नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशको विकास र समृद्धिका लागि गरेका गम्भीर कुराहरूलाई राजनीतिक विरोधीहरूले उखान टुक्का भनेर हल्का रूपमा लिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
गृहजिल्ला झापामा सोमबार मतदाता तथा स्थानीय कार्यकर्ताहरूसँगको भेटघाट र कुराकानीका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
आफूले शास्त्र, इतिहास र देशको भविष्यसँग जोडिएका गहन विषयहरूमा चर्चा गर्दा कतिपयले त्यसलाई बुझ्न नसकेको वा जानीजानी बङ्ग्याउने गरेको उनको आरोप थियो।
‘मैले विभिन्न शास्त्र र इतिहासका कुरा गरेको हुन्छु, निकै गम्भीर विषयहरू उठान गरेको हुन्छु,’ ओलीले भने, ‘तर, उनीहरूले बुझ्न नसकेर हो कि वा विषयलाई बङ्ग्याउन, त्यसलाई उखान टुक्का भन्यो भनेर उडाउँछन् । यो उनीहरूकै अज्ञानता हो।’
आफ्नो कार्यकालमा सुरु गरिएका रेल सेवा, पानीजहाज र औद्योगिक क्षेत्रका योजनाहरूलाई मजाक बनाइएकोमा उनले खेद प्रकट गरे। देश विकासका काम सुरु गर्नासाथ सरकार ढाल्ने प्रवृत्तिले गर्दा ठोस परिणाम दिन कठिन भएको उनको तर्क थियो।
ओलीले भने, ‘मैले नेपालमा रेल र पानीजहाजको कुरा गरेँ, काम पनि अघि बढ्दै थियो। तर, काम सुरु गर्यो कि सरकार ढालिहाल्छन्। एक कार्यकालको काम पूरा गर्न यहाँ चार पटक प्रधानमन्त्री हुनुपर्ने अवस्था सिर्जना गरियो। अलिकति काम हुन लाग्यो कि षड्यन्त्र सुरु हुन्छ।’
झापामा प्रस्तावित औद्योगिक क्षेत्र र दमक रङ्गशालाको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले विकास विरोधी शक्तिहरू सक्रिय रहेको सुनाए। आफूले रङ्गशालाका लागि जमिन लिनेदेखि सबै तयारी पूरा गरे पनि काम गर्न नदिइएको उनले गुनासो गरे।
‘रङ्गशाला किन बनेन भनेर अहिले मान्छेहरू मलाई सोध्छन्। मैले नै योजना ल्याएको, मैले नै जमिन व्यवस्थापन गरेको, तर बनाउनै दिइएन,’ उनले थपे, ‘अहिले फेरि रङ्गशालाको योजनालाई हामीले अगाडि बढाएका छौं। देशको हित र विकासका लागि जस्तोसुकै अवरोध आए पनि हामी काम गर्न छोड्दैनौं।’
अध्यक्ष ओलीले राष्ट्रिय हित र देशभक्तिको काम गर्दा देश भित्र र बाहिरका अनेक शक्तिहरूले बाधा हाल्ने गरेको भन्दै कार्यकर्ताहरूलाई सचेत रहन समेत आग्रह गरे।
उनले जस्तोसुकै परिस्थितिमा पनि एमालेले विकासको एजेन्डा नछोड्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: ४ फाल्गुन २०८२ १४:२७ सोमबार





