१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रिय ग्रिडमा ४९२ मेगावाट बिजुली थपियो

चालु आर्थिक वर्ष सकिन डेढ महिना बाँकी छँदै करिब ५ सय मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको जेठको पहिलो सातासम्ममा जलविद्युत् आयोजना र सोलार प्लान्टबाट ४९२.१६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। चालु आवमा ४०४.०५४ मेगावाट क्षमताका जलविद्युत् तथा सोलार प्लान्टले व्यावसायिक बिजुली उत्पादन गर्दै आइरहेका छन्। ८८.१६ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना भने परीक्षण प्रसारणकै क्रममा रहेका छन्। जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा जडान भएको १५ दिनसम्मको अवधिलाई परीक्षण प्रसारण गर्ने गरिन्छ।

चालु आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी रहँदा २८.८ मेगावाट क्षमताका सोलारप्लान्टबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ। प्राधिकरणले चालु आवमा ८ सय ११ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थपिने प्रक्षेपण गरेको थियो तर लक्ष्य अनुसार बिजुली थप नहुने देखिएको छ। प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको ८ सय ११ मेगावाट बिजुली नै थप नभए पनि समग्रमा ५ सय मेगावाटकै हाराहारीमा बिजुली थप भइसकेको बताए।  

‘चालु आर्थिक वर्षमा जलविद्युत् र सोलार प्लान्टबाट करिव ५ सय मेगावाट क्षमताको हाराहारीमा राष्ट्रिय ग्रिडमा जडान भइसकेको छ,’उनले भने ‘यसलाई पनि उपलब्धिकै रूपमा हेर्नुपर्ने हुन्छ।’ प्रवक्ता भट्टराईले चालु आवमा निजीक्षेत्रबाट निर्माण गरिएको सोलु दुधकोसी जलविद्युत् आयोजनाबाट ८६ मेगावाट बिजुली थप भएको बताए। ‘यो वर्ष निजीक्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर धमाधम थपिने क्रम जारी छ,’ उनले भने, ‘चालु आव सकिन अझै डेढ महिना बाँकी रहेकाले अन्य जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर बिजुली थप हुने सम्भावना कायमै छ।’ अझै पनि केही मेगावाट बिजुली थप हुने सम्भावना भने कायमै छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जलविद्युत् आयोजना र सोलार प्लान्ट गरी २७ वटा आयोजनाबाट ४ सय ९२ मेगावाट मात्रै बिजुली थप भएको हो। चालु आवमा सानाठूला जलविद्युत् र सोलारप्लान्टबाट २७ वटा आयोजना निर्माण सम्पन्न भएर बिजुली राष्ट्रिय ग्रिडमा जडान भएका हुन्।  

प्राधिकरणका अनुसार सिमरा सोलार प्रोजेक्टबाट एक मेगावाट, ग्रिड कनेक्टेड सोलार आयोजनाबाट ५ मेगावाट, दोर्दीखोला जलविद्युत् आयोजनाबाट २७ मेगावाट, चेपेखोला लघुवित्त आयोजनाबाट ८.६३ मेगावाट, दोर्दीखोला खोला १ जलविद्युत् आयोजनाबाट १२ मेगावाट बिजुली गत असोज मसान्तसम्मको अवधिमा राष्ट्रिय ग्रिडमा जोडिएको छ। प्राधिकरणका अनुसार साइती खोला जलविद्युत् आयोजनाबाट ०.९९ मेगावाट, सोम राधाकृष्ण सोलार फर्मबाट ४ मेगावाट, तल्लो लिखु जलविद्युत् आयोजनाबाट २८.१ मेगावाट, माथिल्लो बलेफी जलविद्युत् आयोजनाबाट ३६ मेगावाट, पुवा खोला २ जलविद्युत् आयोजनाबाट ४.९६ मेगावाट, माथिल्लो दोर्दी १ जलविद्युत् आयोजनाबाट २५ मेगावाट, मिडल मोदी जलविद्युत् आयोजनाबाट १५.१ मेगावाट, मिड सोलु खोला जलविद्युत् आयोजनाबाट ९.५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाडिएको छ।  

त्यसैगरी कलंगाढ जलविद्युत् आयोजनाबाट १५.३३ मेगावाट, सानीगढ जलविद्युत् आयोजनाबाट ३८.४६ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ। सोलु दुधकोशी जलविद्युत् आयोजनाबाट ८६ मेगावाट, अपर माछा खोला स्मल जलविद्युत् आयोजनाबाट पनि ४.५५ मेगावाट बिजुली जडान भएको छ। त्यसैगरी अपर पिलुवाखोला २ बाट पनि ४.७२ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ। मार्किगढ जलविद्युत् आयोजनाबाट पनि १० मेगावाट बिजुली, सुपरमोदी जलविद्युत् आयोजनाबाट ४४ मेगावाट, रुकुमगढ जलविद्युत् आयोजनाबाट ५ मेगावाट बिजुली जडान भएको छ।

ग्रिड कनेक्टेड सोलार प्रोजेक्ट मोरङबाट ६.८ मेगावाट र ग्रिड कनेक्टेड सोलार प्रोजेक्ट नवलपरासीबाट भने २ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ। त्यसैगरी सोलार पिभि प्रोेजेक्ट बाँकेबाट भने १० मेगावाट बिजुली जडान भएको छ। प्राधिकरणका अनुसार माया खोला जलविद्युत् आयोजनाबाट १४.९ मेगावाट,गाउँघर उज्यालो साना जलविद्युत् आयोजनाबाट उत्पादन भएको ०.९७ मेगावाट र सुपरदोर्दी ख जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली ५४ मेगावाट र सुपर सोलु जलविद्युत् आयोजनाबाट १८.२३ मेगावाट बिजुली अहिले परीक्षण प्रसारणको क्रममा रहेका छन्।

प्रकाशित: १८ जेष्ठ २०८० ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App