७ वैशाख २०८१ शुक्रबार
अर्थ

बिस्कुट र कन्फेसनरी उद्योग विरोधमा

विराटनगर- भारत र तेस्रो मुलुकबाट आयात हुने चिनीको साबिक भन्सार महसुल ५० प्रतिशत बढाएर ‘स्वदेशी चिनी उद्योगलाई प्रतिस्पर्धी बनाइने’ कृषि विकास मन्त्रालयको निर्णयप्रति विस्कुट र कन्फेक्सनरी उद्योगीले असन्तुष्टि जनाएका छन् । यी दुवै उद्योगमा कच्चा पदार्थको रुपमा चिनी आवश्यक पर्छ ।

स्वदेशी चिनीले मागको थोरै हिस्सा पनि धान्न नसक्ने स्थिति रहेको भन्दै बिस्कुट तथा कन्फेसनरी उद्योग सञ्चालकले चिनी उद्योगलाई सुविधा दिने नाममा बिस्कुट र कन्फेसनरी उद्योगलाई मारमा पार्ने प्रयास भएको बताए । नेपालमा उत्पादित चिनीको स्टक असार मै सकिएको छ । भदौपछि नेपालमा भारत र तेस्रो मुलुकबाट आयात भएकै चिनी खपत भइरहेको छ ।

एसियन थाइ फुड्स एन्ड कन्फेसनरीका सञ्चालक महेश जाजुले चिनीको भन्सार महसुल वृद्धिले बिस्कुट र कन्फेसनरी उद्योगलाई प्रत्यक्ष मार पर्ने बताए । ‘सल्लाहै नगरी सरकारले चिनीमा महसुल बढाउँदा समस्या हुन्छ,’ उद्योगपति जाजुले भने, ‘भन्सार महसुलले बिस्कुट र कन्फेक्सनरी उद्योगलाई के मार पार्छ, त्यसको अनुमानै नगरी सरकारले महसुल बढायो भने फिर्ता लिनुपर्छ ।’

चिनीको मूल्यमा यस वर्ष अन्तर्राष्ट्रिय बजारमै गिरावट आएपछि आयातकर्ताले तेस्रो मुलुकबाट पनि चिनी आयात गरेका थिए । नेपाली आयातकर्ताले यसअघि भारतबाट मात्रै चिनी आयात गर्थे । सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार महसुल बढाए बिस्कुट र कन्फेसनरी उद्योग मात्र होइन, उपभोक्ता पनि महँगो मूल्यमा चिनी किन्न बाध्य हुने उद्योगपति अभिनाश बोहराले बताए । मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै बिस्कुट र कन्फेसनरी उद्योग आधा दर्जनभन्दा बढी छन् ।
नेपालमा उत्पादन हुने र भारतबाट आयात हुने चिनीले यहाँको माग धानिरहेको छैन । नेपालमा पाकिस्तान, बंगलादेश, ब्राजिल,  थाइल्यान्डबाट चिनी आयात भइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
अहिले चिनी आयातमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । कृषि विकास मन्त्रालयको सिफारिस अनुसार महसुल लगाए २२.५० प्रतिशत पुग्नेछ ।
ब्राजिलबाट आयातित धुलो चिनीको मूल्य ८० र पाकिस्तानी मोटो दाना भएको चिनी प्रतिकिलो ८२ र ८३ रुपैयाँमा विराटनगर बजारमा खुद्रामा बिक्री भइरहेको छ । सीमावर्ती भारतीय बजार जोगबनीमा चिनीको मूल्य प्रतिकिलो ७० देखि ७२ नेपाली रुपैयाँ छ । विराटनगरका उपभोक्ताले १० रुपैयाँ कम पर्ने भएकाले चिनी जोगबनी बजारमै किनेर ल्याउँछन् ।
‘चिनीको आन्तरिक उत्पादनले कुल मागको ४० प्रतिशत पनि धान्दैन,’ एसियन थाइ फुड्सका सञ्चालक जाजुले भने, ‘चिनी माग बमोजिमको पूरा गर्न आयात गर्नैपर्छ, यस्तो अवस्थामा चिनीको आयात महसुल बढाउनु उचित होइन ।’

प्रकाशित: २४ कार्तिक २०७४ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App