२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।

केही वर्षयता मुलुकमा आन्तरिक पर्यटकहरूको चहलपहल निकै बढेको छ। विदेशी पर्यटकहरू घुमफिरका लागि सिजनल रूपमा नेपाल आउँछन् तर पछिल्लो केही वर्ष यता आन्तरिक पर्यटकले पनि नेपालको पर्यटन क्षेत्रलाई निकै राहत दिएको यस क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू बताउँछन्।  

ठमेलका होटल तथा रेष्टुरेन्ट व्यवसायी मुकुन्द पोख्रेलले सिजनको सुरूवातमा अहिले होटलको ‘अकुपेन्सी’ ४०/५० प्रतिशत भएको बताए। उनले ठमेलमा तीन वर्ष कोभिडले थलिएको पर्यटनलाई पुनर्जीवित गर्न आन्तरिक पर्यटकले साथ दिएको बताए। होटल इन्काउन्टर र काठमाडौं ग्रिल रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरिरहेका पोख्रेलले कोभिड अघिसम्म ठमेल पर्यटकहरूका लागि मात्र हो भन्ने धारणा नेपालीहरूमा रहेको बताउँदै उनले भने, ‘ठमेलमा भएका होटल र रेष्टुरेन्टहरू त्यति महँगा छैनन् र नेपालीहरूले पनि पहुँच राख्न सक्छ भन्ने कोभिडपछि मात्र भएको हो।’ उनले थपे, ‘अहिले ठमेलका ब्राण्डेड होटलहरू तथा विदेशी पर्यटक केन्द्रित होटलहरू बाहेक अन्यमा नेपालीहरूको राम्रो उपस्थिति र चहलपहल छ।’  

पोखराका होटल व्यवसायी जुभु गुरूङले पछिल्लो दुई/तीन वर्ष यता होटलहरूमा नेपाली पर्यटकहरूको अकुपेन्सी बढिरहेको बताए। पोखरामा उनले सञ्चालन गरिरहेको होटल पूर्वेली घर र पाराडाइज इनमा अहिले पनि अन्य मुलुकको भन्दा नेपालीहरू बढी रहेको बताए। उनले भने, ‘मेरो होटलमा अहिले विदेशीभन्दा नेपालीहरू धेरै बस्न आउँछन्। चार÷पाँच वर्ष अगाडिसम्म यस्तो थिएन। नेपाली पर्यटकहरू कहिलेकाहीं आउँथे तर कोभिडपछिको समय फेरिएको छ। नेपालीहरूको घुम्ने बानी बढ्दा होटलहरूमा उनीहरूको अकुपेन्सी उल्लेख्य छ ।’

नेपालमा बाह्रै महिना स्थिर संख्यामा पर्यटक भित्रिँदैनन्। विशेष गरी वसन्त ऋतु र हेमन्त ऋतुमा सबैभन्दा धेरै विदेशी पर्यटक नेपाल घुम्न भनेर आउँछन्। सबैभन्दा बढी पर्यटक वसन्त ऋतुको मार्च, अप्रिल र मे महिनामा नेपाल आउँछन्। यस्तै हेमन्त ऋतुको सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा स्प्रिङपछि धेरै विदेशी पर्यटक नेपाल आउँछन् तर अन्य ऋतुमा भने विदेशी पर्यटकहरू नेपाल घुम्न खासै आउँदैनन्।  

सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना मुलुकमा दोस्रो धेरै विदेशी पर्यटक भित्रने समय हो। हेमन्त ऋतुका यी महिनाहरूमा मुलुकमा प्रशस्त पर्यटकीय गतिविधिहरू हुने गर्दछन्। हिमाल चढ्न, उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न, मठ–मन्दिरहरूको दर्शन गर्न, साहसिक खेल खेल्न र विभिन्न रमणीय स्थानहरूमा घुमफिर गर्न विदेशी पर्यटक नेपाल आउने गर्दछन्।  

ठमेलस्थित काठमाडौं गार्डेन होमका सञ्चालक कमल सापकोटाले पछिल्लो समय गाउँ केन्द्रित होटल तथा होमस्टेहरूमा आन्तरिक पर्यटकहरूको निकै बाक्लो अकुपेन्सी रहेको बताए। सहर केन्द्रित होटलहरूमा त्यति धेरै नेपाली पर्यटकहरूको अकुपेन्सी नभए पनि गाउँकेन्द्रित होटलहरूमा नेपाली पर्यटकहरू धेरै बस्ने गरेको बताउँदै उनले भने, ‘ठमेलको दाँजोमा नगरकोट, धुलिखेल, नुवाकोट, त्रिशुलीका होटलहरूमा नेपाली पर्यटकहरूको अकुपेन्सी विदेशी पर्यटकको भन्दा धेरै छ ।’ उनले थपे, सहर केन्द्रित भन्दा गाउँ केन्द्रित होटलहरूमा नेपाली पर्यटकको अकुपेन्सी बढी छ। यो क्रम हेर्ने हो भने सहरमा पनि केही समयभित्र आन्तरिक पर्यटकहरूकोे उपस्थिति उल्लेख्य हुन्छ।’ 

