६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

उद्योग व्यवसायको माहौल बढाएर रोजगारी सृजना गरौँ: अर्थमन्त्री डा. महत

फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका संधैं खुला रहेको बताएका छन्।

मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै उनले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका संधैं खुला रहेको बताएका हुन्।

उनले भने, ‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समस्या हटाऊँ। नेपालमै उद्योग व्यवसायको माहौल बढाऊँ रोजगारी यही सिर्जना गरौँ।’

अर्थतन्त्र समस्यामा थियो, अझै पनि केही समस्या छ, आउँदा दिनमा सकारात्मक सङ्केतहरू देखिने र आर्थिक वृद्धि हुने मन्त्री डा. महतले बताए। उनले भने, ‘अहिले जति पनि तथ्याङ्कहरू छन्, यी तथ्याङ्कले अहिलेको मैले भनेका कुराको पुष्टि गर्छ। हामीले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत ल्याउने बजेटमार्फत् घोषणा गरेका थियौँ, अहिले ५ दशमलव ३८ मा मूल्यवृद्धि झरेको छ। छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि हामीलाई सहयोग पुगेको छ।’

‘सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै छ। जग्गा कारोबारले पनि केही गति समातेको छ,’ मन्त्री महतले भने, ‘ बैङ्कहरूले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ, आउँदा दिनमा अझ वृद्धि हुनसक्छ। पर्यटक आगमन अहिलेसम्मकै उच्च हो।’

पूर्वाधारमा ठूलै समस्या रहेको, पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्र उपयोग गर्न सकेको उनको भनाई थियो। आउँदा दिनमा त्यस्ता परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने मन्त्री महतले बताए। मन्त्री डा. महतले भने, ‘त्यसैगरी रेमिट्यान्स ३० प्रतिशतसम्म वृद्धि भयो। यो पुँजी प्रवाह हाम्रै अर्थतन्त्रमा भएको छ। त्यसले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा दुई मत छैन। हाम्रो सञ्चितिले एक वर्ष पुग्छ। सबै सूचक सकरात्मक भएको अवस्थामा लक्ष्य गरेको आर्थिक वृद्धिमा हामी पुग्न सक्छौँ।’

प्रकाशित: १६ पुस २०८० ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App