५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

काठमाण्डौंमा ब्रान्डेड ‘लहानको आँप’

पूर्वपश्चि राजमार्गको लहान खण्डमा बिक्रीका लागि राखिएको आँप। तस्विरःमिथिलेश यादव

काठमाडौंमा लहानको आँप जति नामी छ त्यतिकै बदनाम पनि छ। लहानको गुलियो मालदह आँप भनेर अर्कै आँपबाट ठगिनेका लागि बदनाम छ भने लहानकै मालदहको स्वाद पाएकाहरु माझ लहानको आँप नामी छ।

लहानको आँप भनेर अर्कै ठाउँको बेच्ने, एउटा आँप भनेर अर्कै बेच्ने, विषादी प्रयोग गरिएको आँप बेचेर लहानको आँपलाई बदनाम गराउनेहरुलाई निरुत्साहित बनाएर अर्ग्यानिक लहानको आँपको प्रवर्द्धन गर्न लहान नगरपालिकाले कार्यक्रम संचालन गरेको छ। नगरपालिकाले लहानको आँपको ब्रान्डिङ्ग गरी पहिलो चरणमा काठमाडौं पठाउन सुरु गरेको छ। दोस्रो चरणमा पोखरा पठाउने तयारी छ।

गाउँ गाउँमा किसानले उत्पादन गरेको आँपलाई लहान नगरपालिकाले ब्रान्डिङ्ग,ग्रेडिङ्ग र प्याकेजिङ्ग गरी काठमाडौं पठाउन सुरु गरेको छ। आँपको हरेक प्याकेटमा ‘लहानको आँप’ भनेर ब्रान्डिङ्ग गरिएको छ।

बिहीबारदेखि आँप पठाउन सुरु भएको हो। यो वर्ष ९० हजार केजी आँप पठाउने लक्ष्य रहेको कृषि संयोजक बद्री नारायण चौधरीले जानकारी दिए। पहिलो लटमा ४ हजार प्याकेट पठाउन थालेका छ।

सरस्वती कृषि फार्मको साझेदारीमा यो सुरु भएको उनले बताए।

‘प्रतिकेजी प्याकेजिङ्गमा पाँच रुपैयाँ लागत हुँदैछ। त्यसमा नगरपालिका र कृषि फार्म पनि साझेदारी गरेको छ,’संयोजक चौधरीले भने,‘नेपालभरि नै आँपको राजधानीको रूपमा चिनिने लहानको आँपको बजार व्यवस्थित हुन नसक्दा लहानको प्रतिष्ठामा आँच आउने जोखिमलाई दूर गर्न आँपको बजार व्यवस्थापन गर्न लागेका छौँ।’

आँप बिक्रीको लागि लहान र काठमाडौंमा ‘लहानको आँप’को स्टल स्थापना गरेको छ। स्टलमा पाँच र दश किलोको आँप प्याकिङ गरी राखिने जनाएको छ। बमई, मालदह, दसहरी, आर्मपाली र कलकतिया आँपलाई अलग अलग प्याकेजिङ्ग गरी बिक्रीका लागि राखिएको छ।

व्यापारीहरुले विभिन्न विषादीको प्रयोग गरी पकाउने आँप स्वास्थ्यको लागि हानिकारक देखिएको चिकित्सकहरूको सुझाव समेत आएकाले व्यापारीहरू विषादी प्रयोग गरेको आँप बिक्री वितरण गर्न नपाउने गरी नीति अपनाउन सुरु गरिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले बताए।

लहानको आँपको विश्वसनीयतामा वृद्धि गर्ने उद्देश्ले यो कार्यक्रम सुरुवात गरेको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले बताए।

‘लहानको आँप भने वित्तिकै काठमाडौं पोखराजस्ता सहरमा ग्राहकहरू हुरुक्कै भएपनि समयभन्दा अगावै औषधिको प्रयोग गरेर व्यापारीहरूले गरिरहेको कमजोरी हटाउन नगरपालिकाले पहल थालेको छ,’आँपको खेती विस्तार गर्न यस वर्षपनि आँपको बिरुवा लगाउन अनुदानमा बिरुवा वितरण गरिएको छ।’

मेयर चौधरीका अनुसार अब काठमाडौँवासी आँपमा ठगिने छैनन्। ब्रान्डेड लहानको आँप किनेपछि ठगिने ठाउँ नै हुँदैन उनले भने। लहानका राकेश गुप्ता रोशनले भने, चिस्यान केन्द्र बनाएर दुई चार महिनासम्म आँप खाने व्यवस्था भए अझ व्यापक ब्रान्डिङ हुन्छ।’

अर्का स्थानीय सुनिलकुमार साहले लहान नगरपालिकाको यो सुरुवात राम्रो भएको बताउँदै आँपको रसको जुस बनाउने उद्योग स्थापना गर्नुपर्ने सुझाए।

प्रकाशित: ३२ जेष्ठ २०८० १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App