१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरामा धमाधम उडान थप्दै हवाई कम्पनी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका जहाज। फाइल तस्बिरः नागरिक

यात्रुको चाप बढ्दै गएको भन्दै हवाई कम्पनीले काठमाडौं–पोखरा रुटमा हवाई उडान थप्न थालेका छन्। 

निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सले अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा उडान थपेका हुन्। अर्को निजी हवाई कम्पनी श्री एयरलाइन्सले पनि पोखरामा उडान थप्ने तयारी गरेको छ।

पोखरा आउने विदेशी पाहुना बढ्दै गएको र आन्तरिक यात्रु पनि थपिन थालेको भन्दै उडान थप गरेको एयरलाइन्सले बताएका छन्। पर्यटन क्षेत्रमा अबका तीन महिना मुख्य सिजन चल्ने र यो बेला धेरै विदेशी पाहुना नेपाल आउने भन्दै पोखरासम्मका लागि हवाई उडान संख्या बढाएको हवाई कम्पनीले बताएका छन्। त्यसबाहेक चाँडबाँडका कारण आन्तरिक यात्रुको घुमघाम पनि बढ्ने भएकोले यो बेला उडान संख्या बढाउन आवश्यक ठानेको कम्पनीको भनाई छ।

बुद्ध एयरले अहिले पोखरा–काठमाडौं रुटमा मात्र दिनमा १७ वटा उडान गर्न थालेको छ। केही दिन अघिसम्म बुद्धले यो रुटमा दिनमा १४ वटा मात्र उडान गरिरहेको थियो। तीन वटा उडान थपेको बुद्ध एयरले बताएको छ। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार बुद्धले बिहानको समयमा ८, दिउँसो ५, बेलुकी २ र राती २ गरी दिनमा १७ वटा उडान गर्न थालेको छ। त्यसबाहेक पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्ज पनि उडान गरिरहेको उनले बताए।

‘पोखराबाट विभिन्न रुटमा दिनमा २० वटा उडान गरिरहेका छौ। अब चाँडबाँड पनि सुरु भएको छ, आन्तरिक यात्रु पनि बढेका छन्। भारतीय पाहुना पनि बढेका छन्। तेस्रो मुलुकका विदेशी यात्रु पनि छन्,’ उनले भने, ‘पोखरासम्मका यात्रु पर्याप्त छन्। अहिलेका लागि यात्रु अभाव छैन।’ 

काठमाडौंदेखि पोखरा जाने यात्रु सबैभन्दा बढी संख्यामा रहेको उनले बताए। स्थल मार्गको यात्रा झन्झटिलो भएकोले पनि यो बेला पोखराका यात्रु बढेको कर्णको भनाई छ।

पोखरा आउने विदेशी पाहुना बढ्दै गएको र आन्तरिक यात्रु पनि थपिन थालेको भन्दै उडान थप गरेको एयरलाइन्सले बताएका छन्। पर्यटन क्षेत्रमा अबका तीन महिना मुख्य सिजन चल्ने र यो बेला धेरै विदेशी पाहुना नेपाल आउने भन्दै पोखरासम्मका लागि हवाई उडान संख्या बढाएको हवाई कम्पनीले बताएका छन्।

काठमाडौं–पोखरा रुटमा दिनमा करिब एक हजार यात्रु (एकतर्फी) उडान गरिरहेको उनले सुनाए। बिहानीपखका यात्रु बढी हुने भएकोले उडान पनि थपेको उनले बताए। बुद्धसँग अहिले १६ वटा जहाज छन्। बुद्ध एयरले देशभरका उडानमा दिनमा १० हजार सिट क्षमता राख्ने उनले सुनाए।

यती एयरलाइन्सले पनि अहिले पोखरामा उडान थपेको छ। हवाईयात्रुको माग बढ्दै गएको भन्दै यतीले पोखराका लागि रात्रि उडान थपेको छ। यतीले गत आइतबारदेखि यो रुटमा रात्रि उडान थपेको छ। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार पोखरा आउने यात्रुको चाप बढ्दै गएपछि उडान थप गरिएको हो। रातीको समेत गरेर यतीले पोखराका लागि अहिले दिनमा ६ वटा उडान गरिरहेको छ।

बर्ताैलाका अनुसार रात्रि उडानमा यात्रु संख्या बढ्दै गएमा उडान संख्या अझै बढाउने योजना छ। ‘चाँडबाँड सुरु भएका छन्। अब यात्रु थपिने सम्भावना छ। यात्रु बढेको खण्डमा दिउँसोको साटो बेलुकीको उडान थपिने छन्,’ उनले भने, ‘हालका लागि बेलुकीको उडान एउटा मात्र थपिएको छ। अब आवश्यकता अनुसार उडान थपिनेछ।’

अहिले पोखरासम्मको स्थल मार्गको यात्रा झन्झटपूर्ण रहेकोले पनि यात्रुले हवाई यात्रा खोज्न थालेको उनले बताए। दिनको समयमा अन्य सेक्टरमा उडान गरेर रातीका लागि पोखरा उडान गर्ने योजना रहेको उनले बताए। यतीसँग अहिले पाँच वटा एटिआर ७२ जहाज छन्।

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन राजमार्ग बिस्तार गर्न थालेकोले पनि अहिले स्थल मार्गको यात्रा निकै नै झन्झटपूर्ण बनेको छ। पोखरादेखि आबुँखैरेनीसम्मको करिब ८० किलोमिटर दूरी पार गर्न अहिले कम्तीमा पाँच घण्टा लाग्ने गरेको छ बिस्तार सुरु हुनुअघि यो दूरी २ घण्टामै पार हुन्थ्यो। स्थल मार्ग झन्झटपूर्ण भएकोले हवाई यात्रु थपिएको हवाई कम्पनीको भनाई छ।

निजी क्षेत्रको अर्को हवाई कम्पनी श्री एयरलाइन्सले पनि अहिले पोखराका लागि उडान थप्ने तयारी गरेको छ। श्री एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरका अनुसार अहिले काठमाडौं–पोखरा रुटमा दिनमा एउटा मात्र उडान छ। बिचमा केही महिना यो रुटमा उडान रोकिएको थियो। तर, पछिल्लो समय उडान सुरु भएको थियो।

दिनको एउटा मात्र उडान गरिरहेको श्रीले अब काठमाडौं–पोखरा रुटमा तीन वटा उडान गर्ने तयारी रहेको मानन्धरले बताए। ‘केही दिनभित्रै हामीले उडान संख्या बिस्तार गर्छौ। अहिलेका लागि एउटा मात्र उडान छ। तर, त्यसलाई बढाएर तीन वटा पु¥याउने योजना छ,’ उनले भने, ‘पोखराका लागि हवाई यात्रु भएकोले पनि उडान थप्नुपरेको हो।’

प्रकाशित: ६ आश्विन २०८० ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App