८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

फर्निचर तथा फर्निसिङ उत्पादनको मेला ‘फर्नेक्स २०२३’ सुरु

फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् मेला ‘फर्नेक्स २०२३’ सुरु भएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पो उद्घाटन गरेका हुन्।

एक्स्पोको उद्घाटन गर्दै उद्योगमन्त्री रिजालले मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताए। आयात मुलुकका लागि सुखद विषय नभएको बताउँदै उनले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकारले पहल गर्ने आश्वासन दिए।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशमा बर्सेनि अर्बौंको काठ कुहिएर गइरहेको भए पनि फर्निचर तथा फर्निसिङका सामान बनाउन विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले उद्योग व्यवसायलाई सरकारले संरक्षण र सहयोग नगरेको भन्दै पछिल्ला दिनहरूमा अवलम्बन गरिएका नीति तथा व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरे।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बैंक तथा वित्तीय संस्थाले आफू खुसी तर्जुमा गर्ने नीति नियमका कारण उद्योग व्यवसाय धरापमा परेको भन्दै सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए। अग्रवालले निजीक्षेत्रको मनोबल बलियो बनाउँदै उद्योग व्यवसाय प्रवद्र्धनको काम गर्न सरकारसँग आग्रह गरे।

यस्तै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसायीलाई स्वदेशी काठ खरिदका लागि लिलामीमा सहभागी हुन नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै विभेदकारी नीतिको अन्त्य गर्न माग गरे।

एक्स्पो आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको फर्निचर तथा फर्निसिङ उद्योग र व्यवसायलाई सरकारले संरक्षण गर्न नसकेको बताएका थिए। उनले वर्षौं पहिले तर्जुमा भएका कानुन तथा नीति नियमलाई समय सापेक्ष सुधार गर्दै उद्योग व्यवसाय प्रवर्द्धन गर्न सरकारसँग आग्रह गरे।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा ‘के हामी आत्मनिर्भर छौं?’ भन्ने थिममा सुरु भएको एक्स्पो पाँच दिनसम्म चल्नेछ।

सयभन्दा बढी स्टलहरू रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी तथा बिक्री वितरण गर्नेछन्।

एक्स्पो स्थलमा नै सामान खरिद बिक्री गर्न खुला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पोमा निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ।

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा ‘मेड इन नेपाल’ फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ।

प्रकाशित: ११ आश्विन २०८० ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App