९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

दसैंलाई ५० हजार खसी, बोका ल्याइँदै

बिक्रीका लागि मुस्ताङबाट पोखरा ल्याइएका च्यांग्रा। फाइल तस्बिरः नागरिक

दसैंलाई लक्षित गरेर यो वर्ष उपत्यकामा करिब ५० हजार खसी, बोका बिक्री गर्ने तयारी रहेको छ। व्यापारी, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ हजार खसी, बोका र करिब ५ हजार च्याङ्ग्रा ल्याउन लागेका छन्।

विभिन्न जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा राजधानी ल्याउन सुरु भएको काठमाडौं चौपाया खरिदबिक्री संघका अध्यक्ष जनक खड्काले बताए।

खड्काका अनुसार व्यापारीले करिब ४५ हजार खसी, बोका ल्याउन विभिन्न जिल्लामा खरिद गरिसकेका छन्। ‘दसैंलाई लक्षित गरेर करिब ४५ हजार खसी, बोका ल्याउन लागिएको छ,’ खड्काले भने, ‘आगामी आइतबारबाट बिक्री सुरु हुन्छ।’

सल्यान, दाङ, सुर्खेत, वैतडी, उदयपुर, रामेछापलगायतका जिल्लाबाट खसी, बोका ल्याउन लागिएको उनले बताए। जिउँदो खसी प्रतिकिलो ६ सय ६९ देखि ६ सय ९० रूपैयाँ किलोमा बिक्री हुने उनले बताए। ‘काटेको मासु किलोको १३ सय रूपैयाँमा पाइन्छ,’ खड्काले भने, ‘उपभोक्ताले स्वस्थ मासु खान पाउँछन्।’

खाद्य व्यापार कम्पनीले दुई हजार खसी र एक हजार च्याङ्ग्रा ल्याउने बताएको छ। यसका लागि कम्पनीले दसैंमा सहुलियत दरमा खसी, च्याङ्ग्रा बिक्री गर्न आठ करोड ३३ लाख ४० हजार रूपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।

खाद्य व्यवस्था व्यापार कम्पनीले उपभोक्तालाई सुहलियत दिन बजारमा भन्दा केही सस्तोमा खसी, बोका, च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ। बजारको भन्दा ५० रूपैयाँ सस्तोमा खसी, बोका बिक्री गर्ने खाद्य व्यवस्था व्यापार कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताए। ‘बजारको भन्दा ५० रूपैयाँ सस्तोमा बेच्छौं,’ थापाले भने, ‘सरकारको तर्फबाट किलोमा थप १० रूपैयाँ छुट दिन्छौं।’

मुस्ताङ र रसुवाबाट च्याङ्ग्रा ल्याउने थापाले बताए।

च्याङ्ग्राको मासु जिउँदो १२ सय ५० रूपैयाँ किलोमा बिक्री गर्ने तयारी भएको थापाले बताए। दसैं–तिहारमा मासुको माग उच्च हुने भएकाले यही सिजनमा अर्ब बढीका खसी, बोकाको कारोबार हुन्छ।

यो वर्ष उपभोक्ताले स्वदेशी खसी, बोका नै प्रयोग गर्न पाउने भएका छन्। यहाँलाई आवश्यक पर्ने खसी, बोका मुलुकका विभिन्न जिल्लाका किसानले उत्पादन गरेका छन्। विगतका वर्ष भारतबाट समेत ल्याउने गरिएकोमा यो वर्ष स्वदेशमै उत्पादन गरेका खसी, बोका ल्याउन लागिएको व्यापारीले बताएका छन्। उपत्यकामा काठमाडौंको कलंकी, बागबजार टुकुचा, भक्तपुर सल्लाघारी, बालाजु लगायतका ठाउँबाट खसी, बोका बिक्री गर्ने व्यापारीको तयारी छ।

दसैंमा धेरै मासु खाने चलन रहेकाले स्वास्थ्य परीक्षण गरेर मात्र बिक्री गर्न अनुमति दिएको पशु क्वारेन्टाइनले जनाएको छ। रोगी खसी बोका बेच्न नपाउन भनेर चेकजाँच गरेर बिक्री गर्ने तयारी छ। उपत्यका प्रवेश गर्ने नाकामा पशु चिकित्सक राखेर जाँच गरिएको पशु क्वारेन्टाइन काठमाडौंले जनाएको छ। कमी कमजोरी हुन नदिन उपत्यका प्रवेश गर्ने नाकामा चेकजाँच गरिनेछ।

गुणस्तहीन मासु लगायत वस्तुको बिक्री वितरण निरुत्साहित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले पनि टोली परिचालन गर्ने जनाएका छन्।

मासुको लागि प्रयोग हुने पशुलाई जिल्लाबाट निकासी गर्दा सम्बन्धित जिल्लाबाट स्वास्थ्य जाँच गरी प्रमाणपत्र लिनुपर्छ।

दसैंमा राजधानीमा मात्र नभएर मुलुकका प्रमुख सहरसहित सबैक्षेत्रमा खसीबोकाको माग उच्च हुन्छ। दसैंमा सबैको बिदा हुने र खानपिन, रमाइलो गर्ने भएकाले निकै धेरै मासु खपत हुन्छ। हुनेले घरमै खसी ढाल्ने चलन छ भने कम आम्दानी हुनेले मासु पसलबाट ल्याएर प्रयोग गर्छन्। शक्तिपीठहरूमा नवदुर्गालाई बोकाबलि चढाउने प्रचलन पनि छ।  

प्रकाशित: २५ आश्विन २०८० ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App