१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: विमानस्थल थियो र त सिचुआन र ड्रुक आए

विमानस्थल नहुँदो हो त जहाज आउँदैनथ्यो, पाहुना पनि आउने थिएननः व्यावसायी

गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछिको पहिलो अन्तर्राष्ट्रिय अवतरण सिचुआन एयरलाइन्सको थियो।

फेवातालमा आयोजित ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन आउने ८४ जना चिनियाँ पाहुनालाई लिएर त्यो बेला जहाज पोखरा ओर्लिएको थियो। फर्किने बेला भने काठमाडौं हुँदै गएको जहाजमा पोखराबाट उड्ने कोही थिएनन्।

भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ड्रुक एयरको जहाज शनिबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो। सिचुआनपछिको दोस्रो अन्तर्राष्ट्रिय अवतरण ड्रुकको थियो। ड्रुकले पोखरा आउँदा जम्मा ३ जना यात्रु ल्याएको थियो भने फर्किँदा ४२ विदेशी यात्रु लिएर उड्यो। संख्यात्मक रुपमा कम भएपनि दोहोरो उडानमै यात्रु थिए। ड्रुकको अवतरणलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको पहिलो व्यावसायिक उडान पनि भनेको छ।

गत जनवरी १ (२०२३) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको हो। संचालनमा आएको आठ महिनापछि बल्ल पहिलो व्यावसायिक उडान गर्न पोखरा सफल भएको छ। विमानस्थलबाट हुने आन्तरिक उडान भने नियमित नै छन्। अन्तर्राष्ट्रिय उडानमा नियमितता कुरिरहेको विमानस्थलले पहिलो व्यावसायिक उडानका लागि कम्तीमा ८ महिना पर्खिनुपर्‍यो। नियमित अन्तर्राष्ट्रिय उडानको भने अझैसम्म टुंगो छैन।

नियमित अन्तर्राष्ट्रिय उडानको टुंगो नलागे पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा क्षेत्रको पर्यटनको लागि अवसरको ढोका भने खुलादिएको छ। त्यसका दुई उदाहरण हुन–ड्रागन बोट रेस फेस्टिबल र ड्रुक एयरको चार्टर उडान। अन्तर्राष्ट्रिय विमानस्थल नहुँदो हो त पोखरामा ड्रागन बोट रेस फेस्टिबल नहुन पनि सक्थ्यो भने ड्रुकको जहाज पोखरा आउने थिएन।

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘हो, नियमित अन्तर्राष्ट्रिय उडान पोखराले गर्न पाएको छैन, तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनमा सम्भावनाको ढोका खोलेको भने पक्का हो।’ श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा संचालनमा आएकै कारण पोखरामा ड्रागन बोट रेस फेस्टिबल हुन सकेको हो। त्यो फेस्टिबलले पोखराको पर्यटनबारे चीनमा पर्याप्त प्रवर्द्धन गर्न सघाएको छ।

‘चाहना राख्ने हो भने चीनका कुनैपनि सहरबाट पोखरासम्म सिधै हवाईजहाज चार्टर्ड गरेर जान सकिन्छ भन्ने सन्देश फैलिएको छ। फेस्टिबलकै बेला पनि केही चिनियाँ उच्चपदस्थ पाहुना पोखरा भित्रिए। विमानस्थल नहुँदो हो त सिचुआनको जहाज पोखरा आउने थिएन। ती उच्चपदस्थ पाहुना पनि आउने थिएनन्। ड्रागन बोट रेस गर्ने अवसर पनि पोखराले जुराउने थिएन,’ उनले भने।

तत्कालका लागि चिनियाँ पाहुना पोखरामा पर्याप्त नभित्रिए पनि पोखरामा चिनियाँ पाहुनाका लागि ठाउँ छ भन्ने सन्देश फैलिन फेस्टिबलले सघाएको उनले बताए। ‘पोखराबारे चीनमा पर्याप्त प्रचार पनि त्यही फेस्टिबलले गराएको छ, पोखराबारे चिनियाँले बुझ्ने मौका पाए,’ उनले भने, ‘किनकि चिनियाँ संस्कृतिको एउटा ऐतिहासिक कार्यक्रम पोखरामा हुन पायो । ती सबै गतिविधि सफल हुनुमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मुख्य कारण हो।’

