२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः हवाई इन्धन डिपो बल्ल बन्दै

गगनगौंडाको डिजल भण्डारण क्षमता पनि बढाइयो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको सातमहिना कटिसकेको छ। अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराकै पुरानो विमानस्थलबाट ट्यांकरमा ढुवानी गरेको भरमा हवाईजहाजका लागि आवश्यक पर्ने हवाई इन्धन पु¥याउने गरिएको थियो। तर, अब भने अन्तर्राष्ट्रिय विमानस्थलभित्रै हवाई इन्धनको भण्डारण गृह बनाउने तयारी भएको छ।  

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उपलब्ध गराएको ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफल जग्गामा नेपाल आयल निगमले हवाई इन्धनका लागि भण्डारणगृह निर्माण गर्न लागेको हो। भण्डारणगृहको  सोमबार शिलान्यास गरिएको छ। ३६ लाख लिटर हवाई इन्धन क्षमताको भण्डारण ट्यांकी निर्माण गरिने निगमका हवाई इन्धन डिपोका परियोजना प्रमुख भरत रेग्मीले जानकारी दिए।  

रेग्मीका अनुसार विमानस्थलभित्रै १२ लाख लिटर क्षमताका ३ वटा ट्यांकी निर्माण हुनेछन्। अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने मापदण्ड अनुसारकै इन्धन क्षमताको ट्यांकी निर्माण गरिने उनले बताए। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको सातमहिना कटिसकेपनि अहिलेसम्म करिब पाँचकिलोमिटर टाढाको पुरानो विमानस्थलबाट ट्यांकरमा ढुवानी गरेको भरमा हवाईजहाजमा इन्धन भर्ने गरिएकोमा अब भने अन्तर्राष्ट्रिय विमानस्थलभित्रै इन्धन डिपो रहने उनले बताए। पोखराको पुरानो विमानस्थलसँग भने ६० हजार लिटर हवाई इन्धन क्षमताको भण्डारणगृह रहेको छ।  

‘अहिलेसम्म पुरानै विमानस्थलबाट ढुवानी गरेको भरमा कामचलाउ गरिएको थियो। तर, अब भने अन्तर्राष्ट्रिय विमानस्थलभित्र नयाँ भण्डारणगृह तयार हुनेछ,’ रेग्मीले भने। रेग्मीका अनुसार एकवर्षभित्र पुर्वाधार तयार हुनेछ। तीनवटा ट्यांकी, फायर फाइटिङका लागि आवश्यक पूर्वाधार, प्रशासन सहितका पूर्वाधार बनाउन करिब ६० करोड रुपैयाँ खर्च हुने उनले बताए।

‘खासमा दुइवर्ष अवधिमा यी पूर्वाधार तयार पार्ने समय हो। तर, एकवर्षभित्रै सक्नेगरि द्रुतगतिमा तयार हुनेछन,’ उनले भने, ‘५–६ किलोमिटर परबाट ढुवानी गरेको भरमा इन्धन रिफ्यूल गर्न समस्या भयो। सधैं यही तरिकाले पनि नहुने भएपछि पूर्वाधार थप्न थालिएको हो।’

अहिले आन्तरिक उडानमा मात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सिमित छ। आन्तरिक उडानमा मात्र सिमित रहँदा विमानस्थलमा दैनिक २० देखि ३० हजार लिटर हवाई इन्धन खपत हुने गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल भएकोले अन्तर्राष्ट्रिय उडान संचालन हुनासाथ इन्धन खपत बढ्ने रेग्मीले बताए। ‘हवाई उडानको आकारमा इन्धनको खपत हुने हो। अझै १५–२० वर्ष पछाडिको खपतको आकार हेरेर अहिले भण्डारण क्षमता ठुलो बनाइएको हो,’ रेग्मीले भने, ‘अहिले पनि सिजनको बेलाको उडान संख्या बढी हुँदा इन्धन खपत पनि बढ्छ।’ अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा २ दर्जन हाराहारीमा एकतर्फी हवाई उडान हुने गरेको छ।  

