२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चोभार सुक्खा बन्दरगाहमा भित्रिन थाल्यो विद्युतीय गाडी

चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि विद्युतीय गाडी भित्रिन थालेका छन् । यो बन्दरगाहमा असार १४ गतेदेखि भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थालेका हुन् । अहिलेसम्म सांग्रिला मोटर्स प्रालि र जिओ अटोमोवाइल्स प्रालि लगायत अन्य कम्पनीहरूले आयात गरेका पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँचपास गर्न ल्याइएको छ ।  

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आयातकर्ताहरूले असोज २० गतेदेखि इलेक्ट्रिक गाडीहरू समेत भन्सार जाँचपासको लागि चोभार ल्याउन थालेको बताए । बन्दरगाह कार्यालयका अनुसार इभी नेपाल जी मोर्टस प्रालिले चार वटा विद्युतीय कार कन्टेनरमा राखी चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो ।  

ती गाडीहरू भन्सार जाँचपासको लागि वीरगञ्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याइएको हो । चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास प्रक्रिया व्यवस्थित भएपछि सवारी साधन चोभार आउन थालेका हुन् । आगामी दिनमा अझै थप सवारी चोभार आउने जानकारी आयातकर्ताहरूले गराएका छन् ।  

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालवाहक सवारी साधन एवं नयाँ सवारी साधनहरूको लागि प्रवेश शुल्क निःशुल्क गर्नुका साथै पार्किङ एवं गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म चोभार सुक्खा बन्दरगाहमा २०२ वटा कन्टेनर र ८७ वटा सवारीसाधन भित्रिएका छन् । तिनैमध्येका चार वटा भने विद्युतीय सवारी साधन हुन् । सुक्खा बन्दरगाहको एक्जिमक्षेत्रमा भएको दुईवटा गोदामहरू पनि आयातकर्ताहरूले सामान भण्डारणको लागि प्रयोग गर्ने गरेका छन् । आन्तरिक टर्मिनलको पार्किङ एवं गोदाम प्रयोगको लागि आउने व्यवसायीहरूको सख्या समेत बढ्दो क्रममा रहेको छ ।  

चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि निजीक्षेत्रलाई दिन हाल कम्पनी छनौट प्रक्रिया भइरहेको र भविष्यमा यस सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजीक्षेत्रलाई हस्तान्तरण हुनेछ । निजीक्षेत्रबाट यस सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन सुरु भएपछि  बन्दरगाहबाट व्यापारिक कारोबारमा अझै वृद्धि हुने आशासमेत लिइएको कार्यकारी निर्देशक गजुरेलले बताए । चोभार सुक्खा बन्दरगाह २०७८ चैत २२ गतेदेखि सञ्चालनमा आएको थियो ।

प्रकाशित: २३ आश्विन २०८० ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App