यहाँको गाउँघर पूर्ण रूपमा हिउँ नै हिउँले ढाकेको छ। लेकको खर्कबाट बेंसी झारिएको चौंरीका गोठ पनि हिउँले ढाकिएका छन्। वरिपरि हिउँका ढिस्का छन्। यिनै हिउँका ढिस्काभित्र रहेका याकचौंरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन्।
पशुपालक किसानलाई ‘न त घाम न त वर्षाले असर गर्छ’ भने झैं यहाँका किसानलाई न त हिउँले रोक्न सकेको छ न त घामले नै छेक्न सकेको छ। हिउँ पर्न थालिसकेकाले यहाँका गोठवरिपरि सेताम्मे हिउँ छन् यतिबेला। यही गोठवरपर सेताम्मे हिउँ हटाउँदै आएका मनाङ ङिस्याङ गाउँपालिका ५ भ्राकाका ६० वर्षीया याङ्चु खण्डा लामा गोठमै बसेर उमेर गुज्रिएको बताउँछिन्।
सानो उमेरदेखि नै गोठ र याकचौंरीसँगै जीवन गुजार्दै आएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘चौंरी जता हामी पनि उतै जान्छौं। चौंरीसँगै जीवन गुजारा चलाउँदै गएका छौं। हाम्रो त छोराछोरी जस्तै हो याकचौंरी। यिनीहरूको स्याहारसुसारमै जीवन बितेको छ। हामी बूढाबूढी र चौंरी नै अहिलेका लागि समाज भएको छ। ‘बेंसीसहरबाट सामान बोकेर सामान ल्याउने र खाने गरिएको उनी सुनाउँछन्।
त्यस्तै ६१ वर्षीय निङ्मा सोनाम लामा चौंरी गोठसँगै जीवन गुजारिएको थाहै नभएको बताउँछन्। उनी भन्छन्, ‘याकचौंरीको स्याहारसुसार गर्दागर्दै जीवन गुज्रिँदै गएको थाहा पाइएन। यही काम गर्दागर्दै बिहे भयो, बालबालिका जन्मिए र हुर्कायौं पनि।
अहिले हामी गोठमा छौं। तर छोराछोरी काठमाडौं पठनपाठनका लागि पठाएका छौं।’ १३ वर्षको उमेरदेखि गोठमा बस्न थालेका निङ्मा सोनाम गोठ सार्दासार्दै बिहे भएको अनुभव सुनाउँछन्।
चिसो छल्न जान त मन लाग्ने तर यी पशुचौपाया छाड्दा मर्न सक्ने हुँदा छाड्न नसकेको उनी बताउँछन्। उनी भन्छन्, ‘गोठसँगै जोडिएको छ हाम्रो जीवन। गोठमै बच्चा जन्माएर हुर्कायौं। अहिलेसम्म पनि हामी गोठ र याकचौंरीसँगै छौं। तर, याकचौंरीपालन छाड्न सकेका छैनौं। हाम्रा बालबालिकाजस्तै गरी माया गरे त आम्दानी लिन सकिन्छ नि ! आम्दानी राम्रो लिनका लागि नै त हो यिनको स्याहारसुसार गर्ने। त्यसैले गरिरहेका छौं।’
याकचौंरी बेचेरै जीविकोपार्जन चलाउँदै आएको उनी बताउँछन्। मुख्य आयस्रोत नै याकचौंरी भएको उनी बताउँछन्। पहिले याकचौंरीलाई २५ हजारदेखि ३५ हजारमा बिक्री गरिन्थ्यो। तर अहिले याकको एक लाख ५० हजारसम्म र चौंरीको ९० हजार रुपैयाँसम्म मूल्य पाउने गरेको उनी बताउँछन्। यहाँका पशुपालक किसानको आयस्रोत नै याकचौंरी हो।
त्यसैगरी, फुगाउँका कर्म तेन्जिङ हिउँ पर्न थालेपछि चिसो बढेपछि क्याङमा झरेको र पशुचौपायाको स्याहारसुसारमा व्यस्त रहेको बताउँछन्। पशुपालन नै जीविकोपार्जनको स्रोत भएको उनी बताउँछन्। मनाङका अन्यत्र क्षेत्रमा याकचौंरीका छाला तथा ऊनबाट बनेको लुगा बनाउने कार्य लोप हुन लागेको उनी सुनाउँछन्।
फुगाउँका ङिमा एन्जो लामा भन्छन्, ‘हामी त यहींबाट लुगा र दोचा बनाउँछौं। अहिलेका मानिसले त यस्तो लगाउन पनि खोज्दैनन्। हामीले जानेको सीप अहिलेका मानिसले सिक्नै खोज्दैनन्। लगाउन पनि रुचाउँदैनन्।’ अहिले त जमाना फेरिएको उनी बताउँछन्। हिमाली जिल्ला मनाङका पशुपालक किसान चिसो बढेसँगै बेंसीमा गोठ झारे पनि गोठमै व्यस्त छन्।
मनाङमा यतिबेला चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै यहाँका अधिकांश मानिस जाडो छल्न अन्यत्र जान्छन्, तर चौंरीपालक किसान भने गोठमै रहन्छन्। किसानलाई न त जाडोले छेक्छ न त गर्मीले नै। विगतमा पशुपालन र कृषिमा मात्रै आत्मनिर्भर रहेको मनाङ हाल घट्दो क्रममा रहेको छ।
याकचौंरीपालनमा व्यस्त रहेका नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मा छिरिङ लामा संघीयता आइसकेको तर यहाँ विद्युत्, सडक, यातायात जस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेको बताउँछन्। उनी भन्छन्, ‘स्थानीय सरकारले आभारभूत आवश्यकता पूरा गर्न पहल गरिरहेका छ, तर बजेटले पूरा गर्न सकिँदैन रहेछ। माथिल्लो तहबाट सहयोग आवश्यक छ।’
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामा अन्य पालिकाको तुलनामा यस पालिकामा पशुपालन र कृषिमा नै आधारित रहेका बताउँछन्। अन्य क्षेत्रका मानिस जाडो छल्न अन्यत्र गए पनि यहाँका मानिस गाउँबाट तल भाग क्याङमा झरेर बसोवास गर्ने गरेका उनी बताउँछन्। तल्लो भागमा झरेर पशुपालन तथा पशुचौपायाको स्याहारमा व्यस्त रहेको उनी बताउँछन्।
यस क्षेत्रमा सडक अभाव रहेको उनले सुनाए। सडक सञ्जालसँग यहाँका बस्तीलाई सहज बनाउन सकिएमा सदरमुकाम सामान लिन जान र आउन दुई लाग्नेमा घट्ने उनी बताउँछन्। सडक सञ्जाल सहज हुनासाथ यहाँका बसाइमा सहजता आउनेछ। –रासस
प्रकाशित: ६ पुस २०८० ०५:५० शुक्रबार