८ वैशाख २०८१ शनिबार
अर्थ

पाटा सम्मेलनः विश्वव्यापी आर्थिक मन्दी पर्यटनको सर्वत्र चिन्ता

पोखरामा सुरु भएको पाटा सम्मेलन। तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको विश्वको पर्यटन क्षेत्र कता जाने भन्ने सर्वत्र चिन्ता छ। पोखरामा सुरु भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्टमा पनि अबको पर्यटन कता जाने भन्नेमा सरोकारवालाबीच वहस भएको छ।  

सम्मेलनमा सहभागि विज्ञहरुका अनुसार पर्यटन क्षेत्रले आर्थिक मन्दीको गम्भिर मार खेप्नुपरेको छ। विज्ञहरुका अनुसार महंगीका कारण पर्यटकहरु घुमघाममा जान नसकेको, खर्चमा कटौती गरेको, छोटो दूरीको यात्रामा मात्र निस्कन थालेका छन्। सम्मेलनमा सहभागि पोखराका पर्यटन व्यावसायी तथा पाटा इन्टरनेशनल सदस्य टिकाराम सापकोटाका अनुसार विश्वको आर्थिक मन्दीले पर्यटनमा असर पारेको छ।

‘आथिक मन्दिको प्रभाव अहिले पर्यटनमा पारेको भन्ने सबैतिरको चिन्ता रहेको विज्ञहरुले बताएका छन,’ विज्ञहरुको भनाई उद्घृत गर्दै सापकोटाले भने, ‘कोभिड पछिको पर्यटन खुम्चिदै गएको छ। त्यसो हुनुमा आर्थिक मन्दी प्रमुख रहेको भन्ने विज्ञहरुको निष्कर्ष छ।’

उनका अनुसार पछिल्लो समय विश्वव्यापी रुपमा बैंकको ब्याजदर बढेकोले त्यसको असर पर्यटनमा परेको पनि विज्ञहरुले जानकारि दिएका छन  ‘सबैतिरको मूल्य वृद्धि बढेको छ। सबैतिर महंगी हुँदा यात्रा कम भएको छ भन्ने विज्ञहरुको निष्कर्ष छ,’ सापकोटाले भने, ‘इन्धनको मुल्य बढ्दा हवाई भाडा बढेको गुनासो पनि विज्ञहरुले सम्मेलनमा सुनाए।’ त्यत्ति मात्र नभई पर्यटकहरु लामो दूरीको नभई छोटो दूरीमा मात्र घुमघाममा जान थालेको पनि विज्ञहरुले सम्मेलनमा बताएका छन्।

 ‘लामो दूरीको यात्रा कम हुन थालेको छ। पर्यटकहरु छोटो दूरी वा छिमेकी मुलुकमा मात्र घुम्न जान थालेका छन भन्ने विज्ञहरुको भनाई छ,’ उनले भने, ‘त्यसो हुनुमा पर्यटन क्षेत्रमा महंगिको असर हो भन्ने बुझाई छ।’

उनका अनुसार २०२४ को मार्च महिनासम्म पर्यटन क्षेत्र कोरोना भन्दा अघिको अवस्थामा फर्किने अनुमान पनि विज्ञहरुले सम्मेलनमा सुनाएका थि । अहिलेसम्म ९० प्रतिशत जति मात्र रिकभर भएको भन्ने अनुमान रहेको उनले बताए। ‘कोभिड अघिको पर्यटनको अवस्थामा अहिले ९० प्रतिशत रिकभर भएको विज्ञहरुको भनाई छ। सतप्रतिशत सुधार आउन २०२४ को मार्च कुर्नुपर्ने अवस्थाको आँकलन गरिएको छ,’ उनले भने।  

उनका अनुसार सम्मेलनमा पर्यटनका जानकारहरुले युवापुस्तामा घुमघामको चलन बढेको पनि बताएका थिए। त्यस्तै आन्तरिक पर्यटन फस्टाउँदो रहेको पनि उनीहरुको भनाई छ। त्यत्ति मात्र नभई कोभिडले गर्दा मान्छेको घुमघामको संस्कारमा पनि परिवर्तन आएको छ। कोभिड अघि पर्यटकहरु ठुलो ठुलो समुहमा हिड्थे, तर, अहिले भने व्यक्तिगत रुपमा वा सानो समुहमा हिड्न थालेको पनि विज्ञहरुले बताएका छन्। त्यस्तै बजारीकरणमा पनि शैली परिवर्तन भएको विज्ञहरुको बुझाइ छ  ‘डिजिटल बजारीकरण बढेको भन्ने विज्ञहरुको भनाई छ,’ उनले भने, ‘बजारीकरणको पहिलेको शैलीमा परिवर्तन आउनुमा कोभिड कारण रहेको छ।’

