२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कर्णाली राजमार्ग: फराकिलो बन्दै साँघुरा सडक

कर्णाली राजमार्गको कालिकोट सडक खण्डकाे पछिल्लाे दृश्य। तस्बिर : नागरिक। <br>

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटदेखि जुम्ला खण्डकाे स्तरोन्नति भइरहेको छ। आर्थिक वर्ष २०७९-८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो।

कालिकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म एक सय चार किलोमिटर सडक खण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर स्तरोन्नतिको कामले तीव्रता पाएको छ।

कालिकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नतिको काम भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए। ‘राजमार्गमा सडकको नियमित कामसँगै सडक पुनः स्थापनाको काम थालिएको छ’, उनले भने, ‘६ महिनामा काम सक्ने गरी ठेक्का सम्झौता भएको हो। सम्झौताअनुसार पुस मसान्तमा काम गरिसक्नुपर्छ। कामले गति लिँदै छ।’

सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको र मर्मतका लागि ८० करोड बजेट विनियोजन भएको प्रमुख विष्टले जानकारी दिए। उनले पहिला बाढीपहिरोले भत्काएको सडक पुनःस्थापनाका लागि बजेट विनियोजन भएर आएको र काम भइरहेको उनको भनाइ छ।

‘साँघुरा सडक फराकिलो बनाउने, पहिरो गएको स्थानमा पर्खाल एवं नाला निर्माण कार्य भइरहेका छन्’, उनले भने, ‘बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने ठाउँमा मर्मत गरिएको छ।’ आवश्यकताका आधारमा ग्याबिन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ। कालिकोट मात्र नभएर दैलेख खण्डमा पनि राजमार्ग मर्मत कार्य भइरहेको छ।

राजमार्ग मर्मतले पछि राम्रो हुने खाँडाचक्र-१ का स्थानीय दीपक शाहीले बताए। उनले भने, ‘सडक फराकिलो, ग्याबिन वाल र चट्टानी भाग फुटाउने कार्यले निरन्तरता पाएको छ, तर बर्सेनी गरिने मर्मतभन्दा सरकारले कर्णाली राजमार्गको दिगो विकासका काम गर्ने गरी बजेट विनियोजन गर्न आवश्यक छ।’ ‘मृत्यु मार्ग’ को उपनामबाट चिनिने राजमार्गलाई चौडा बनाएर दिगो विकास गर्न सके मात्र कर्णाली राजमार्गमा हुने दुर्घटनाबाट मुक्त हुन सकिने उनको भनाइ छ।

विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैतदेखि सञ्चालनमा आएको थियो। साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण यात्रुले बर्सेनि सास्ती खेप्दै आएका थिए। राजमार्गमा हुने सडक दुर्घटनाले बर्सेनि सयौं यात्रुले ज्यान गुमाउनुपरेको थियो। सडक स्तरोन्नति र मर्मतले यसमा कमी आउने कार्यालयले विश्वास लिएको छ।

कार्यालयका अनुसार सुर्खेतदेखि दैलेख हुँदै कालिकोटसम्म स्तरोन्नति र मर्मत कार्य सुर्खेतस्थित सडक डिभिजन कार्यालयले गरिरहेको छ। विगतका वर्षमा भन्दा यो वर्ष सडक दुर्घटना कम भएको छ। सडकको दैलेख खण्डमा पनि मर्मत कार्य भइरहेको छ।

राजमार्ग पुनःस्थापना मात्र नभई सडक कालोपत्रेका लागि सरकारले बजेट छुट्ट्याउन सके कर्णालीका लागि दिगो विकासमा टेवा पुग्ने जानकार बताउँछन्। राजमार्गलाई दुई लेनको बनाउन चट्टानी भाग छिचोल्न सकेमा जोखिम यात्रा र दुर्घटना कम हुने स्थानीयको भनाइ छ।

प्रकाशित: ७ पुस २०८० १४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App