नेपाल नागरिक उड्डयन प्राधिरकण (क्यान) पोखराका प्रमुख बिक्रम गौतमले अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै निगमले हवाई इन्धनको डिपो निर्माण थालेको बताए। प्राधिकरणले उपलब्ध गराएको जग्गामा निगमले इन्धनका भण्डारणका पूर्वाधार बनाउन थालेको बताए। ‘अन्तर्राष्ट्रिय विमानस्थलभित्रै इन्धन भण्डारण भएपछि सहज हुनेछ। अहिले पुरानो विमानस्थलबाट ओसार्नुपरेको थियो,’ उनले भने।  

गगनगौंडाको क्षमता बढाईयो

नाकाबन्दीका कारण इन्धन हाहाकार हुँदा नेपाल आयल निगमको भण्डारण क्षमतामाथि नै प्रश्न उठेको थियो। कमजोर भण्डारण क्षमताले गर्दा छोटो समयमै इन्धन अभाव भोग्नुपरेको भन्दै नाकाबन्दीका बेला आलोचना भएपछि निगमनले क्षमता बिस्तारको योजना बनाएको थियो। त्यही अनुसार कास्कीको गगनगौंडास्थित निगमनको डिपोको क्षमता बिस्तार गरिएको छ।  

निगमको इन्जिनियरिङ तथा परियोजना विभागका प्रमुख समेत रहेका रेग्मीका अनुसार गगनगौंडा डिपोको भण्डारण क्षमता अब कम्तिमा एकमहिनाका लागि पुग्ने बनाइएको छ। गण्डकी प्रदेशको माग अनुसार एककरोड लिटर क्षमताको डिजल भण्डारणगृह निर्माण गरिएको उनले बताए। ‘नियमित आयात प्रभावित भएको अवस्थामा पनि कम्तिमा एकमहिना यो भण्डारणले थेग्नेछ, नाकाबन्दीले भण्डारण क्षमता बढाउन बाध्य बनाएको हो,’ रेग्मीले भने। डिजल भण्डारण गर्न ५०÷५० लाख लिटर अट्ने दुइवटा ट्यांक निर्माण गरिएको छ।  

गगनगौंडा डिपोमा २२ लाख ८० हजार लिटर डिजल, ३ लाख ५० हजार लिटर पेट्रोल र ७ लाख ६० हजार लिटर मट्टितेल भण्डारण क्षमता थियो। तर, मट्टितेलको भण्डारणगृहलाई पेट्रोलमा परिवर्तन गरिएको छ। मट्टितेलको ट्यांक पनि पेट्रोलमा परिवर्तन गरेपनि अहिले गगनगौंडासँग १० लाख लिटर भन्दा बढी क्षमताको पेट्रोल भण्डारण क्षमता बनेको छ। त्यसबाहेक डिजलको पुराना भण्डारणगृहलाई पनि पेट्रोलमा परिवर्तन गरेर पेट्रोलको क्षमता पनि २२ लाख लिटर पु¥याउने उनले बताए।  

क्षमता बिस्तार गरेपनि पेट्रोलको भण्डारण पनि कम्तिमा १५ दिनका लागि पुग्ने उनले बताए। अहिले गगनगौंडा डिपोबाट दिनमा २ लाख लिटर पेट्रोल र ३ लाख लाख लिटर डिजल खपत हुने गरेको छ। दुइवर्ष अघि ७७ रोपनी क्षेत्रफलमा ७७ करोड रुपैयाँमा निगमले भण्डारणगृह बनाउन थालेको थियो। गगनगौंडा डिपोबाट प्रदेशभित्रका मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ र स्याङजाका पम्पमार्फत इन्धन बिक्री हुने गरेको छ।  

प्रकाशित: १ श्रावण २०८० ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App