१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्र बिच सहकार्य आवश्यक : चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका  लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन्। भक्तपुर चेम्बर अफ कमर्सको छैठौं साधारण सभा एवं तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताए।

‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ, ’ मल्लले भने, ‘सरकारी तर्फबाट भएका कमजोरीलाई पनि सुधार गरिनु पर्छ। करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्दछ।’

मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक भए पनि निजी क्षेत्र र आम सर्वसाधरणले त्यसको व्यवहारिक अनुभूति गर्न नसकेको अध्यक्ष मल्लको भनाई छ।मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए।

सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिए। ‘सरकारले चालु खर्चमा मुठी कस्नुपर्ने बेला आएको छ,’ अध्यक्ष मल्लले भने, ‘ऋण लिएर चालु खर्च गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि सकारात्मक हैन। खर्च पारदर्शिता कायम गर्न आवश्यक छ।

बजेटमा महत्त्वाकाङ्क्षी कार्यक्रमहरु घोषणा भए पनि कार्यान्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको अध्यक्ष मल्लको भनाई छ। सरकार फेरिएसँगै नीतिहरू फेरिनाले पनि अर्थतन्त्र सँघै अस्थिर हुने गरेको अध्यक्ष मल्लले बताए।अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबाट साना तथा मझौला उद्योग सबै भन्दा बढी प्रभावित भएको उनले बताए।अर्को प्रसङ्गमा अध्यक्ष मल्लले भक्तपुरलाई अन्तर्राष्ट्रिय पर्यटक आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १९ मंसिर २०८० १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App