४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रको माग

उद्योग संगठन मोरङको ५० औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित पदाधिकारी । पदस्थापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत नवनिर्वाचित पदाधिकारी । तस्बिर: चुमन बस्नेत/नागरिक

खस्किँदै गएको  अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रले माग गरेको छ । शनिबार विराटनगरमा आयोजित उद्योग संगठन मोरङको पदस्थापन कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले अर्थतन्त्र उकास्ने बजेट ल्याउन सरकारलाई आग्रह गरेका हुन् । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले  कोरोना महामारी, रुस युक्रेन युद्धका कारण भएको विश्वव्यापी आर्थिक मन्दी लगायतका कारण खस्किँदै गएको अर्थतन्त्रलाई  उकास्ने किसिमको बजेट ल्याउन  सरकारलाई आग्रह गरे । उनले नेपाली अर्थतन्त्रलाई अस्थिर राजनीतिले पनि प्रभावित बनाएको धारणा राखे ।‘सरकार बनाउने र गिराउने खेलले पनि नेपालको अर्थतन्त्र प्रभावित बनाएको छ’ ढकालले भने‘ अर्थतन्त्र ध्वस्त भइसके पनि सरकारले अर्थतन्त्र उकास्ने नीति तथा कार्यक्रम ल्याउन सकेन । 

’ ढकालले नीति कार्यक्रमका कमी कमजोरीलाई सुधार गर्दै बजेटमा अर्थतन्त्र उकास्ने कार्यक्रमलाई जोड दिन सरकारलाई आग्रह गरे । नेपाल  उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानले सरकारले उद्योग व्यापार गर्न निजी क्षेत्रलाई जिम्मा दिएको बताए पनि वेला –वेला हस्तक्षेप गरेर निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको गुनासो गरे । प्रधानले सरकारले ७ वटै प्रदेशमा बिजुलीको पोल बनाउने उद्योग खोलेर निजी क्षेत्रका देशभरका एक सय बढी उद्योगहरू बन्द हुने अवस्थामा पु¥याएको बताए । उनले भने‘सरकारले व्यापार गर्ने काम निजी क्षेत्रको भन्ने गरे पनि व्यवहारमा निजी क्षेत्रको काममा हस्तक्षेप गरी निजी क्षेत्रले सञ्चालन गरिरहेका उद्योग व्यवसाय नै बन्द हुने अवस्थामा पु¥याउने गरेको छ ।’ 

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष भीम घिमिरेले बैंक, बिमालगायत चर्को व्याज र  सिन्डिकेट लादेर  उद्योगी व्यवसायीहरूलाई प्रताडित बनाइरहे पनि सरकारले ध्यान दिन नसकेको गुनासो गरे । उनले भने‘ बैंकले चर्को व्याज लिएको छ, वीमाले सिन्डिकेट लादेर उद्योगी व्यवसायीलाई प्रताडित पारेका छन् । तर, सरकारले बैंक र विमाले उद्योगी व्यवसायीलाई गरिरहेको  अत्याचार कम गर्न कुनै भूमिका निर्वाह गरिहरेको छैन । ’ 

उद्योग संगठन मोरङका नव निर्वाचित अध्यक्ष राकेश सुरानाले आर्थिक मन्दीको चपेटामा परेको अर्थतन्त्रलाई उकास्ने बजेट ल्याउन सरकारसँग माग  गरे । उनले आर्थिक मन्दीको चपेटामा परेको निजी क्षेत्रलाई राहत दिने कार्यक्रम बजेटमा समावेश गर्न  सरकारलाई आग्रह गरे । सुरानाले आफूले मुख्यतया चार वटा विषयलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिए । उर्जा व्यवस्थापनको पहललाई पहिलो प्राथमिकता राखेका सुरानाले वित्तीय व्यवस्था पनि सहजीकरण , औद्योगिक पूर्वाधार विकास र प्रक्रियागत सरलीकरणलाई आफ्रैनो कार्यकालको मुख्य एजेण्डाका रुपमा लिने  बताए ।  

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रको साथमा रहेको बताए । उद्योग व्यवसाय क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार आफ्नो अधिकार क्षेत्र  भित्र रहेर स्थानीय र संघ सरकारसँग समन्वय गर्न सँधै तत्पर रहने मुख्यमन्त्री कार्कीले  स्पष्ट पारे । मुख्यमन्त्री कार्कीले  विराटनगरका उद्योगी व्यवसायीले बषौंदेखि उठाउँदै आएका मुद्दाहरूका विषयमा आफू जानकार रहेको र ती मुद्दाहरूको सम्बोधनका लागि प्रदेश सरकारका तर्फबाट पहल गर्ने स्पष्ट  पारे । कार्कीले भने‘प्रदेश सरकारले समाधान गर्ने विषय यहीँबाट समाधान हुन्छ र संघ सरकारबाट समाधान हुने विषयमा पनि प्रदेश सरकारले संघ सरकारलाई पहल गर्नेछ ।’

 कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले भएका उद्योगीलाई संरक्षण गर्न नसके उद्योग क्षेत्रमा नयाँ उद्यमीहरू प्रवेश नगर्ने बताए । उनले भएका उद्योगको संरक्षण गर्ने र नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको स्पष्ट पारे  । सिटौलालले प्रदेश सरकारले  कृषिलाई उत्पादनसँग, उद्योगलाई प्रशोधनसँग र सहकारीलाई वितरणसँग जोड्ने नीतिगत व्यवस्था गर्ने जानकारी  दिए । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उर्जा सङ्कट, बैङ्किङ समस्यालगायतका समस्या र विश्वव्यापी आर्थिक मन्दीमा पनि उद्योग सञ्चालन गरिरहेकोमा उद्योगीहरूको प्रशंसा गरे । कोइरालाले सुनसरीको अवरडुवा स्थित औद्योगिक क्षेत्र, रिङ रोड निर्माण, औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि बजेटको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरे  । कार्यक्रममा उद्योग संगठन मोरङका नव निर्वाचित अध्यक्षलाई  निर्वाचन समिति संयोजक सूर्य विमलीले पद तथा गोपनीयताको  सपथ गराएका थिए । यस्तै अन्य पदाधिकारीहरूलाई नव निर्वाचित अध्यक्ष राकेश सुरानाले  पद तथा गोपनीयताको सपथ गराएका थिए । 

प्रकाशित: १३ जेष्ठ २०८० १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App