७ वैशाख २०८१ शुक्रबार
अर्थ

ड्रागन बोट रेसका लागि चीनबाट आठवटा डुंगा ल्याइयो

पोखरा फेवातालमा बुधबार चीनबाट ल्याएको ड्रागन बोटको परीक्षण गरिँदै। तस्बिरः नागरिक

पोखरामा आयोजना हुने ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ का लागि आठवटा डुंगा चीनबाटै ल्याइएका छन्। पोखरा ल्याइएका ती डुंगाको बुधबार फेवातालमा परीक्षण संचालन पनि गरिएको थियो। आगामि असार ८ र ९ गते पोखरामा यो फेस्टिभल आयोजना हुँदैछ।  

पोखरामा पहिलोपटक नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल आयोजना गर्न थालिएको हो। बढी भन्दा बढी चिनियाँ पाहुना भित्र्याउने लक्ष्य सहित ड्रागन बोटरेस फेस्टिभल आयोजना गर्न थालेको आयोजकले बताएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल गर्न थालिएको हो। उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद (पिटिसी) र नेपाल–चीन ओभरसीज एशोसिएसन सहआयोजक रहेका छन।  

सहआयोजक पिटिसीका अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार आठवटा ती डुंगामा चिनियाँ र नेपाली चालकहरु राखेर फेवातालमा बोट रेस प्रतियोगिता संचालन गरिनेछ। ‘चारवटामा चिनियाँ र चारवटामा नेपालीको समुह हुन्छ। चिनियाँ र नेपाली चालकहरुलाई तालिम नै दिएर प्रतिश्पर्धामा सहभागि गराउने हो,’ उनले भने, ‘प्रतिश्पर्धीहरुलाई चिनियाँले नै तालिम दिनेछन्।’ फेवातालमा प्रतिश्पर्धा हुनेछ। पाँचसय मिटर र एकहजार मिटरमा दुईदिनसम्म प्रतिश्प्र्धा हुने उनले बताए। क्याम्पिङचोकबाट प्रतिश्पर्धा सुरु हुनेछ।

प्रतिश्पर्धामा रमाउनका लागि २३० जना चिनियाँ पाहुना त्यही बेला पोखरा आउने तयारी रहेको पनि श्रेष्ठले बताए। दुइवटा जहाज चार्टर गरेर १३० जनाको दरले २६० जना चिनियाँ पाहुना पोखरा आउने उनले बताए। फेस्टिभल हेर्नका लागि असार ६ गते ती पाहुना आउने उनले बताए। प्रतिश्पर्धामा भागलिने सहभागिहरु भने केहीदिन अघि नै आउनेछन्। उनका अनुसार चिनियाँ पाहुना ल्याउनका लागि सिचुआन एयरलाइन्सले छेङदु–पोखरा चार्टर्ड उडान गर्ने तयारी पनि गरेको छ।  

त्यसबाहेक चीनका विभिन्न तीनवटा सहरका मेयर पनि त्यही अवसर पारेर पोखरा आउने तयारी भएको पनि उनले बताए। ‘पोखराको प्रवद्र्धन गर्ने यो एउटा गतिलो अवसर हामीले पाएका छौ  यो कार्यक्रममार्फत पोखराको चीनमा प्रवद्र्धन हुनेछ,’ उनले भने, ‘यसै पनि चिनियाँ पाहुनाले पोखरालाई रुचाउँछन। त्यसैमाथि उनीहरुकै कार्यक्रम आयोजना गर्दा चिनियाँ पाहुना आउने बाटो खुल्नेछ।’  

होटलमा छुट

फेस्टिभलको अवसर पारेर चार्टर्ड उडानमार्फत पोखरा ओर्लेका चिनियाँ पाहुनालाई यहाँका होटलका कोठामा ५० र रेस्टुरेन्टमा १५ प्रतिशत छुट दिने तयारी रहेको पनि परिषद् अध्यक्ष श्रेष्ठले बताए। त्यसका लागि परिषद्ले भिन्दै कार्ड बनाउनेछ। छुट पाउनका लागि परिषद्ले तोकेको होटलमा पाहुना बस्नुपर्नेछ, ती पाहुनालाई परिषद्ले छुट कार्ड दिनेछ। त्यस्तै रेस्टुरेन्ट पनि तोकिएका हुनेछन्। ‘होटल  कोठाको मूल्यमा ५० र रेस्टुरेन्टमा १५ प्रतिशत छुट दिइनेछ,’ उनले भने, ‘आगामि दिनमा थप चिनियाँ पाहुनालाई पोखरा भिœयाउने बाटो खोल्ने क्रममा यो छुट दिएर आकर्षण बढाएका हौ।’  

कोभिड संक्रमण सुरु भएपछि आफ्ना नागरिकलाई घुमघाममा रोक लगाउँदै आएको चीनले गत मार्च १५ देखि लागु हुनेगरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो।  त्यसअघि चीनले आफ्ना नागरिकलाई घुम्न जान पाउने २० मुलुकभित्र नेपाललाई समेटेको थिएन। तर, दोश्रोपटक सूँची प्रकाशित गर्दै नेपाललाई पनि लिष्टमा अटाएको थियो। त्यसपछि बल्ल चिनियाँ पर्यटकको नेपाल आगमनमा केही सुधार देखिँदै गएको व्यावसायीले बताएका छन्।  

गत मे महिनामा मात्र नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या ४ हजार ६ सय ६७ रहेको छ। यो आगमन आगामि दिनमा बढ्दै जाने अपेक्षा पर्यटन व्यावसायीको छ। नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने मुलुकको तेश्रो नम्बरमा चीन रहेको छ। निनियाँ पाहुना लक्षित गरेर पोखरामा विभिन्न पूर्वाधार पनि व्यावसायीले बनाएका छन्।

प्रकाशित: २४ जेष्ठ २०८० १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App