आन्तरिक पर्यटक बढेसँगै उनीहरूले प्रयोग गर्ने सामानहरूको बिक्रीवितरण पनि बढेको व्यवसायी बताउँछन्। ठमेलमा अवस्थित माउन्ट एभरेष्ट इक्युपमेन्ट स्टोरका सञ्चालक चन्द्रप्रभात राईले समयको अन्तरालसँगै नेपालीहरूमा पनि घुम्ने बानीको विकासले व्यापार व्यवसायमा धेरै सहयोग भएको जनाए। उनले कोभिड यता घुमफिरमा नेपालीहरूको चाहना अत्यधिक देखिएको बताउँदै नेपालीहरू पछिल्लो वर्षमा आफ्नै देशको रमणीय ठाउँहरू घुम्ने चाहना बढेको बताए। उनले भने, ‘नेपालीहरूमा घुम्ने बानी बढेको छ। १५ वर्षको मेरो अनुभवमा केही वर्ष यतादेखि घुम्न जाँदा आवश्यक पर्ने सामान किन्न नेपालीहरू निकै आइरहेका छन्।’ उनले थपे, ‘अहिले मेरो पसलमा आउने ग्राहकहरूमा विदेशी भन्दा नेपालीहरू धेरै छन्। आन्तरिक पर्यटकले मेरो व्यापारलाई निकै सहयोग पुर्याएको छ ।’

१५ वर्षदेखि ट्रेकिङ सम्बन्धी सामान बेच्दै आइरहेका उनले पर्यटकीय सिजनको सुरूवातासँगै व्यापार एकदमै राम्रो भइरहेको बताए। आफ्नो पसलमा वसन्त ऋतु भन्दा शरद ऋतुमा धेरै ग्राहक आइरहेका र त्यसमा पनि ६०/७० प्रतिशत नेपाली रहेको उनले बताए।  

पछिल्ला वर्ष नेपालमा बाह्यभन्दा आन्तरिक पर्यटकहरूले पर्यटन क्षेत्रमा उल्लेख्य गतिविधिहरू गरिरहेको देखिन्छ। घुमफिरमा होस् वा होटलको बसाईका क्रममा आन्तरिक पर्यटकहरू मजाले खर्च गर्न थालेका छन्। नेपालीहरूको घुमफिर गर्ने बानीको विकासले गर्दा होटल, रेष्टुरेन्ट, होमस्टे, ट्रेकिङ पसल जस्ता पर्यटनसम्बद्ध व्यवसायलाई निकै राहत पुगेको छ।

टोखाका सेरिका थापा सानैदेखी निकै घुमफिर गर्न रूचाउनेमा पर्छिन्। उनको अनुभवमा पनि केही वर्षयता आफ्नो घुमफिरको दौरान नेपालीहरू निकै भेटिने गरेको सुनाइन्। उच्च भागमा होस् कि धार्मिक स्थानहरूमा अथवा नयाँ पर्यटकीय गन्तव्यहरूमा नै किन नहोस्, आजकल नेपालीहरू निकै घुमफिर गर्न थालेको देखिन्छ।

होटल संघ चितवनका पूर्व अध्यक्ष तथा जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले चितवनको होटल व्यवसायमा अहिले ७० प्रतिशत अकुपेन्सी नेपाली पर्यटकको भएको बताए। उनले कोरोना अघिसम्म चितवनमा आन्तरिक पर्यटन ल्याउने अभियान सुरू गर्दा ३० प्रतिशत नेपाली र ७० प्रतिशत विदेशी पर्यटकको लक्ष्य राखिएको बताए। उनले भने, ‘कोरोना महामारी यता आन्तरिक पर्यटक ह्वात्तै बढेर त्यसको ठीक विपरीत भयो। अहिले चितवनमा ३० प्रतिशत चाहिँ विदेशी र बाँकी ७० प्रतिशत आन्तरिक पर्यटकहरू छन्।’

उनले हाल आन्तरिक पर्यटकलाई लक्ष गरेर चितवनका होटल व्यवसायीले सोहीअनुरूप अरू होटलको बजेटिङ र गतिविधिमा ध्यान दिइरहेको बताए ।

प्रकाशित: ५ आश्विन २०८० ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App