विराट क्षेत्रलाई कार्यान्वयनमा लैजान पनि केशलिया बुढीखोला करिडोर निर्माणले सहयोग पुग्ने कार्कीले स्पष्ट पारे। 

स्वीस सहयोग कार्यक्रममा परामर्शदाता महेन्द्र सुब्बाले खोलाको बाढी व्यवस्थापनसँगै शहरी पूर्वाधार निर्माणमा पनि आयोजनाले सघाउने बताए।मानविय व्यवहारका कारण केशलियामा बाढी आउने , खोला थुनिएर बस्तीमा पस्ने जस्ता समस्या देखिएको सुब्बाले बताए।जथाभावि बालुवा उत्खनन गर्ने, खोलाको किनारामा घर निर्माण गर्ने, खोलाको किनारामै फोहोर थुपार्ने जस्ता गतिविधिले खोला थुनिने, बस्तीमा पस्ने जस्ता समस्या देखिइरहेको अध्ययनमा देखिएको सुब्बाले जानकारी दिए।कार्यक्रममा पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले सुनसरीको  दुहबी पुल देखि नेपाल –भारत सिमाना सम्मको ४२ किलोमिटर भागमा  करिडोर निर्माण गर्न लागिएको जानकारी दिए।पहिलो चरणमा माटो पुर्ने, सडक ग्राभेल गर्ने लगायतका  कामका लागि १ अर्ब ३२ करोड रुपैयाँ बजेट आवश्यक रहेको श्रेष्ठले जानकारी दिए।

उक्त करिडोर निर्माण गर्दा करिडोरमा पर्ने २ हजार ७ सय २५ वटा रुख मध्ये १ हजार ३ सय बढी रुख काट्नु पर्ने अध्ययनमा देखिएको छ । यस्तै करिडोर निर्माणको विभिन्न चरणमा पानीको व्यवस्थित निकास र व्यवस्थित शहरीकरणका लागि आसपासका क्षेत्रमा  १ सय ८० किलोमिटर ड्रेन निर्माण गर्नुपर्ने पनि देखिएको परामर्शदाता प्रशान्त मल्लले बताए।कार्यक्रममा सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले केशलिया–बुढीखोला करिडोरलाई केरावारी,धरान सम्मको क्षेत्रमा बिस्तार गर्न माग गरे।उनले तत्काल चुरे पहाडको भाग सम्म नै डिपीआर बनाउन माग गरे।नेपाल उद्योग वाणिज्य महासंघ कोसीका अध्यक्ष राजेन्द्र राउतले केशलियासँगै बुढीगंगादेखि विराटनगरको ४–५ नम्बर वडा भएर बग्ने वस्ता खोलाको समस्या पनि समाधान गर्न माग गरे। कार्यक्रममा स्वीस  सहयोग परियोजनाका परामर्शदाताहरूले मुख्यमन्त्री केदार कार्कीलाई करिडोरको डिपीआर हस्तान्तरण गरेका थिए। 

प्रकाशित: १९ पुस २०८० १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App