रामचन्द्र भट्ट, काठमाडौं, जेठ १२ - पोल्ट्री व्यवसायको संभावनालाई हेरेर मुलुकका विभिन्न भागमा झण्डै एक अर्ब रुपैयाँ लगानीका ६ नयाँ दाना उद्योग स्थापना हुँदैछन्। एक उद्योग खोल्न कम्तिमा १० देखि ३० करोड रुपैयाँ लगानी हुँदैछ।
'हेटौंडा, वीरगन्ज र इटहरीमा ठूला क्षमताका ६ नयाँ दाना उद्योग सञ्चालनमा आउने तयारीमा छन्,' नेपाल दाना उद्योग संघका अध्यक्ष नारायणहरि खत्रीले भने 'यी उद्योगहरुमा कम्तिमा १० देखि ३० करोड रुपैयाँसम्म लगानी भएको छ।'
उनले हेटौंडामा ३०/३० करोड रुपैयाँको लगानीमा दुई दाना उद्योग सञ्चालनको अन्तिम तयारीमा रहेको जानकारी दिए। यहाँ भ्याली कोल्ड स्टोरले भ्याली पिलेट र खत्री ग्रुपलगायत अर्को समूहको लगानीमा सिद्धार्थ पिलेट फिड इन्डस्ट्रिज स्थापना हुँदैछन्। यी दुवै उद्योग हेटौंडा औद्योगिक क्षेत्रमा निर्माण पुरा हुने क्रममा छन्।
त्रिवेणी ग्रुपले वीरगन्जमा निर्माण गर्न लागेको अर्को ठूलो दाना उद्योग सञ्चालनको अन्तिम तयारीमा छ। त्रिवेणीले निर्माण गरिरहेको दाना उद्योगको क्षमता प्रतिघन्टा १० टन छ।
उद्योगपति प्रदीप रुंगटाले बाराको लिपनीमा दुई वर्षअघिदेखि सञ्चालनमा रहेको ओम चाओविरो फिड इन्डस्ट्रिजलाई पनि झन्डै २५ करोड रुपैयाँ लगानी थपेर क्षमता बढाएका छन्। 'हाम्रो उद्योगले अहिले दैनिक दुईसय टन दाना उत्पादन गरिरहेको छ, यसलाई बढाएर चारसय टन पुर्याउँदैछौं,' रुंगटाले नागरिकसँग भने।
वीरगन्जमा तीन वर्षअघिदेखि निम्बसको प्रोबायोटिक इन्डस्ट्रिजले नेपालमै पहिलो पटक पिलेट दाना उत्पादन गरिरहेको छ। धुलो दानाभन्दा पिलेट दाना धेरै खेर नजाने हुँदा अहिले कुखुरा पाल्ने किसानबीच निकै लोकप्रिय छ।
'पिलेट दाना ख्वाउने क्रम बढेपछि पुरानो प्रविधिबाट दाना उत्पादन गर्ने फिड इन्डस्ट्रिजले पनि प्रविधि फेर्न बाध्य भएका छ,' खत्रीले भने 'हामीले ल्याउन लागेको मेसिनलाई मात्र २० करोड रुपैयाँ परेको छ।' प्रतिघन्टा २० टन दाना उत्पादन गर्ने क्षमताको मेसिन सिद्धार्थ फिडले ल्याउँदैछ।
वीरगन्ज क्षेत्रमा मात्र तीन वटा दाना उद्योग थपिएका छन्। यस्तै सुनसरीको इटहरीमा पनि सागर फिडले नयाँ प्रविधि सहित सञ्चालनमा आउने तयारीमा छ। सञ्चालनमा आउन लागेका सबै दाना उद्योगहरुले नयाँ प्रविधिबाट दाना उत्पादन गर्नेगरि मेसिन ल्याएका छन्।
कुखुरा पाल्ने किसानले पिलेट दानाको प्रयोग गर्न थालेपछि सागर फिड पिलेट दानामा जाने निर्णय गरेको हो। सागर फिडले २०४५ देखि धुलो दाना उत्पादन सुरु गरेको हो।
'उद्योगको जग्गा बाहेक मेसिनका लागि १० देखि १२ करोड रुपैयाँ लगानी पर्ने अनुमान गरेका छौं,' इटहरीमा सञ्चालनको तयारीमा रहेको सागर फिडका लगानीकर्ता शिवप्रसाद शर्माले भने। यो फिडले यही जेठ २६ देखि पिलेट दानाको उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ।
नेपालमा कुखुरापालन विस्तार हुँदै गएकोले ठूलो लगानीमा दाना उद्योगहरु खुलेका हुन्। 'यो क्षेत्र अहिले निकै राम्रो रुपमा विकास हुँदै गएको अनुभव हामीले गरेका छौं,' रुंगटाले भने।
दाना उद्योग संघका अनुसार, गत वर्ष दैनिक एक हजार दुई सय टन कुखुराको दानाको माग थियो। अहिले दैनिक एक हजार पाँच सय टन दानाको माग छ। 'आउँदो वर्ष कम्तिमा एक हजार सात सय टन दानाको माग हुने अनुमान गरेका छौं,' खत्रीले भने।
कुखुरा पालन व्यवसाय व्यापक विस्तार भइरहेकोले दाना उद्योगीहरु लगानी थप्दै उद्योग विस्तार गरिरहेका हुन्। उद्योगीले पहिला दैनिक दुई सिफ्टमात्र चल्ने मेसिन ल्याउने गरेकामा अहिले तीन सिफ्ट (चौबिसै घण्टा) चल्ने मेसिन ल्याइरहेका छन्।
केही समययता बैंकहरुलाई तरलता संकट परेपछि खुल्न लागेका दाना उद्योगहरुको निर्माण रोकिन पुगेको छ। 'वैशाखबाटै उत्पादन गर्ने योजना थियो, तर विभिन्न समस्याले गर्दा साउनबाट मात्र उत्पादन हुन्छ होला,' ओम चाओबिरो फिडका लगानीकर्ता अमृत बोगटीले भने।
देशको कुल गार्हस्थ उत्पादनमा साढे तीन प्रतिशत योगदान पोल्ट्री (कुखुरापालन) क्षेत्रको छ। बार्षिक १० प्रतिशतको दरले पोल्ट्री व्यबसाय बढिरहेकोले यो व्यवसायमा लाग्ने किसान, दाना उद्योग र चल्ला उत्पादन गर्ने ह्याचरीहरु बढिरहेका छन्। व्यवसायीका अनुसार पोल्ट्री क्षेत्रमा अहिले १६ अर्ब रुपैयाँ लगानी छ। दाना उत्पादन गर्नेमात्र अहिले एकसय ३० को हाराहारीमा उद्योगहरु छन्।
प्रकाशित: ११ जेष्ठ २०६७ २३:०८ मंगलबार





