१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञको जोड

कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्ने विज्ञले जोड दिएका छन्।खाद्यका लागि कृषि अभियानको आज आइतबार आयोजना गरेको आवधिक योजनामा खाना र खेतीपाती पर्यावरणीय कृषिको प्रस्तावना विषयक छलफल कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

१६ औँ आवधिक योजना निर्माणको पुर्वसन्ध्यामा, आयोगले सार्वजनिक गरेको अवधारणा पत्रमाथि सम्बन्धित सरोकारवालाबिच छलफल भएको छ। कार्यक्रममा कृषि विभागका महानिर्देशक हरि बहादुर केसीले प्रकृतिमैत्री कृषि निर्माणको बाटोमा लाग्नुपर्ने बताए। ‘कृषिको लगानी प्रकृतिमैत्री  हुनुपर्छ,’ केसीले भने, ‘पर्यावरणीय र वातावरणीय हानिविहीन प्रविधिको विकास गर्नुपर्छ।’ 

कृषि विज्ञ छवि पौडेलले पर्यावरणीय कृषिलाई पारस्परिक कृषि नभई विज्ञानको रुपमा बुझ्न पर्ने धारणा राखे। कृषिका मुख्य सङ्कटहरू भू उपयोगको सङ्कट, कृषिमा न्यून लगानी रहेको र भू उपयोगको समस्या सम्बोधन नभए नेपाल खाद्य सङ्कटमा पर्ने बताए।

राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतले आवधिक योजना निर्माण गर्दा कृषिलाई प्रकृति संरक्षणमा जोड्नुपर्ने बताए। योजनाका लक्ष्यहरू कोरोना र अन्य प्रतिकुल अवस्थाको कारणले पुरा हुन नसकेको बताए।

छलफलमा संघीय संसदको कृषि तथा प्राकृतिक स्रोत समिति सदस्य विनीता कठायत, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव डा रामकृष्ण श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक महेश जैसि, कृषि विज्ञ छवि पौडेल लगायतको सहभागिता थियो।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले आवधिक योजनामा पर्यावरणीय कृषिको प्रस्तावना विषयको कार्यपत्र प्रस्तुत गरेका थिए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह सचिव रामकृष्ण श्रेष्ठले छलफलहरूमा कृषि क्षेत्रको आयातको तथ्याङ्कलाई सतही व्याख्या गर्ने गरेको बताए।राष्ट्रिय किसान समूह महासङ्घकी महासचिव रिता वास्ताकोटिले पारिवारिक कृषिको मर्म, सरकार र सरोकारवालाले नबुझेको बताइन्।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका प्रसार निर्देशक महेश जैसीले कृषि प्रसार, कृषि अनुसन्धान र विकासको सहअस्तित्व निर्माण गर्न आवश्यक रहेको बताए।लिवर्डबाट रिता गुरुङले नीति निर्माण बिचको तालमेलको प्रश्न उठाउने, विविध योजना बनेको तर योजना एकिकृत ढङ्गले अगाडि नबढेको बताइन्।

प्रकाशित: १ पुस २०८० १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App