ड्रुक एयरको जहाज पोखरा आउनुको पनि आफ्नै कारण छ। अमेरिकाका विभिन्न सहरबाट काठमाडौंमा भेला भएका ४२ जना पर्यटकलाई भुटानको पारोसम्म पुर्‍याउने गरी ड्रुकको जहाज पोखरा आएको थियो। ती अमेरिकी पर्यटकलाई नेपाल घुमाउने जिम्मा लिएको यती होलिडेज प्रालिका कार्यकारी निर्देशक हेमन्तराज कोलाक्षपतिका अनुसार यी पाहुना निकै नै खर्चिला थिए। 

नेपालमा तीनदेखि चार रात बिताएका उनिहरुलाई सगरमाथा क्षेत्रमा हेलिकप्टरमा लगेर घुमाइएको थियो। कुरिनटारमा र्याफ्टिङ गराउन पनि उनीहरुलाई हेलिकप्टरमै ल्याइएको थियो। पोखरासम्म पनि हेलिकप्टरमै आएका थिए। सातवटा हेलिकप्टरमा ती पाहुनालाई नेपाल सयर गराइएको थियो।

‘दिनमा प्रतिव्यक्ति १२ सय अमेरिकी डलर ती पाहुनाले नेपालमा खर्चेका छन्। निकै नै महँगा पाहुना हुन,’ कोलाक्षपति भन्छन्, ‘साहसिक गतिविधि रुचाउने उनीहरुले नेपालमा पर्याप्त रकम खर्च गरे। नेपालको पर्यटनका लागि यो गतिलो अवसर हो। नेपालका महँगा होटलमा बस्ने र गतिविधिमा सहभागी हुने गरी उनीहरु आएका थिए।’ नेपालमा गरेको खर्चबाहेक भुटान पुग्नका लागि ती पाहुनाले जहाज चार्टर्ड गर्नका लागि अतिरिक्त खर्च गरेको पनि उनले बताए।

कोलाक्षपति पनि अन्तर्राष्ट्रिय विमानस्थल भएकै कारण पोखरामा जान ती पाहुना तयार भएको बताउँछन्। 

‘घुम्दै पोखरा पुगेका पाहुनालाई भुटान पुग्नका लागि फेरि काठमाडौं फर्किनुपर्ने बाध्यता हुन्थ्यो भने ती पाहुनाले पोखरालाई अन्तिम गन्तव्य नबनाउन पनि सक्थे। तर, जब ड्रुक एयर पोखरामै लिन आउन राजी भयो, त्यसपछि पाहुना पनि पोखरालाई अन्तिम गन्तव्य बनाउन सहमत भए,’ उनले भने, ‘ती पाहुनालाई पोखरासम्म तान्नुमा मुख्य कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हो। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल नहुँदो हो त उनीहरु फर्केर काठमाडौं नै आउनुपर्दथ्यो, त्यो अवस्थामा ती पाहुनाले पोखरा भ्रमणलाई टार्न सक्थे।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै झन्झटबिना शनिबार बिहान पाहुना सिधै पारोसम्म जान पाउँदा निकै रमाएको पनि उनले बताए। ‘काठमाडौंबाट हुने हवाई यात्रा केही झन्झटिलो पनि छ। तर, पोखराबाट भएको यो यात्रा निकै नै सहज थियो, त्यसले पोखराबारे सन्देश फैलाउन सघाएको छ,’ उनले भने। पोखरामा ती पाहुना प्याराग्लाइडिङ, जिपलाइन लगायतका साहसिक गतिविधिमा रमाएका थिए। पोखराको ड्रुकले गरेको चार्टर्ड उडानले पर्यटनमा थप बल पुर्‍याउने उनले बताए। 

‘पोखरामा जहाज चार्टर्ड गरेर जान सकिन्छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुगेको छ। पोखराको बजारीकरणमा ठुलो योगदान पुगेको छ,’ उनले भने, ‘आगामी दिनमा पाहुनाको यो समूहको जस्तो सिकाई अरू पाहुनाले पनि गर्न सक्छन्। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान भएको त छैन, तर, अन्तर्राष्ट्रिय विमानस्थलकै कारण पोखराले पनि ती पाहुनाबाट केही लाभ लिन सफल भयो। पर्यटन प्रवर्द्धनमा सघाएकोमा दुई मत छैन।’

उनले दिनमा ४०–५० अमेरिकी डलर खर्चने पाहुनाको भरमा पर्यटन प्रवर्द्धनमा बल नपुग्ने भएकोले सरकारले नेपाल वायुसेवा निगमलाई बलियो बनाएर अन्तर्राष्ट्रिय गन्तव्यमा पुर्‍याउन सके नेपालको पर्यटन बजार बिस्तार हुने बताए।

प्रकाशित: २३ भाद्र २०८० १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App