१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

गोही अनुगमनका क्रममा नारायणीमा भेटियो डल्फिन

फाइल तस्बिर

गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो।

निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोष्टमा डल्फिन देखिएको थियो। गएको वर्ष पनि गोलाघाटमा डल्फिन देखिएको थियो। 

गोलाघाटबाट ¥याफ्टिङमा दुई घन्टा दूरी पार गरेपछि देखिएको डल्फिन नयाँ हो वा गत वर्ष देखिएकै डल्फिन फरक ठाउँमा देखिएको हो भन्नेबारे यकिन नभएको उनको भनाइ थियो ।

योसँगै दुर्लभ मानिएको पाँचवटा भाले घडियाल गोही भेटिएका छन्। नदीमा भाले गोहीको अभाव भएपछि २०७४ साल पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छाडिएको थियो। अधिकृत श्रेष्ठका अनुसार राप्ती नदीमा तीन र नारायणी नदीको गोलाघाट र बागवान पोस्टमा दुईवटा भाले गोही देखिएका छन्।

तीन दिनमा राप्ती नदीको अनुगमन सकेर नारायणी नदीमा अनुगमनको काम भइरहेको छ। नारायणी नदीमा तेस्रो दिन बागवान पोस्टबाट नारायणगढतर्फ अनुगमनको काम भइरहेको हो। बिहीबार नारायणी नदीको अनुगमन सकेर शुक्रबारदेखि बूढीराप्तीमा अनुगमन गर्ने कार्यक्रम छ।

अधिकृत श्रेष्ठका अनुसार नारायणी नदीको भेलौजी क्षेत्रमा समेत भाले गोही रहेको अनुमान छ। राप्ती नदीमा एक सय ४८ वटा गोही देखिएका छन्। नारायणी नदीमा दुई दिनमा एक सयवटा गोही देखिएको उनले जानकारी दिए। अबको दुई दिन नारायणी नदी र एक दिन बूढीराप्तीमा अनुगमन गरिँदै छ।

हरेक वर्ष यसै समय नदीमा गोहीको अवस्था बुझ्न अनुगमन गर्ने गरिन्छ। निकुञ्जका घडियाल गोही प्रजनन केन्द्र हेर्ने सहायक संरक्षण अधिकृतको नेतृत्वको टोलीले एक साता लगाएर अनुगमन गर्ने गर्दछ। अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गरी संरक्षणमा जुट्ने गरिन्छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आउँदो चैत र वैशाखमा नदी किनारमा गोहीको अण्डा संकलन गरेर कसरास्थित प्रजनन केन्द्रमा बच्चा कोरल्ने गरिन्छ। त्यहाँ बच्चा हुर्काएर पुनः नदीमा छाड्ने गरिएको छ। संकटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षणका लागि प्रजनन केन्द्र स्थापना गरिएको हो। –रासस

प्रकाशित: ११ पुस २०८० ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App