२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चिनियाँ जहाज लिलामबारे के भन्छन् सांसदहरु ?

सांसदहरूले धेरै वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा ग्राउण्डेड ५ वटा चिनियाँ जहाज लिलामी रोक्न माग गर्दै ती जहाज खरिदका सर्त र औचित्य पुष्टि गर्न सरकारलाई आग्रह गरेका छन्।

नेपाल वायुसेवा निगमले लिलामीको सूचना प्रकाशित गरेपछि सांसदहरूले यस्तो माग गरेका हुन्। 

बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अधिकांश सांसदले नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको जानकारी आएको भन्दै लिलामी रोक्नुपर्ने बताएका हुन्। 

उनीहरूले नेपाल एयरलाइन्सले चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गरेर कौडीको भरमा बेच्न लागेको भन्दै रोक्नुपर्ने धारणा राखे।

सांसदहरूले  जहाज किन्ने बेलामा कुन सर्त र औचित्यको आधारमा खरिद भएको र आज किन कवाडीको मूल्यमा बेच्न लागिएको भन्ने कुरा सांसदलाई जानकारी दिनुपर्ने बताए।

उनीहरूले जहाज खरिदपछि २ अर्ब रुपैयाँ खर्च लाग्नु देशको लागि दुभाग्यपूर्ण भएको उल्लेख गरे। सांसदहरूले अर्बौँ रुपैयाँ ऋण गरेर जहाज खरिद गर्ने र प्रयोगमा नल्याई राज्यलाई अर्बौँको घाटा लगाएर लिलामी गर्नु राज्यको कमजोरी भएको बताए। उनीहरूले भएका जहाज लिलामीमा राख्ने र नयाँ जहाज खरिद गर्दा २२ वटा विमानस्थलहरू सञ्चालनमा आउने ग्यारेन्टी कसले लिने? भन्दै प्रश्न गरेका थिए।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद डा.नारायण खड्काले चिनियाँ जहाज खरिद गर्दाको सर्त र औचित्यको पुष्टि गर्नुपर्ने बताए। उनले चिनियाँ जहाज खरिद गरेर राज्यलाई ३ अर्बको ऋण बोकाउने काम भएको बताए। अहिलेसम्मको खर्च हेर्दा करिब २ अर्ब बढी भार थपिनु दुर्भाग्य भएको खड्काले उल्लेख गरे।

उनले चीन सरकारको ३ अर्ब रुपैयाँ जहाज लिलाम गरेर तिर्न सकिन्छ? भन्दै प्रश्न गरे। खड्काले हवाई सुरक्षाको विषयमा युरोपियन युनियनले भनेको कुरालाई मान्नै पर्ने भन्ने नभएको बताए। उनले सरकारले वास्तविकतालाई हेरेर काम गर्न आवश्यक रहेको बताए।

नेपाली काँग्रेसकै सांसद प्रकाशमान सिंहले पर्यटन मन्त्रीले २२ वटा विमानस्थलहरू जहाज नभएको कारण सञ्चालन गर्न नसकिएको बताएको भन्दै नयाँ जहाज खरिद गर्दैमा विमानस्थल सञ्चालन गर्ने सरकारको योजना बताउन आग्रह गरे।

‘निगमले जहाज मात्रै किन्ने अनि चिनियाँ जहाज जस्तै बनाउने योजना हो?’ उनको प्रश्न थियो। उनले चिनियाँ जहाज किन्दा पनि राम्रो उडान गर्ने भनेर लिएको भन्दै नेपाल एयरलाइन्सलाई घाटामा लैजाने काम गरेको बताए।

नेता सिंहले नेपाल एयरलाइन्सको सर्भिसमा सुधार गर्न आवश्यक रहेको बताए। उनले अर्बौँ लगानी गरेर दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरू बनाएर सरकारले सञ्चालनमा ल्याउन नसक्नुको कारण माग गरे।

आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले चिनियाँ जहाज खरिद गर्नेहरूलाई कानुनी कठघरामा सरकारले ल्याउन सक्नुपर्ने बताए। उनले जहाज खरिद गर्ने बेलामा के औचित्यको आधारमा खरिद गरिएको थियो? भन्ने कुरा अध्ययन नगरी बेच्न नहुने बताए।

साहले मन्त्रीपिच्छे उनीहरूको योजनाअनुसार पछाडि हिँड्न नहुने बताए। उनले निगमले ५ चिनियाँ जहाज बेच्ने हो भने समितिले रोक्नुपर्ने बताए। साहले मन्त्रालयले जहाज किन्नुको चित्तबुझ्दो कारण देखाउनुपर्ने बताए।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर राणाले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ विधेयकको अवस्थाबारे मन्त्रीले जानकारी दिनुपर्ने दिए।

उनले निगमले आइकाओको कालोसूचीबाट हटाउनको लागि केके काम भएको हो सोबारे समितिलाई जानकारी दिनुपर्ने बताए। राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याल्डलिङ नेपाल वायुसेवा निगमबाट खोसेर निजी कम्पनीलाई दिने कुरा स्वीकार गर्न नसकिने बताए।

प्रकाशित: ६ पुस २०८० ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App