१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आइतबार पोखरा महानगरको १३ औं नगर सभामा नीति तथा कार्यक्रम पास भएसँगै महानगर उपप्रमुख मन्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेकी हुन्।

सार्वजनिक गरिएको बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ, प्रदेश सरकारबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख व्यहोरिने उल्लेख छ।

महानगरले चालु आर्थिक वर्षको लागि ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ८४ हजार खर्च भई ४३ प्रतिशत प्रगति हासिल गरिएको उल्लेख गर्दै असार मसान्तसम्म ७० प्रतिशत खर्च हुने अनुमान महानगरपालिकाले गरेको छ।

महानगरले भौतिक पूर्वाधार, सहरी विकास, पर्यटन पूर्वाधार वातावरण लगायतका पूर्वाधार विकास कार्यक्रमका लागि २ अर्ब ७० करोड छुट्टाएको छ।

उपप्रमुख गुरुङले आइतबार बजेट वक्तव्य सार्वजनिक गर्दै आन्तरिक स्रोतबाट लक्ष्य प्राप्त गर्न नसकिएको उल्लेख गरिन। उनले ४ अर्ब ३० करोड १५ लाख ५२ हजार व्यहोर्ने अनुमान गरिए पनि हालसम्म १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ ९२ हजार संकलन भएको सार्वजनिक गरिन्।

उनले सार्वजनिक गरिएको बजेटबाट पोखरा पर्यटकीय पूर्वाधार विकास गर्ने, उत्पादनशील र व्यावसायिक कृषि प्रणालीको विकास गर्ने, समतामूलक र सन्तुलित पूर्वाधार निर्माण गर्ने, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन र प्रदूषण नियन्त्रण गर्ने, सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्ने संरक्षण गर्ने र उत्पादनशील उपयोग गर्ने, सभ्य, सुसंस्कृत र व्यवस्थित शहरीकरणको थालनी गर्ने, सामाजिक समावेशीकरण लैगिंक विकास र सहभागितामूलक विकासको माध्यमबाट समतापूर्ण समाजको निर्माण गर्ने, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा प्रदान गर्ने र नागरिकलाई महानगरका सेवा सुविधा सहज र शीघ्र उपलब्ध गराई जबाफदेही सार्वजनिक सेवाको प्रत्याभूति गर्ने उद्देश्य राखिएको सुनाईन्।

पर्यटन प्रवर्द्धन, हरित उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण र सम्बद्धन तथा फोहोर मैला व्यवस्थापन, स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धनमा बजेटको प्राथमिकता रहेको उपप्रमुख गुरुङले बत्ताइन्।

गण्डकी बहु प्राविधिक शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न ३ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ। स्वास्थ्य तर्फ महानगरले १६ करोड ५० लाख छुट्टाएको छ। वर्षायाम सुरु भएसँगै विपद्को न्यूनीकरण गर्न स्थानीय तहले विशेष ध्यान दिनुपर्ने आवाज उठ्दै आएको छ।

महानगरपालिकाले विपद् व्यवस्थापनको लागि रेपिड रेस्पोन्स टिमलाई २४ सैं घण्टा परिचालन गर्ने जनाएको छ। आकस्मिक सेवा लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ। विपद् व्यवस्थापन जोखिम बस्ती संरक्षण र पहिरो नियन्त्रण तथा निर्मित पूर्वाधार संरचना संरक्षण गर्न १ करोड विनियोजन गरिएको छ। महानगरमा स्रोत शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठान सम्बन्धित कार्यक्रमको लागि १८ करोड रुपैयाँ बजेट राखिएको छ।

पोखरा महानगरपालिकाले पोखरा ३३ मा जग्गा प्राप्तिको प्रक्रिया रहेको उल्लेख गर्दै अत्याधुनिक फोहोर मैला प्रशोधन केन्द्र निर्माण गरिने उल्लेख गरेको छ। पोखरा ३२ लामेआहालमा ल्याण्डफिल साइट सुधारको लागि आवश्यक बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले सुनाईन्।

महानगरले पूर्वाधार विकासको लागि ५४ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ। लामो समयदेखि चर्चा र चासोमा रहेको फिर्के खोलाको अतिक्रमण हटाई कोरिडोर निर्माण गर्ने योजना अघि सार्दै त्यसको लागि १ करोड ५० लाख छुट्टाइएको छ। फेवा फेरो पदमार्ग निर्माणको लागि ४० लाख रुपैयाँ बजेट छ।

प्रकाशित: १० असार २०८० १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App