१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ऐतिहासिक टक्सारको धातु व्यवसाय धरमरमा

ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चा पदार्थ अभावका कारण संकटमा पर्दै गएको छ। लाखौं मूल्यको धातुका सामग्री उत्पादन हुँदै आएका टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि संकटमा पर्दै गएका हुन्।

पछिल्लो समय दुई–तीन परिवारले मात्र पुरानो पेसा अगाल्दै आइरहेका छन्। स्थानीय बुद्धराज शाक्यलगायतले मात्र अहिले धातुका सामग्री माग भएमा बनाउँदै आएका छन्। टक्सारको धातु उद्योग र यहाँको मौलिक पहिचानलाई जीवित गराउन पलायन भएका व्यवसायीलाई स्थानीयस्तरबाट पुनः अभिप्रेरित गराउनुपर्ने तथा मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक स्रोत साधन उपलब्ध हुनुपर्ने गराउन जरुरी रहेको स्थानीय विमलकुमार शाक्यको भनाइ छ। 

इतिहास बोकेको भोजपुर नगरपालिका– १२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो। तर स्थानीयवासी तथा कालिगढसमेत पलायन हुने क्रम बढेकाले अहिले टक्सारको धातु व्यवसाय नै जोगाउन मुस्किल परेको स्थानीय सानुकाजी शाक्यले बताए। ’धातु उद्योगले कच्चा पदार्थ कोइला (गोल), मैन र दक्ष जनशक्तिको अभाव झेलिरहेको छ।

राणाशासन, पञ्चायती शासनकालदेखि धातु उद्योगले प्रसिद्ध कमाएको टक्सारका उद्योग बन्दसँगै बजार क्षेत्रका मानिस पनि पलायन भएपछि टक्सार बजारसमेत सुनसान भएको छ’, उनले भने।  कालिगढ विस्थापनसँगै टक्सार बजारले मागअनुसारका सामग्री उत्पादन गर्न नसकेपछि अहिले तराईका जिल्लाबाटै पसलहरूमा बिक्रीका लागि धातुका सामग्री आउने गरेका छन्।

विगतमा जस्तो टक्सार बजारमा धातु व्यवसाय पनि नभएको कारण बिक्रीका लागि बाहिरबाट नै सामग्री आउने गरेका व्यवसायी नवराज श्रेष्ठले बताए। ‘जनशक्ति अभावमा मागअनुसार टक्सारले सामग्री नै उत्पादन गर्न सक्दैन’, उनले भने। 

टक्सारमै रहेको घरेलु विकास कार्यालयका अनुसार विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्र सञ्चालनमा देखिएका छन्। यहाँ निर्मित करुवालगायत हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत र भारतको दार्जिलिङ, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीको भनाइ छ। 

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले हालै भोजपुरको टक्सारको धातु व्यवसायको समस्याका बारेमा धातु व्यवसायी चासो राख्नुभएको थियो। टक्सार बजारका पुराना धातु व्यवसायी शाक्यले काँसका थोत्रा समान पगालेर विभिन्न नयाँ समान बनाउँछन्। करुवा, कलश, कचौरा, गाग्रीलगायत सामान आफूले बनाउँदै आएको शाक्यले बताए। 

ऐतिहासिक कलामा पोख्त कालिगढहरू पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ। व्यवसायी शाक्यले भने, ‘कालिगढको अभावसँगै कच्चा पदार्थ अभावमा धातु उद्योग फस्टाउन सकेको छैन, स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चा पदार्थ र कोइला ढुवानी गर्दा महँगोसमेत हुने भएकाले पनि टक्सारबाट कालिगढको विस्थापन हुने क्रम बढेको छ।’  –रासस  

प्रकाशित: ४ पुस २०८० ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App