नेपालमा महिलाको तुलनामा ३७ प्रतिशत पुरुषले सुर्ती सेवन गर्ने गरेको पाइएको छ। ४१.८ पुरुषले सुर्ती सेवन गरेका छन् भने ५.१ प्रतिशत महिलाले मात्र सुर्ती सेवन गर्छन्। यो हिसाबमा महिलाको तुलनामा नौ गुणा बढी पुरुषले सुर्ती सेवन गरेको देखिन्छ।
उक्त तथ्यांक राष्ट्रिय केन्द्रीय तथ्यांक कार्यालयको पछिल्लो सर्वेक्षणले औंल्याएको हो। विभागले सोमबार प्रतिवेदनको सारांश सार्वजनिक गरेको छ। नेपाल बहुसूचक सर्वेक्षण ०८१/०८२ (सन् २०२४/२०२५) ले महिला तथा बालबालिकाको बहुपक्षीय सूचक तयार गरेको हो। पछिल्लो प्रतिवेदन चौथो सर्वेक्षण हो।
तथ्यांक अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिला तथा पुरुषहरूले सर्वेक्षणभन्दा अघि कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो। ७.६ पुरुष र २.१ महिलाले पन्ध्र वर्षअघि नै कुनै न कुनै रूपमा सुर्ती सेवन गरेको पाइएको छ।
राष्ट्रिय जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा ११ प्रतिशत महिला र ४२ प्रतिशत पुरुषले सुर्ती सेवन गर्ने गरेको तथ्यांक छ। यी दुई तथ्यांक हेर्दा पनि महिलाको घटेको र पुरुषको उस्तै रहेको देखिन्छ। पहिला पनि सुर्ती सेवनकर्ता पुरुष नै बढी थिए। यो पालि भने महिलाको अघिल्लो संख्याभन्दा करिब ६ प्रतिशत घटेको देखिन्छ।
अहिलेको स्थिति हेर्दा नेपालमा प्राप्त तथ्यांकभन्दा बढी पुरुषले सुर्ती सेवन गरेको हुन सक्ने नेपाल विकास तथा अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता जय गुरुङ बताउँछन्। महिलाको तुलनामा पुरुषले बढी सुर्ती सेवन गर्ने चलन पहिलादेखि नै रहेको र यतिका वर्षपछि सुधार आउन नसक्नु जनस्वास्थ्यका लागि चिन्ताको विषय बनेको उनले बताए। ‘धुमपान गरेको छ भने संगै धुमपान नगर्ने महिलालाई पनि त्यसको असर पर्छ, पुरुषले धुमपान गर्नु भनेको महिलाले पनि गर्नु सरह हो,’ उनले भने।
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि नेपालले लामो समयदेखि अभियान चलाए पनि कानुनी कार्यान्वयनमा गैरजिम्मेवार हुनुको परिणाम प्रयोगकर्ता नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी भक्तबहादुर केसी बताउँछन्। उनका अनुसार नेपाल संघीयतामा गएपछि सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको जिम्मेवारी प्रदेश र स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गरेको भए पनि सो अनुसार कार्यान्वयन हुन नसकेकोले समस्या यथावत रहेको उनको तर्क छ।
केसी भन्छन्, ‘स्थानीय सरकार अन्तर्गत प्रशासकीय प्रमुखले निरीक्षक अधिकारी तोक्ने जिम्मेवारी दिइएको छ, सो अनुसार काम भएको देखिँदैन।’ अर्कोतिर चियापसल र रेष्टुराँ जस्ता ठाउँमा समेत सुर्ती सेवन गर्दा सामाजिक प्रतिवाद नदेखिएकाले पनि घट्न नसकेको उनको तर्क छ।
नेपालभर पाँच सय ४० वटा क्लस्टर मध्येमा तीन सय ४ क्लस्टर र ग्रामीण क्षेत्रबाट दुई सय ३६ क्लस्टर तथ्यांकीय विधिबाट छनौट गरिएको हो। हरेक क्लस्टरबाट गणनामा २४ वटा परिवारबाट छानिएका छन्। छानिएका मध्ये १२ हजार ९ सय ६० परिवारबाट पारिवारिक विवरण संकलन गरिएको थियो। जसमा प्रत्येक परिवारमा भएका १५ देखि ४९ वर्ष उमेर समूहका महिला–पुरुष र ५ देखि ७ वर्षका बालबालिका र १५ देखि २४ वर्ष उमेर समूहका किशोरीको मानसिक स्वास्थ्य सम्बन्धी वितरण पनि संकलन गरिएको थियो।
प्रकाशित: २६ माघ २०८२ १९:२९ सोमबार





