८ वैशाख २०८१ शनिबार
अर्थ

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलता कार्यक्रम

फाइल स्केच

वैदेशिक रोजगारबाट फर्किएका नेपालीका लागि सातै प्रदेशका ८१ पालिकाहरूमा पुनः एकीकरण सम्बन्धी उद्यमशीलता र तालिम रफ्तारमा भइरहेको छ। यसले विदेशमा पसिना बगाएर फर्किएका नेपाली कामदारलाई रोजगारी तथा उद्यमशीलता प्रवद्र्धन कार्यमा जोडेको छ। नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई देशमै पुनः एकीकरण गर्न चालु आर्थिक वर्षमा यो कार्यक्रम सञ्चालन गरेको हो।  

वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप, पुँजी र प्रविधिलाई राष्ट्रहितका लागि नागरिकको पुनः एकीकरण गर्ने उद्देश्यले उक्त कार्य सञ्चालन भएको बोर्डका शाखा अधिकृत नरबहादुर चन्दले बताए।

वैदेशिक रोजगारबाट फर्किएका नेपालीका लागि सातै प्रदेशका ८१ पालिकाहरूमा पुनः एकीकरण सम्बन्धी उद्यमशीलता र तालिम रफ्तारमा भइरहेको छ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न पालिकासँग लागत साझेदारी गरी पुनः एकीकरण गर्न थालिएको बोर्डले जनाएको छ। वैदेशिक रोजगारीका लागि नेपालको कुनकुन जिल्लाबाट बढी मात्रामा युवा वर्ग विदेश जाने गरेका छन्, त्यस जिल्लाको पालिकाहरूमा पुनः एकीकरण गर्न छनोट गरी उद्यमशीलता र तालिम दिँदै गरेको बोर्डले जानकारी दिएको छ।

पुनः एकीकरण कार्यक्रम बागमती प्रदेशका २१ पालिका रहेको बोर्डले सञ्चालन गरेको छ। त्यस्तै मधेस प्रदेशका १६ पालिका, कोसी प्रदेशका १३, गण्डकी प्रदेशका १४, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका गरी १८ पालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन गरेको शाखा अधिकृत चन्दले बताए।

विदेशमा आर्जन गरेको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभव आफ्नै माटोमा प्रयोग गर्ने योजना सरकारको छ। उनीहरूलाई सरकारले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गरी एकल वा समूहमा राखेर उद्यममूलक कार्यक्रम सञ्चालन गरेको बोर्डले बताएको छ।

नवीनतम ज्ञान र सीपमा आधारित व्यवसाय स्थापना र सञ्चालनका लागि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई अनुदान र सहुलियत व्याजदरमा उद्यमी कर्जा प्रवाह गर्ने चन्दले जानकारी गराए।

विदेशमा आर्जन गरेको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभव आफ्नै माटोमा प्रयोग गर्ने योजना सरकारको छ।

उनीहरूले उत्पादन गरेका वस्तु वा सेवालाई प्रदर्शनी वा बिक्री-वितरणका लागि औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा प्राथमिकता प्रदान गरिने योजना सरकारको छ।

पुनः एकीकरण कार्यक्रमका लागि वैदेशिक रोजगारीबाट फर्किएका तीन हजार युवा लाभान्वित हुने बोर्डले जनाएको छ। वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्षमा रु. १५ करोड २५ लाख पुनः एकीकरण कार्यक्रमका लागि छुट्याएको छ।

त्यसरी छुट्याइएको रकम विभिन्न पालिकामा पठाइसकिएको गरिसकिएको बोर्डले जानकारी दिएको छ।

वैदेशिक रोजगारीबाट फर्केकालाई समाजमा अन्तर्घुलन गराउन पारिवारिक तथा सामाजिक मेलमिलाप, मनोसामाजिक परामर्श, नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण तथा स्वयंसेवक परिचालन जस्ता कार्यक्रम पनि भइरहेको शाखा अधिकृत चन्दले बताए।

पुनः एकीकरण कार्यक्रमका लागि वैदेशिक रोजगारीबाट फर्किएका तीन हजार युवा लाभान्वित हुने बोर्डले जनाएको छ।

उनीहरूलाई रोजगारीमा आबद्ध गराउन बोर्डले सीप परीक्षण तथा प्रमाणीकरण गर्ने, श्रम बजारको आवश्यकताका आधारमा व्यावसायिक र व्यवस्थापकीय सीपमूलक तालिम प्रदान गर्ने कार्य गरिरहेको छ। परम्परागत रूपमा सञ्चालित पेशाको आधुनिकीकरण तथा बजारको माग र व्यक्तिको क्षमता अनुसार रोजगारीको व्यवस्थापनमा सहजीकरण गर्ने बोर्डले बताएको छ।

वैदेशिक रोजगारबाट सीप र पुँजी लिएर वा समस्यामा परेर फर्कनेहरूका लागि पुनः एकीकरण कार्यक्रम निकै महत्वपूर्ण भएको बोर्डका कार्यकारी अधिकारीहरूले बताएका छन्। 

प्रकाशित: १२ जेष्ठ २०८० ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App