२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरामा सुरु भयो सडक महोत्सवको रमझम (फोटो सहित)

पोखरामा विहीबार सडक महोत्सव सुरु हुनुअघि लेकसाइडमा निकालिएको झाँकी। तस्बिरः उमेश पुन/नागरिक

२५ औं संस्करणको पोखरा सडक महोत्सव विहीबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु भएको छ। कोरोना भाइरस संक्रमणले थला परेको पर्यटन क्षेत्रलाई उकास्न यो मेला प्रभावकारी बन्ने पर्यटन क्षेत्रको विश्वास छ। मेलामा रमाउन आउने पाहुनाका कारण पर्यटन क्षेत्र उकासिने व्यावसायी बताउँछन्।

आन्तरिक पर्यटनमाझ निकै नै लोकप्रीय बनेको महोत्सवमा यो वर्ष ५ लाख हाराहारीमा पाहुना भित्रिने व्यावसायीको अनुमान छ। विहीबार मेला उद्घाटन हुनुअघि पर्यटकीय क्षेत्र लेकसाइडमा सांस्कृतिक झाँकी निकालिएको थियो।  

लेकसाइडको तीनकिलोमिटर क्षेत्रफलभित्र मेला आयोजना गरिएको आयोजक रेस्टुरेन्ट एण्ड बार एशासिएसन (रेबान) पोखराले बताएको छ। मेलाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे। मेलाको अवसरमा पर्यटकीय क्षेत्र लेकसाइड चिटिक्क सिंगारिएको छ। ध्वजापताकाले लेकसाइड क्षेत्र रंगीचंगी बनेको छ।

रेबान अध्यक्ष नरेश भट्टराईले कोरोना संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्रलाई उठाउने गरि यो पटक मेला आयोजना भएको बताए। ‘पोखराको पर्यटन व्यवसायका लागि सडक महोत्सव ब्रान्ड बनिसकेको छ। पर्यटक माझ पोखरा चिनाउने खम्बाको रुपमा महोत्सव बनेको छ,’ उनले भने, ‘योवर्ष पाँचलाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य हामीले लिएका छौं। पाहुना आगमनले पोखराको पर्यटन उकासिनेछ।’

महोत्सवको रजत जयन्तीको अवसरमा यो वर्ष अघिल्लोपटक भन्दा अझै बढी पाहुना आउने उनले बताए। रजत जयन्तीको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान पनि गरिने उनले बताए।

अंग्रेजी पुरानो वर्ष बिदाई र नयाँवर्ष स्वागतार्थ आयोजना गरिने महोत्सव पाँचदिनसम्म चल्नेछ। ‘सडकमै खाऔँ, सडकमै रमाऔं र सडकमै नाचौं’ भन्ने मूल नाराका साथ आयोजित मेलाले आन्तरिक पर्यटन प्रवद्र्धनमा भूमिका निभाउने महोत्सव संयोजक विश्वराज पौडेलले बताए।

‘आन्तरिक पाहुनाले यो मेलालाई आफ्नो क्यालेन्डरमा समेत समेटेका छन्। यहीबेला पोखरा घुम्न जानुपर्छ भनेर पाहुनाले भन्ने गरेका छन,’ संयोजक पौडेलले भने, ‘यो मेला आन्तरिक पर्यटकमाझ निकै नै लोकप्रीय छ। यसले अन्तर्राष्ट्रिय पहिचान समेत कमाएको छ।  नेपालमा हुने अरु मेलाको तुलनामा सबैभन्दा बढी पाहुना तान्ने नै पोखरा सडक महोत्सव बनेको छ।’

रेवान महासचिव विकास भट्टराईले पोखरामा आन्तरिक पर्यटनको सबैभन्दा ठूलो आकार भित्र्याउने मेला नै पोखरा सडक महोत्सव बनेको बताए। ‘पोखरामा सबै भन्दा बढी चहलपहल र आन्तरिक पाहुना भित्र्याउने माध्यम यो मेला बनेको छ, एउटै मेलाले करिब पाँचलाख पाहुना तान्नु चानचुने कुरा होईन,’ महासचिव भट्टराइले भने, ‘पर्यटन प्रवद्र्धनका लागि पाहुनाको आगमन निकै नै प्रभावकारी बनेको छ।’  

महोत्सवका लागि लेकसाइडको मूल सडकको तीन किलोमिटर क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी गुडाउन समेत रोक लगाइएको छ। मूल सडकमा तारेदेखि सामान्य होटल तथा रेष्टुरेन्टले खानाका स्टलहरु राख्छन्। पर्यटक पनि सडकमै रमाउँछन्। सडकमै रमाउँदै खान पाउने भएकोले पनि मेला बढी लोकप्रीय बनेको व्यावसायीले बताए।

सडक महोत्सवले लेकसाइड मात्र नभइ पोखरा आसपासका पर्यटकीय क्षेत्रमा पनि टेवा पु¥याउँदै आएको व्यावसायीले बताएका छन। मेला उद्घाटन हुनुअघि अघिल्लोवर्ष जस्तै यस वर्षपनि महोत्सवमा थारु, मगर, नेवारीलगायत जातजाति तथा समुदायुले परम्परागत भेषभूषासँगै झाँकी प्रस्तुत गरेका थिए।

प्रकाशित: १२ पुस २०८० १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App