११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखरामा दसैँको अग्रिम टिकट बुकिङ आइतबारदेखि खुल्ने

दसैँमा घर फर्किनेलाई लक्षित गर्दै पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। 

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडले दसैँका लागि अग्रिम टिकट बुकिङ आइतबारदेखि खुल्ने जानकारी दिएको हो। यसअघि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भाडा वृद्धि नभएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान लिएको थियो। 

पोखरा–मुग्लिन सडक खण्ड, नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतीको काम भइरहेकाले सडक जीर्ण भएको, जीर्ण बाटोमा बस चलाउँदा सवारी साधनको पार्टपुर्जा, इन्जिन, गियर बक्सहरु खराब भई पटक/पटक मर्मतसम्भार गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, पार्टपुर्जामा भएको वृद्धि, मूल्य वृद्धि लगायतको अनुपातमा यातायात भाडा न्यून भएकाले भाडा समायोजन गर्नुपर्ने अडानमा कम्पनी थियो। 

तर दसैँ मुखैमा आएपछि यात्रुहरुको आवश्यकता, मर्म, भावना र सुविधालाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीद्वारा शनिबार जारी विज्ञप्तिमा जनाइएको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चाडपर्वका बखत यात्रुहरुको आवश्यकता, मर्म, भावना र सुविधालाई मध्यनजर गर्दै गैर जिम्मेवार र उदासीन बन्न हाम्रो नैतिकताले नदिने हुँदा घाटा सहेर भएपनि अग्रिम टिकट बुकिङ खोल्ने निर्णयमा पुगेका छौं।’

कम्पनीले दसैँका लागि अग्रिम टिकट बुकिङ पोखरा–८ फिर्के र कम्पनीका अन्य सेवा प्रदायक कार्यालय अन्तर्गतका काउण्टरहरुबाट उपलब्ध हुने जनाएको छ। 

कम्पनीले दसैँका लागि गाडी थप्ने योजना रहेको पनि जनाएको छ। तर यात्रुको आवश्यकता हेरेर गाडी थपिने अध्यक्ष केसीले जानकारी दिए। 

‘यसपालि गाडीको समस्या हुँदैन,’ उनले भने,‘आवश्यकता अनुसार गाडी थप्छौं। गाडी नपाएर यात्रु रोकिने स्थिति आउन दिदैनौं।’

प्रकाशित: २० आश्विन २०८० ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App