१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

असार सकिनै लाग्यो, रोपाइँ जम्मा ४७ प्रतिशत

पोहोर यो बेलासम्म ६२ प्रतिशत रोपाइँ सकिएको थियो

पोखरा क्षेत्रमा धान रोप्दै महिला । फाइल तस्बिरः उमेश पुन/नागरिक

असार अन्तिम साता लागिसक्दा पनि धान रोपाइँले गति लिन सकेको छैन। रोपाइँको सुरुवाती समयमा सबैतिर वर्षा भएपछि किसानले धमाधम रोपाइँ सुरु गरेपनि अहिले भने पानी अभाव हुँदा रोपाइँले गति नलिएको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले बताएको छ।  

निर्देशनालयका कार्यालय प्रमुख बासुदेव रेग्मीले पानी परेपनि मुल नफुटेकोले रोपाइँले गति नलिएको बताए। कार्यालयका अनुसार अहिलेसम्म प्रदेशमा औषतमा ४७ प्रतिशत मात्र रोपाइँ सकिएको छ। अघिल्लो वर्ष यही समयसम्म ६२ प्रतिशत रोपाइँ सकिएको थियो। पोहोरको तुलनामा योपटक प्रदेशका धेरैजसो जिल्लामा कम रोपाइँ भएको उनले बताए।  

निर्देशनालयका अनुसार यो पटक म्याग्दीमा अहिलेसम्म सबैभन्दा कम जम्मा १५ प्रतिशत मात्र रोपाइँ भएको छ। त्यसपछि स्याङजामा २५, गोरखामा ३०, बागलुङमा ३५ प्रतिशत मात्र रोपाइँ सकिएको छ। त्यस्तै लम्जुङमा ४२, कास्की, पर्वत र नवलपुरमा ६०–६० र तनहुँमा सबैभन्दा बढी ६६ प्रतिशत रोपाइँ सकिएको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङमा धान रोपाइँ हुँदैन।  

निर्देशनालयका अनुसार पोहोर यो बेलासम्म गोरखामा ५५, लम्जुङमा ६२, तनहुँमा ४५, कास्कीमा ८०, पर्वतमा ४२, स्याङजामा ६१, म्याग्दीमा ४०, बागलुङमा ६५ र नवलपुरमा ७० प्रतिशत रोपाइँ भईसकेको थियो। ‘पोखरा उपत्यकाभित्र पानी परेर मात्र हुँदैन। पहाडी भेगका टारी खेतमा रोपाइँ चल्न पानीको मुल फुट्नुपर्छ। अनि बल्ल पानीको श्रोत बलियो हुन्छ र रोपाइँले गति लिन्छ,’ रेग्मीले भने, ‘यो पटक मुल फुट्ने गरि पानी परेको छैन। पोखराभित्र परेको पानीले सबैतिर रोपाइँ हुँदैन।’

निर्देशनालयका अनुसार असार १५ गतेसम्म प्रदेशको औषत धान रोपाइँ जम्मा १७ प्रतिशत थियो। तर, एकसातामा यो आकार बढेर झन्डै ४७ प्रतिशत पुगेको छ। एकसाताको अवधिमा ३० प्रतिशत रोपाइँ भएकोले पनि आगामि दिनमा थप क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान निर्देशनालयको छ। ‘धान रोप्न अझै ढिलाई भईसकेको त होईन, तर, रोपाइँका लागि अहिले पर्याप्त पानी छैन,’ निर्देशक रेग्मीले भने।  

मनसुन ढिलागरि प्रवेश गरेकोले पनि रोपाइँलाई असर पारेको उनले बताए। ‘मनसुन प्रवेश गरेको सुरुका केहीदिन राम्रैसँग पानी प¥यो, तरपनि पहाडी भेगमा, मुल भने फुट्न पाएन,’ उनले भने, ‘टारीखेतमा रोपाइँ चल्न मुल फुट्नुपर्छ। अहिलेसम्म पनि मुल फुटेको छैन। पोखरामै पनि गर्मि अधिक र पानी कम भईसकेको छ।’ उनका अनुसार पहाडी भेगमा सबैतिर सिंचाई सुविधा नभएकोले रोपाइँको लागि पानीको नियमित श्रोत नै मुल फुट्नुपर्छ। तर, अहिले पहाडी भेगमा अझै पर्याप्त पानी परेको छैन।  

रेग्मीका अनुसार पोहोर रोपाइँका यो बेला किसानलाई रासायनिक मल अभाव थियो, बरु, पानी अभाव थिएन, तर, यो पटक रासायनिक मल अभाव छैन, पानीको अभाव छ। त्यसैले गर्दा रोपाइँ प्रभावित भएको उनले बताए। सिंचाइको कुलो लाग्ने ठाउँमा रोपाइँ चलिरहेपनि अन्यत्र भने अभाव रहेको उनले बताए।  

निर्देशनालयका अनुसार प्रदेशमा यो वर्ष ९७ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ। यो क्षेत्रफल पोहोर १ लाख ४ हजार ६ सय २३ हेक्टर थियो। अघिल्लो वर्ष धानखेतीका लागि छुट्याएको मध्ये ९७ प्रतिशत खेतमा रोपाइँ भएको थियो। यो पटक पनि केही ढिला भएपनि पोहोरकै हाराहारीमा धान रोपाइँ हुने अनुमान निर्देशनालयको छ।  

प्रदेशमा सबैभन्दा बढी नवलपुर जिल्लामा धेरै क्षेत्रफलमा धान खेती हुन्छ। नवलपुरमा मात्र १८ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ। त्यस्तै कास्कीमा १७ हजार २ सय ५३, स्याङजामा १५ हजार १ सय ४७, गोरखामा ११ हजार २ सय ६६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। लम्जुङमा ९ हजार ३ सय १, तनहुँमा ८ हजार ५ सय १७, पर्वतमा ७ हजार ७ सय ८४, बागलुङमा ५ हजार ८ सय ८३ र म्याग्दीमा ३ हजार ८ सय ८४ हेक्टर क्षेत्रफलमा मात्र धानखेती हुन्छ। प्रदेशमा धान फल्ने मध्ये सबैभन्दा कम क्षेत्रफल म्याग्दीमा छ।  

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले गतवर्ष प्रदेशभरीमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेको थियो। तर, जम्मा १ लाख ४ हजार ६ सय २३ हेक्टर क्षेत्रफलमा मात्र धान खेती भएको थियो। अनुमान गरे भन्दा कम क्षेत्रफलमा धान खेती हुँदा उत्पादनमा पनि असर परेको थियो। गण्डकी प्रदेशमा वर्षमा करिब साढे ३ लाख टन धान खेती हुने अनुमान भएपनि खेती हुने जग्गा घट्दै जान थालेपछि उत्पादनमा पनि असर पर्न थालेको पनि निर्देशनालयका रेग्मीले बताए।  

प्रकाशित: २४ असार २०८० १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App