चिनियाँ पर्यटकको सबैतिर महत्व रहेको पनि सम्मेलनमा चर्चा भएको छ। श्रोत ठुलो रहेकोले चिनियाँ पाहुनातिर सबैजसो मुलुकको ध्यान पुगेको बारे पनि विज्ञहरुले सम्मेलनमा छलफल गरेका थिए। त्यसबाहेक  भारत र चीनमा कसरी बजारीकरण गर्ने तरिकाबारे पनि सम्मेलनमा छलफलको विषय बनेको सापकोटाको भनाई छ।  

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीका अनुसार सम्मेलनमा दीगो पर्यटनबारे पनि गम्भिर रुपमा छलफल भएको छ। स्थानीय श्रोत साधनलाई प्रयोग गरेमा पर्यटन दीगो बनाउन सकिने विज्ञहरुको तर्क रहेको पन्थीले जानकारी दिए। त्यसबाहेक आर्थिक मन्दिका कारण पर्यटकहरुले घुमघामको अवधि घटाउने, खर्च कटौती गर्न थालेको बारेमा पनि विज्ञहरुले चिन्ता जनाएको पन्थीले बताए। ‘आर्थिक मन्दी सबैतिरको चिन्ताको विषय छ। यसले पर्यटनमा पनि प्रभाव पारेको भन्ने विज्ञहरुको बुझाई छ,’ पन्थीले भने, ‘हामी पनि त्यही मन्दीको शिकार बनिसकेका छौ।’

पर्यटनलाई दियो बनाउन सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको पनि विज्ञहरुले सम्मेलनमा सुझाएका छन। ‘भईरहेको जनशक्तिलाई यही पेशामा टिकाईरहन उनीहरुको क्षमता वृद्धि गर्न जरुरी रहेको भन्ने विज्ञको सुझाव छ,’ उनले भने, ‘दीगो पर्यटनका लागि पर्यटकीय गन्तव्यको पहिचान गर्नुपर्ने र स्थानीय पर्यटन संघसंथासँग सहकार्य गर्न पनि विज्ञहरुले जोड दिएका छन्।’  

पर्यटनका प्राध्यापक प्रकाश रेग्मीका अनुसार पछिल्लो समय पर्यटकहरुले गन्तव्य परिवर्तन गर्न थालेको विषयले सम्मेलनमा महत्व पाएको छ। ‘पहिलेका गन्तव्य छाडेर कोभिडपछि पर्यटकहरु नयाँ गन्तव्यमा जान थालेको भन्ने बारे विज्ञहरुको बुझाई छ,’ रेग्मीले भने, ‘पुराना गन्तव्यले अब पर्यटक बढाउन थप मेहनत गर्नुपर्ने उनीहरुको बुझाई छ।’ त्यस्तै विभिन्न यूरोपियन मुलुकमा भएको युद्ध र हवाई भाडा वृद्धिका कारण पर्यटनको बजार एशियाली मुलुकतिर मोडिएको पनि विज्ञको भनाई छ। एशियाली मुलुकतिर मोडिएको पर्यटनलाई अवसरको रुपमा लिन सक्नुपर्ने पनि विज्ञहरुले बताएको रेग्मीले जानकारी दिए। त्यसबाहेक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को वृद्धिले पनि पर्यटनमा नयाँ अवसर सिर्जना गरेको विज्ञको बुझाई छ। नेपालका दूर दराजका प्रडक्टलाई अन्तर्राष्ट्रिय बजारमा लैजान एआईको प्रयोग गर्न सकिने पनि विज्ञहरुले सुझाएका छन।  

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को मुख्य आयोजना एवं पोखरा पर्यटन परिषद् (पीटीसी)को संयोजनमा सुरु भएको सम्मेलन शुक्रबारसम्म चल्नेछ। नेपालमा पहिलोपटक आयोजना भएको यो सम्मेलनले कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सघाउने अपेक्षा गरिएको छ। सम्मेलनमा विभिन्न २१ देशका अतिथि सहभाग छन। विज्ञ, क्रेता र बिक्रेता सहित करिब दुईसय पचास जना भन्दा बढि पाहुना यो सम्मेलनमा सहभागि रहेको पर्यटन बोर्डले बताएको छ। मार्टको मंगलबार बेलुकी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए।  

पाटा इन्टरनेसनलका सचिव सुमन पाण्डेले पाटा इन्टरनेशनले नेपालको समग्र पर्यटन विकासमा लामो समय देखि सहयोग गर्दै आइरहेको बताउँदै यो कार्यक्रमका माध्यमबाट पनि कोभिडपछि सुस्ताएको पर्यटनलाई चलायमान बनाउन, दिगो पर्यटन विकासमा सहयोग पुग्ने धारणा राखे। पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्ययहरु बीच हुने छलफल तथा अन्तरक्रिया सहितको  पाटा मार्टले पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको बताए।  

प्रकाशित: १७ जेष्ठ २०८० १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App