१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

माटोको सातौं स्टोर बुढानीलकण्ठमा

माटो ब्रण्डको सातौं स्टोर बुढानीलकण्ठमा खोलिएको छ। यही भदौ ६ गतेदेखि सञ्चालन भएको नयाँ समेत गरेर माटोका स्टोर संख्या ७ पुगेको छ।

माटोको आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनहरूलाई नेपाली ग्राहकको घरदैलोमा पुर्‍याउने नयाँ योजनाले थप गति लिएको छ।

‘जहाँ स्थानीय किसानहरू सफल हुन्छन्, राष्ट्र बलियो हुन्छ’ भन्ने मान्यता अनुरूप माटोले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर रासायनिक मल तथा विषादी प्रयोग नगरिएका नेपाली उत्पादनलाई मात्र उत्पादन र बिक्री वितरण गर्ने गरेको बताएको छ।

आत्मनिर्भरतातर्फ अग्रसर गराउने लक्ष्यले स्थापना भएको माटो किसानका लागि सशक्तिकरणको माध्यम बन्नुका साथै जैविक रूपमा उत्पादनको स्रोतको रूपमा विकास भएको कम्पनीले जनाएको छ। माटोका अध्यक्ष पवनकुमार गोल्यानले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन भनेर माटो स्थापना गरिएको बताए ।

राष्ट्रिय वाणिज्य  

बैंकका कार्डवाहकलाई  

ओम हस्पिटलमा छुट

काठमाडौं, भदौ ६ (नागरिक)– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका डेबिट–क्रेडिट कार्डवाहकहरूलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिइने भएको छ। यस सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात् बैंकका डेबिट–क्रेडिट कार्ड भएका ग्राहक तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडि सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेसन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवा लगायतको अन्य उपचार सेवामा विशेष छुट दिने व्यवस्था मिलाइएको छ ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पुरानो र प्रतिष्ठित हस्पिटलमा बैंकका कार्डहोल्डर ग्राहकले उपचारमा छुट पाउनु सकारात्मक भएको बताए। उनले दुवै संस्थाले एक अर्कामा आफ्नो सेवा सहुलियत दरमा उपलब्ध गराउन सकिने सम्भावना रहेको बताए।  

यस्तै हस्पिटलका प्रमुख कार्यकारी अधिकृत महतले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको हस्पिटलले एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरूमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको र सो सेवा राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरी अगाडि बढ्न पाउँदा खुसी लागेको बताए।  

उजय शाक्यलाई  

सीएमओ सम्मान

काठमाडौं, भदौ ६ (नागरिक)– आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४ औं संस्करणमा ‘एसियाज मोस्ट एड्मायर्ड मार्केटिङ लिडर’ सम्मान प्रदान गरिएको छ। वल्र्ड फेडरेसन अफ मार्केटिङ प्रोफेसनल्सबाट समर्थन प्राप्त सिएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ। शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै उक्त संस्थाले सम्मान गरेको हो ।

शाक्यले दुई दशकदेखि विश्वव्यापी ब्राण्डहरूलाई नेपालमा सफलतापूर्वक शुभारम्भ गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा संस्थाले प्रशंसा गरेको छ। अवार्ड समारोहमा शाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्केटिङले साथ दिनुपर्ने बताए। उनले मार्केटिङमा प्रविधिसँगै मानवीयता पनि महत्वपूर्ण हुने धारणा राखे ।

थाइ एयरको ‘जनरल सेल्स एजेन्ट’मा  

सोसाइटी सर्भिसेज

काठमाडौं, भदौ ६ (नागरिक)– थाई एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ। उक्त नियुक्ति अगस्ट १ गतेदेखि नै लागु भएको हो। सम्झौता अनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवासहित सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवाहरू उपलब्ध गराउने छ। यस साझेदारी मार्फत, थाई एयरवेज इन्टरनेसनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनःसञ्चालन गर्नेछ। 

प्रकाशित: ७ भाद्र २०८० ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App