२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिमरा विमानस्थलमा हवाई इन्धन सेवा सुरु

सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर सेवा सुरु गरेको छ।

वायु सेवा कम्पनीले सिमरा विमानस्थलमा हवाई इन्धनको सेवा उपलब्ध हुनुपर्ने माग राखेपछि निगमले इन्धन उपलब्ध गराउन सुरु गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आजआइतबार हवाई इन्धन रिफ्युलिङ स्टेसनको उद्घाटन गरेका हुन् । विमान कम्पनीको समस्यालाई ध्यानमा राखेर सिमरामा हवाइ इन्धन भर्ने सुविधा सुरु हुनु सकारात्मक भएको मन्त्री रिजालले बताए।जहाजले काठमाडौंबाट जाँदा फर्किंदा लाग्ने इन्धनसमेत भरेर जानुपर्ने बाध्यता थियो। अब विमान कम्पनीहरूलाई उडान र अवतरणका लागि सहज हुने मन्त्री रिजालले बताए।

सिमरामा उडान भर्ने जहाजको सुविधाका लागि हवाई इन्धन सेवा सुरु गरेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘उपभोक्ताको सेवाका लागि सिमरामा हवाई इन्धन सेवा सुरु गरेका हौं,’उनले भने।भरतपुर र जुम्ला विमानस्थलमा समेत हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउने गृहकार्य भइरहेको थानीले बताए।

सिमरा विमानस्थलबाट हाल दैनिक नौ वटा उडान हुने गरेको र एक हजारसम्म यात्रुहरू आवतजावत गर्ने गरेको सिमरा विमानस्थलले जनाएको छ।  

सिमरामा हवाइ इन्धन भर्ने सुविधा उपलब्ध भएपछि सबैभन्दा भरपर्दो वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गरिने जानकारी नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक प्रेमनाथ ठाकुरले दिए।उनले खराब मौसमका कारण काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका विमानहरूलाई भैरहवा वा विराटनरसम्म लैजानुपर्ने बाध्यता पनि हटेको बताए।

चालु आर्थिक वर्ष ०८०–८१ को नीति कार्यक्रममै राखेर सिमरा विमानस्थलमा इन्धन भर्ने सुविधा उपलब्ध गराइएको निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले बताए। सिमराबाट काठमाडौंमा मात्रै भइरहेको उडानको कार्यतालिका इन्धन भर्ने सुविधा सुरु भएपछि थप गन्तव्यमा बिस्तार हुने अपेक्षा राखेको उनको भनाइ थियो।  

जहाजले सिमराबाट काठमाडौं फर्किंदाका लागि पनि इन्धन बोकेर जानुपर्ने बाध्यता अन्त्य भएको नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदिप यादवले बताए। ‘सिमराबाट सेवा सुरु भएपछि विमान कम्पनीलाई धेरै फाइदा पुग्छ,’ यादवले भने ।

जनकपुरस्थित डिपोबाट हवाई इन्धन ढुवानी गरी सिमरामा उपलब्ध गराइएको निगम प्रवक्ता मनोज ठाकुरले बताए । ‘निकट भविष्यमा सिमरामै भण्डारण गृह तयार गरिनेछ । त्यतिन्जेलसम्म भने जनकपुरबाट नौ हजार लिटर क्षमताको डिस्पेन्सरबाट इन्धन ओसारेर उपलब्ध गराइनेछ’, उनले भने।

सिमरामा उडान भर्ने विमानहरूमा तेल हाल्नका लागि ११ हजार र १६ हजार किलोलिटर क्षमताको दुई वटा रिफ्युलर राखिएको छ।  

प्रकाशित: १७ मंसिर २०८० १४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App