१९ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

बुटवलमा सुरु भयो लुम्बिनी केवलकार

प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार बुटवलमा निर्मित लुम्बिनी केवलकारको उद्घाटनपछि केबलकारमा यात्रा गर्दै। तस्बिर: नागरिक।

साढे तीन अर्बको लगानीमा बुटवलमा निर्माण गरिएको लुम्बिनी केवलकार संचालनमा आएको छ। 

केवलकारको बिहीबार एक कार्यक्रममा बिच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे। रुपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी निर्माण गरिएको  केबलकारको बटम स्टेसन बुटवल गोलपार्क बमघाटमा तम्रपत्र अनावरण गरी प्रधानमन्त्री दाहालले केबलकारको उद्घाटन गरे।

त्यस लगत्तै केबलकारको गोन्डुलामा लगाइएको रिबन काटेर प्रधानमन्त्री दाहालले केबलकारको औपचारिक सुरुवात गरेका थिए। केबलकारको तल्लो स्टेसन बुटवल उपमहानगरपालिकाको वडा नं. ३ स्थित बमघाटमा र माथिल्लो स्टेसन पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरमा छ।

माथिल्लो स्टेसन वसन्तपुरमा आयोजना गरिएको केबलकार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको बताए। प्रधानमन्त्री दाहालले निजी क्षेत्रको साथ सहयोग र सहकार्यबाटै देशको अर्थतन्त्रलाई चलायमान र सुदृढ बनाउने बताएका हुन। 

‘देशको अर्थतन्त्रलाई चलायमान बनाउने हरेक योजनामा सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ, हाल जारी भएको बजेटमा पनि निजी क्षेत्रका साथीहरुकै सुझावलाई समेटिएको छ’ प्रधानमन्त्री दाहालले भने। 

आफू प्रधानमन्त्री बन्दा दुर्घटनाको डिलमा पुग्न लागेको अर्थतन्त्र सरकारको प्रयत्न र निजी क्षेत्रको सहयोगले नै सुधारको बाटोमा पुगेको बताए।

‘विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरु बिच सहमति, सहकार्य कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव छैन भन्ने दृष्टान्तकालागि मेरो दोस्रो प्रधानमन्त्रीकाल नै पर्याप्त छ’ प्रधानमन्त्री दाहालले भने।

अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबार सुचारु गरिएको भन्दै उनले यसले अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

अर्थतन्त्रलाई चलायमान बनाउन भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्णसंचालनमा सरकारले विशेष ध्यान दिएको बताए। लुम्बिनी केबलकारको संचालनले पर्यटन क्षेत्रको प्रवर्द्धन र लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशका पर्यटकीय सम्भावनाहरुलाइ उजागर गर्न सके सिंगो मुलुक समृद्ध हुने बताए। लुम्बिनी केबलकार आयोजनाले १४ महिनामै ठुलो आयोजना सम्पन्न गरी विकास र समृद्धि सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको भन्दै प्रदेश प्रमुख शेरचनले सरकारी आयोजनामा हुने ढिला सुस्तीको समस्या समाधानमा विशेष ध्यान दिन सरकारलाई सुझाव दिए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले निजी क्षेत्रले गर्ने सबै लगानी र आयोजनाहरुलाइ प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने बताए। संघीयतालाइ युनिटका रुपमा नहेर्न सघीय सरकारलाई आग्रह गर्दै उनले संविधानले दिएको अधिकार प्रत्यायोजन गर्नु पर्नेमा जोड दिए।

पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सांसद विष्णु पौडेलले लुम्बिनी केबलकार आयोजनाबाट समग्र लुम्बिनीको पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए। देशको अर्थतन्त्र ठिक अवस्थामा नभएको भन्दै उनले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण संचालन गर्नु पर्ने, लुम्बिनी गुरुयोजना, बुटवल नारायणघाट सडक बिस्तार जस्ता ठुला र महत्त्वपूर्ण आयोजनाहरू समयमै सम्पन्न गर्ने तर्फ सरकारको ध्यान जानु पर्ने बताए।

भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री जगदम्बिका पालले नेपाल र भारतको सम्बन्ध सांस्कृतिक, धार्मिक र भावनात्मक रुपमा मजबुत रहेको बताए। लुम्बिनी केबलकार परियोजना मार्फत तयार भएको पर्यटकीय गन्तव्य उत्तर प्रदेशका जनताकालागि पनि नजिकको आकर्षक पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रतिनिधि सांसद ठाकुर गैह्रे, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण कुमार शर्मा, पाल्पाको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ लगायतले बोल्दै लुम्बिनी केबलकार परियोजना मार्फत पर्यटन क्षेत्रको विकास सँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

बुटवल र पाल्पालाई जोडेर नयाँ पर्यटकीय गन्तव्य बिस्तार गर्ने योजना अनुरूप केवलकार निर्माण गरिएको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। केबलकारले वसन्तपुरमा नयाँ धार्मिक पर्यटकीय गन्तव्य थपिने विश्वास व्यक्त गरे। आन्तरिक सँगै बाह्य तथा भारतको गोरखपुर, लखनउ लगायतका सहरका पर्यटकलाई वसन्तपुर नजिकको आकर्षक गन्तव्य बन्न सक्ने उनले बताए। बुटवललाई लुम्बिनी प्रदेशकै आर्थिक केन्द्रको रुपमा विकास गर्न यो परियोजना कोशेढुङ्गा साबित हुने दाबी ढकालले गरे।

आयोजनाका प्रोजेक्ट म्यानेजर गोकुल साउदले निर्माण सकेर सबै खालका प्राविधिक परीक्षण गरेपछि केबलकार संचालनमा ल्याइएको जानकारी दिए। केबलकार संचालनकालागि २०६० सालदेखि प्रक्रिया थालिएको भए पनि २०७७ सालमा शिलान्यास गरिएको हो। यो केबलकारको लम्बाइ २ दशमलव ६ किलोमिटर छ। उक्त दुरीको केबलकारकालागि ९ वटा टावर छन्। मोनोकेवल डिट्याचेबल सिस्टमका (डिब्बा) गोन्डुला २४ वटा छन्। प्रति गोन्डुला ८ जनाका दरले दैनिक ६ हजार यात्रु ओसार पसार गर्ने क्षमता केबलकारको रहेको प्रोजेक्ट म्यानेजर साउदले बताए। सरकारले यो केबलकार संचालनकालागि कम्पनीलाई ६ दशमलव २७ हेक्टर वन क्षेत्र २५ बर्षकालागि भोगाधिकार दिएको छ।

साढे ३ अर्बको लगानीमा संचालित आयोजनाको पहिलो चरणमा डेढ अर्बमा केबलकार लगायतका संरचना तयार भएको लुम्बिनी केबलकार प्रालिले जनाएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको केबलकार आयोजनाको पहिलो  चरणमा वसन्तपुरमा कामाख्या माईको मन्दिर, पार्क, वनभोज स्थल, बालउद्यानहरु, खाजाखानकालािग होटल रेष्टुरेन्ट, जिपलाइन, स्काइवाक, स्विमिङ पुल, पोखरी जस्ता पर्यटकीय संरचना केही तयार भइसकेका छन् भने केही निर्माणाधीन छन्। केबलकारको टपस्टेसन वसन्तपुरमा पाँच तारे होटल दोस्रो चरणमा निर्माण हुने प्रालिका अध्यक्ष ढकालले बताए।

तराइको उखरमाउलो गर्मीबाट दश मिनेटको समयमा केबलकार चढेर पुगिने पाल्पाको वसन्तपुर डाँडामा भने मौसम शीतल हुनुका साथै तराइ, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटककालागि आकर्षक गन्तव्य बन्ने विश्वास लिइएको छ। केबलकार संचालनले पर्यटक आगमन बढ्नुका साथै लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउन पनि सहयोगी भूमिका खेल्ने विश्वास प्रालिका अध्यक्ष ढकालले गरे। उनले लुम्बिनी आउने बाह्य पर्यटकको बसाइ लम्ब्याउन लुम्बिनी केबलकार मार्फत वसन्तपुर डाडाँलाइ उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउँदै पाल्पा, पोखरा सम्मको पर्यटन प्रवर्द्धनमा गर्न सकिने बताए।

एक साता अघि देखि नै संचालनमा ल्याइएको केबलकार बिहीबार देखि भने पूर्ण रुपमा संचालनमा आएको प्रालिले जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०८० १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App