२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

रिपब्लिक मिडियाको आइपिओमा आकर्षण

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको नेपाल रिपब्लिक मिडियाको आइपिओ बुधबार मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली र प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीको उपस्थितिमा बाँडफाँट गरिँदै। तस्बिर: नागरिक

काभ्रेपलाञ्चोकका विनोद त्रिपाठी यतिबेला युद्धरत युक्रेनको सीमा जोडिएको मुलुक रोमानियाको सुसेभामा कार्यरत छन्। विदेशमा रहँदा पनि नेपाली कम्पनीको सेयरमा उत्तिकै रुचि राख्ने उनले यसपटक नेपाल रिपब्लिक मिडिया लिमिटेडले जारी गरेको ‘आइपिओ’मा सहभागिता जनाए। वैदेशिक रोजगारमा रहेकाहरूका लागि छुट्याएको सेयरमा आफ्नो भाग पाएका उनले इमानदारीसाथ अगाडि बढ्ने हो भने मिडिया मुलुकको समृद्धिमा सारथि बन्ने विश्वास व्यक्त गरे।

‘मिडिया मुलुकको चौथो अंग पनि हो,’ उनले भने, ‘समाजलाई सही बाटो देखाउने विश्वासका साथ यो पवित्र अभियानमा जोडिएको हुँ।’

मुलुकमा रोजगारीको वातावरण बन्न नसक्दा बिदेसिनुपरेको बताउँदै त्रिपाठीले यसअघि दुबईमा पनि चार वर्ष बिताएको सुनाए। ‘दुबईबाट फर्केर आएपछि स्वदेशमै केही गरौं भन्ने विचार पनि नपलाएको होइन,’ उनले भने, ‘तर उपयुक्त वातावरण नपाउँदा फेरि बिदेसिन बाध्य भएँ।’

मुलुकले प्रगतिको बाटो लिए आफूहरूजस्ताले स्वदेशमै बस्न सक्ने उनले सुनाए। ‘अझै पनि आम जनतामा चेतनाको कमी भएको महसुस गरेका छौं,’ उनले भने, ‘मिडियाले त्यो चेतना बढाउने काममा योगदान पुर्‍याउनेछ भन्ने विश्वास लिएका छौ।’

–विनोद त्रिपाठी, रोमानिया

मिडिया मुलुकको चौथो अंग पनि हो। समाजलाई सही बाटो देखाउने विश्वासका साथ यो पवित्र अभियानमा जोडिएको हुँ।

–विनोद त्रिपाठी, रोमानिया

उनले जस्तै विश्वास लिएका छन्, चितवनका रेशम अधिकारीले पनि। पटकपटक गरेर १६ वर्षदेखि विदेशमा बस्दै आएका अधिकारी पनि नेपाल रिपब्लिक मिडिया लिमिटेडले जारी गरेको आइपिओ परेपछि खुसी छन्।

‘पहिलोपटक मिडियाको सेयर भर्ने मौका मिलेको थियो, आफ्नो भागमा पनि सेयर परेको जानकारी पाउँदा खुसी लाग्यो,’ उनले भने, ‘अब यस संस्थामा अपनत्व भएको महसुस भएको छ।’

सूर्यको किरणभन्दा पहिला मिडिया पुग्ने गरेको बताउँदै उनले अझै पनि मिडियाप्रति जनताको अपेक्षा रहेको उनले सुनाए। ‘हो, केहीका कारण थुप्रैलाई नराम्रो ढंगले हेर्ने गरिन्छ,’ उनले भने, ‘तर राम्रो मिडिया भनेको समाजको ऐना हो।’

समाजको यही ऐनाको सानो भए पनि आफू हिस्सा हुन पाइएकोमा उनले खुसी व्यक्त गरे। ‘मलाई त यता विदेशमै केही कित्ता सेयर पर्‍यो,’ उनले भने, ‘अब नेपालमा रहेका परिवारले पनि आइपिओ भर्नेछन्।’

‘पहिलोपटक मिडियाको सेयर भर्ने मौका मिलेको थियो, आफ्नो भागमा पनि सेयर परेको जानकारी पाउँदा खुसी लाग्यो,’ उनले भने, ‘अब यस संस्थामा अपनत्व भएको महसुस भएको छ।’

बाराका अनिल गुप्ताले पनि बहराइनबाट आइपिओ भरेको र परेको बारामा रहेका उनका भाइ सुनिल गुप्ताले बताए। ‘दाइले आफूलाई आइपिओ परेको खबर सुनाउनुभएको छ,’ उनले भने, ‘अब हामी परिवारका तीनजनाले नेपालबाट भर्नेछौं।’

भोलिदेखि सर्वसाधारणलाई आइपिओ

रिपब्लिक मिडियाले सर्वसाधारणलाई जेठ २६ देखि आइपिओ निष्कासन गर्ने जनाएको छ। कम्पनीको जारी पुँजी ९६ करोड ७६ लाख रूपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रूपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने कार्यक्रमअन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र कर्मचारीका लागि निष्कासन गरिएको थियो।

सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता आइपिओ कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ६५० कित्ता आइपिओ सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

रिपब्लिक मिडियाले सर्वसाधारणलाई जेठ २६ देखि आइपिओ निष्कासन गर्ने जनाएको छ।

सर्वसाधारणलाई जेठ २६ गतेबाट ३५ लाख २५ हजार ९३० कित्ता आइपिओ निष्कासन गर्न लागेको छ। आवेदकले जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

जेठ ३० गतेसम्म मागअनुसार आवेदन नपरे असार ८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ। सेयर लगानीकर्ताले रिपब्लिक मिडियाको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित: २५ जेष्ठ २०८० ००:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App