९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

लम्पी स्किन पीडित किसानले पाएनन् राहत

आधा खर्ब बढीको क्षति,रोग नियन्त्रण गर्न ४७ करोड विनियोजन: मन्त्री भुसाल

लम्पी स्किन रोगबाट आधा अर्ब रूपैयाँभन्दा बढी क्षति भए पनि किसानले कुनै राहत पाएका छैनन्। लम्पी स्किन महामारीले ७७ वटै जिल्लाका पशु चौपायाको मृत्यु एवम् संक्रमण भई क्षति व्यहोर्नु पनि सरकार मुकदर्शक बनेर बसेको किसानको गुनासो छ।

अर्बौं रूपैयाँ क्षति हुँदा पनि किसानले राज्य छ भन्ने अनुभूति गर्न नपाएको कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले बताए। ‘हामी कृषिप्रधान मुलुक भन्छौं,’ अध्यक्ष अधिकारीले भने, ‘लम्पीले पशुको मृत्यु तथा संक्रमित भएर अर्बौं क्षति हुँदा पनि सरकारले कुनै राहतका कार्यक्रम ल्याएको छैन।’

किसानलाई तत्काल राहतको प्याकेज ल्याउनु पर्ने अधिकारीले बताए। ‘किसानको क्षतिको आधारमा केही न केही राहतको प्याकेज ल्याउनु पर्छ,’ अधिकारीले भने।

अर्बौं रूपैयाँ क्षति हुँदा पनि किसानले राज्य छ भन्ने अनुभूति गर्न नपाएको कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले बताए।

नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार मुलुकभर ६४ अर्ब रूपैयाँ बढीको क्षति भएको अनुमान छ। लम्पी स्किनको कारण दूध उत्पादन तथा मासु उत्पादनमा गिरावट, प्रजननमा समस्या आउने, अतिरिक्त दाना खुवाउनुपर्ने, गाई, भैंसी तुहिने, बेतान्तर लगायतका समस्या सिर्जना हुँदा किसानलाई क्षति पुगेको छ। मृत्यु भएका किसानको पनि बिमा नभएकाले किसान मर्कामा परेका हुन्।

ग्रामीण क्षेत्रका किसानले पशुको बिमासमेत नगरेकाले धेरै क्षति व्यहोर्नुपरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ पशु चिकित्सक तपेन्द्रप्रसाद बोहराले बताए।

किसानलाई अहिलेसम्म राहत दिन नसके पनि कसरी दिन सकिन्छ भनेर गृहकार्य भइरहेको उनले बताए। ‘राहत दिने मापदण्डको बारेमा छलफल भइरहेको छ ,’ उनले भने, ‘कार्यविधि बनाएरै राहत दिन पहल गर्छौं।’

एउटा पशु लम्पी स्किनबाट संक्रमित हुँदा ४९ हजार एक सय ३५ रूपैयाँ नोक्सान हुने नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ।

यसरी हेर्दा साढे १३ लाख पशु संक्रमित भएकाले ६४ अर्ब रूपैयाँ बढीको क्षति भएको अनुमान गरिएको छ। परिषद्ले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पशुमा लम्पी स्किनबाट संक्रमित भएपछि हुने क्षतिको बारेमा अध्ययन गरेको थियो।

ग्रामीण क्षेत्रका किसानले पशुको बिमासमेत नगरेकाले धेरै क्षति व्यहोर्नु परेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ पशु चिकित्सक तपेन्द्रप्रसाद बोहराले बताए।

१३ लाख पशु संक्रमित हुँदा पनि प्रभावकारी रूपमा रोग नियन्त्रणको पहल नभएको भन्दै आलोचना भएको थियो। महामारी नियन्त्रणका लागि ४७ करोड रूपैयाँ रकम विनियोजन गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले बताए।

बिहीबार प्रतिनिधिसभामा बोल्दै मन्त्री भुसालले प्रत्येक स्थानीय तहमा संघीय ससर्त अनुदानअन्तर्गत जानेगरी ४७ करोड रूपैयाँ विनियोजन गरिएको बताए।

मन्त्रालयका अनुसार लम्पी स्किनबाट संक्रमित भएका १२ लाख ८८ हजार सात सय ५९ वटा निको भएका छन्। संक्रमित भएर निको भएका पशुमा पनि क्षति हुने पशु चिकित्सक बताउँछन्।

लम्पीबाट ५२ हजार चार सय ४८ पशुको मृत्यु भएको छ। मन्त्रालयका अनुसार एक लाख पाँच हजार दुई सय ५३ पशु बिरामी अवस्थामा रहेका छन्। रोग नियन्त्रण गर्न सरकारले जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन ल्याएको जनाइएको छ। ल्याएको खोपमध्ये सात लाख ६ हजार चार सय पशुमा भ्याक्सिन लगाएको मन्त्रालयले जनाएको छ।

लम्पी स्किन रोग मुलुकका ७६ जिल्लामा फैलिएकोमा मनाङ र मुस्ताङमा भने नियन्त्रणमा आएको छ। लामखुट्टे, झिँगा, किर्नाको टोकाइबाट यो रोग एकअर्को पशुमा सर्छ। संक्रमित पशुको लसपसबाट पनि यो रोग एकअर्कामा सर्ने पशु चिकित्सक बताउँछन्। ज्वरो आए औषधि खुवाउन, गिर्खा फुटेको घाउमा मलम लगाउन र आराम गराउँदै रुचि अनुसारको दानापानी खुवाउन पशुचिकित्सकले सुझाव दिएका छन्।

लम्पी स्किन गाई/भैंसीमा भाइरसको कारण लाग्ने महामारी हो। पशु चिकित्सकका अनुसार पशुमा देखिएको यो एक प्रकारको भाइरस हो। यो सरुवा रोग हो। यो रोग भैंसी भन्दा पनि गाईगोरुमा बढी देखिन्छ। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा/गाँठाहरू देखिने, र्‍याल, सिँगान बग्ने, कचेरा लाग्ने, खुट्टा/जोर्नी सुन्निने जस्ता लक्षण देखिन्छन्। यस रोगले मुख्यतया बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाइभैंसीमा असर गर्छ।

मन्त्रालयका अनुसार लम्पी स्किनबाट संक्रमित भएका १२ लाख ८८ हजार सात सय ५९ वटा निको भएका छन्। संक्रमित भएर निको भएका पशुमा पनि क्षति हुने पशु चिकित्सक बताउँछन्।

लामखुट्टे, भुसुना, झिँगा, डाँस, किर्ना लगायतका टोक्ने किराले यो रोग सार्ने भएकाले गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ निःसङ्क्रमण गर्न मन्त्रालयले किसानलाई अनुरोध गर्दै आएको छ।

प्रकाशित: ८ भाद्र २०८० ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App