४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

२ सय ४० जनालाई उद्यमशिलता तालिम दिँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले २ सय ४० जनालाई विभिन्न सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यावसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० क्षेत्रका २ सय ४० जनालाई सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्न लागिएको हो।  

उद्यमशिलता तालिमका लागि छनौट भएका सहभागीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र स्वरोजगार सिर्जना गर्दै उद्यमशिलता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए।  

‘महानगरपालिका भित्र स्वरोजगार सिर्जना गर्ने, तालिमका विभिन्न अवसर जुटाउने, तालिम पश्चात आवश्यक प्राविधिक सहयोग गर्ने, आवश्यक परेको  खण्डमा ‘स्टार्टअपमा बीउ पूँजी’ पनि दिने लगायतका काममा महानगरले सहयोग गर्नेछ,’ प्रमुख आचार्यले भने, ‘लक्ष्य प्राप्त गर्नका लागि लगनशिलता र धैर्यता भने हुनुपर्नेछ।’ सानो लगानीबाट पनि व्यवसायिक सफलताको लामो यात्रा पुरा गर्न सकिने भन्दै प्रमुख आचार्यले आफूले आर्जन गरेको ज्ञानको व्यवहारिक उपयोगमा जोड दिए।  

जागिरे मानसिकताले व्यक्तिको जीवनमा सार्थक परिवर्तन ल्याउन नसक्ने भन्दै स्वरोजगार सहितको उद्यमी बन्ने सपना देख्नु आवश्यक रहेको मेयर आचार्यको भनाई छ। ‘सुरुमा जागिर खानु स्वाभाविक हुन सक्ला तर, जीवनभर जागिरले मात्र हुँदैन, आफूले सिकेको सीपको उपयोग गर्दै उद्यमी बन्ने सोच राख्नु पर्छ,’ उनले भने, ‘व्यवसाय गर्नका लागि ठुलो रकम चाहिन्छ भन्ने हुँदैन, तर व्यक्तिमा इमान्दारिता भने अवश्य चाहिन्छ । जहाँ पारदर्शिता पनि चाहिन्छ र धैर्यताको आँट पनि गर्नुपर्छ।’ तालिमलाई केवल प्रमाणपत्रमा मात्र सीमित गर्न नहुने उनले बताए। दक्ष जनशक्ति उत्पादन गर्ने महानगरको उद्देश्यमा केन्द्रित तालिमले सम्बन्धित क्षेत्रका विषय विज्ञद्वारा तालिम प्रदान  गरिने महानगरले बताएको छ।  

पोखरा महानगरपालिका–१७ की अध्यक्ष राधिकाकुमारी शाही योगीले तालिमले सहभागीलाई व्यवसायिक जीवनको ठोस आकार दिने बताईन। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले व्यक्तिको जीवनमा ज्ञान, सिप र क्षमतामा आधारित कर्म आवश्यक हुने भन्दै सहभागीले महानगरपालिकाको उद्देश्य अनुरुप तालिमलाई व्यवहारिक र प्रभावकारी बनाउनुपर्ने बताए।

व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीका अनुसार पञ्चेबाजा बजाउने, सिलाइकटाई, ब्यूटी पार्लर, मन्टेश्वरी, सुनचाँदी गहना निर्माण, भाषा तालिम, एसी जडान, कुक, प्लम्बिङ लगायत रहेका छन्। विभिन्न संघ संस्थासँगको समन्वय तथा महानगरपालिकाको लगानीमा यी तालिम सञ्चालन गर्न लागिएको अधिकारीले बताए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र गण्डकी बहुप्राविधिक शिक्षालयको पाठ्यक्रममा आधारित १६० घण्टा देखी ३९० घण्टासम्मका तालिम हुनेछन्।

प्रकाशित: २ जेष्ठ २०८० ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App