४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गाजर खेतीको ‘हब’ बन्दै पश्चिम चितवन

प्रांगारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका १५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजर खेती गरिएको छ। रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरूपमा १४ लाख रूपैयाँ लगानी गरेर भाडाको जग्गामा गाजर खेती गरेका हुन्।  

विसं २०३२ देखि श्रीपुरमा गाजरलगायतका प्राङ्गारिक खेती गर्दै आएका कृषक अधिकारीले तत्कालिन समयमा ५० ग्राम बीउ रोपेर गाजरको खेती सुरु गरेका अनुभव सुनाए। उनले भने, ‘खास गरेर यहाँ २०३२ सालदेखि गाजर खेती गर्न सुरु गरेको हो। त्यसपछि क्रमिक रूपमा अरू साथीहरू पनि गाजर खेतीमा अग्रसर हुनुभयो। यसले गर्दा श्रीपुरलगायत पश्चिम चितवन गाजरको हबजस्तै बनेको छ।’ 

उनको अनुभवमा यो क्षेत्रमा गाजरको लागि उपयुक्त माटो र हावापानी छ। उनका अनुसार यहाँका धेरै किसानको अहिले आम्दानीको स्रोतका रूपमा गाजर खेती पनि एक हो।

गाजर, मुला, चुकन्दर सलादका रूपमा प्रयोग गर्ने वस्तु भएको हुँदा स्वास्थ्यको हिसाबले पनि यसको उत्पादन प्राङ्गारिक प्रक्रियाले हुनुपर्ने उनको भनाइ छ। उनले भने, ‘यो पूर्ण सलादका रूपमा खाने हुँदा यसमा रासायनिक मल, विषादी प्रयोग नगरिकन प्राङ्गारिक उत्पादन गरौं भनेर हामी निरन्तर लागिरहेका छौं।’

उनले गाजर खेतीलाई अझ व्यवस्थित बनाउन नसकेको बताए। विभिन्न सरोकारवाला निकायको साथ र सहयोग मिलेमा यस खेतीलाई अझ व्यवस्थितरूपमा गर्न सकिने उनको भनाइ छ।

प्राङ्गारिक सङ्घ र प्राङ्गारिक सहकारीमा समेत आबद्ध रहेका किसान अधिकारीले अहिले जिल्ला प्राङ्गारिक सङ्घ, प्राङ्गारिक कृषि उत्पादक सहकारीको पूरै समूह प्राङ्गारिक गाजर खेती गर्ने क्रममा जुटिरहेको बताए। उनका अनुसार यससँगै जिल्ला प्राङ्गारिक सङ्घअन्तर्गत १६÷१७ बिघामा जमिनमा गाजर र चुकन्दर खेती गरिएको छ।

उनले यहाँ उत्पादन भएको एक सय टन गाजर र चुकन्दर अर्गानिक भ्यालीलाई दिने सहमति भएको र अन्य उत्पादन अर्गानिक बजारमा बिक्री गरिने बताए। विगतदेखि नै सहभागितामूलक गुणस्तर निर्धारण प्रणालीका अनुसार विभिन्न प्राङ्गारिक उत्पादन गरिँदै आएको र उत्पादन गरेर बजारीकरण गर्ने वस्तु अर्गानिक सर्टिफिकेसन नेपाल (ओसिएन) प्रमाणित हुने जनाइएको छ।

हाल सेरेसजस्ता अन्तर्राष्ट्रिय कम्पनीले समेत बजारीकरणको लागि प्रमाणीकरणको काम गरिरहेको उनले बताए। उनले यहाँ उत्पादन भएका गाजरलगायतका वस्तु अर्गानिक भ्यालीसँग सहकार्य गरेर उत्पादनलाई प्रशोधन गरी विदेशी बजारमा पठाउने सम्झौता भएको बताए। उनले भने, ‘प्राङ्गारिक बजार बढेको छ, सँगै किसानको सक्रियता पनि बढ्दै गएको छ।’

प्राङ्गारिक प्रक्रियासँग गाजर खेती गर्दासँगै उम्रने झारको कारणले खर्च बढी आउने अर्का किसान गुरुङले बताए। उनले भने, ‘बिगौं जमिनमा प्राङ्गारिक प्रक्रियाबाट गाजर लगाइएको छ खेतभरि गाजरको बिरुवालाई ढाँक्ने गरी झार आएको छ।

प्राङ्गारिक पद्घतिमा बिषादी प्रयोग गर्ने कुरा भएन मानिसले गोड्दा खर्च बढ्ने भयो।’ गाजर गोडाइको खर्च कम गर्नका लागि विषादीलगायतका हर्बिसाइटको प्रयोग बढेको जनाउँदै सिधै सलादको रूपमा खाने वस्तुमा यसको विकल्प हुनपर्छ भन्ने मान्यता आफूहरूको रहेको उनको तर्क छ।

त्यसैगरी किसान  पौडेलले गाजर खेतीमा रोग र किराको समस्या नभएको बताए। उचित व्यवस्थापन भएको खण्डमा उत्पादनको हिसाबले १५ देखि २० क्विन्टल प्रतिकट्ठा गाजर उत्पादन गर्न सकिने उनको भनाइ छ।

गाजर गोड्दा लाग्ने खर्चको बारेमा मानिसले भन्दा यसको विकल्प खोजीयन्त्र उपकरण प्रयोगमा ल्याउन सकेमा खर्च कम हुने र हर्बिसाइटबिना उत्पादन गरिएका गाजरले राम्रो बजार पाउने उनको भनाइ छ। मंसिर पहिलो सातामा रोपिएको गाजर फागुनको अन्तिम सातामा तयार हुने उनले बताए। –रासस

प्रकाशित: १९ पुस २०८० ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App