२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

उदयपुरमा घरेलु उद्यमी बढ्दै, ९ महिनामा ३ सय ६५ नयाँ उद्योग दर्ता

केही दिन अघि अनुगमनमा आएका प्रदेश मन्त्री र सचिवसँग कर्मचारीहरु। तस्विरः महेश्वर

घरेलु तथा साना उद्योग कार्यालय उदयपुरमा चालु वर्षको ९ महिना अवधिमा ३ सय ६५ घरेलु उद्योग व्यवसायिक फर्म थपिएका छन्। घरेलु कार्यालयका अनुसार गएको साउनदेखि चैत मसान्तसम्ममा उद्योगतर्फ २ सय २१ वटा नयाँ साना उद्योग दर्ता भएका छन् भने बाणिज्यतर्फ १ सय १४ वटा व्यवसायिक फर्म दर्ता भएका छन्।

कार्यालयले उद्योग दर्ता, नवीकरण र खारेजीबाटै चालुवर्षको हालसम्म ४० लाख राजश्व संकलन गरिसकेको छ। यो अंक गतवर्षभन्दा ११ लाख कमी हो। पछिल्ला केही वर्षयता सरकारले लघु उद्यम तथा घरेलु तथा साना उद्योग तथा व्यवसाय गर्न स्थानीयतह र घरेलुमा अनिवार्य दर्ता गरेर कर कार्यालयबाट स्थायी लेखा नं. (पान) र मूल्य अभिबृद्धि कर (भ्याट) लिनुपर्ने प्रावधान ल्याएको छ। बैंक तथा बित्तीय संस्थाहरुबाट ऋण लिन तथा राज्यले तोकेको कुनै पनि नगद वा यन्त्र उपकरण अनुदान लिन पनि कम्तीमा पान दर्ता अनिवार्य भएकाले घरेलुमा उद्योग व्यवसायको संख्या बढ्दै ग्एको हो।

घरेलुका कार्यालय प्रमुख नरेन्द्र पराजुलीले बिगत वर्षहरुभन्दा पछिल्ला वर्ष घरेलुमा उद्योग व्यवसायको संख्या बढ्दो रहेको तथा राजश्व पनि सोही अनुरुप बृद्धि हुँदै गएको बताए। अहिले जिल्लाका ८ वटा स्थानीयतहहरु रहेको र सबैमा घरेलु तथा साना उद्योगहरु दर्ता हुने क्रम बढिरहेको पराजुली बताउँछन्। स्थानीयतहमा दर्ता भएर आएका उद्योग व्यवसायिक फर्मलाई घरेलुले निश्चित रकम राजश्व लिएर दर्ता, नवीकरण तथा खारेज गर्ने गरेको उनले बताए।

सोही बमोजिम चालु वर्षका साउनयता घरेलुमा ३९ लाख ८१ हजार १ सय ३ रुपैँया राजश्व संकलन भईसकेको छ। यो अंक गतवर्षको दाँजोमा ११ लाख कम भएको कार्यालयका सूचना अधिकारी पार्थराज गौतमले बताए। आर्थिक वर्ष अन्तिम नजिकिदै गर्दा अघिल्ला महिनाको दाँजोमा चैतमा राजश्व संकलन दर बढेको पनि उनले बताए। साउनदेखि फागुनसम्मको ९ महिनामा ३० लाख ८३ हजार २ सय १ रुपैँया राजश्व संकलन गरेको घरेलुले चैतमा मात्र ८ लाख ९७ हजार ९ सय उठाएको छ।

गौतमका अनुसार घरेलुको राजश्व संकलनको मूख्य स्रोत साना उद्योग तथा (बाणिज्य) व्यवसाय दर्ता, नवीकरण र खारेजी नै हो। हाल घरेलुमा उद्योग ४ हजार ९ सय ४८ दर्ता तथा नवीकरण भएका छन् भने बाणिज्यतर्फ ३ हजार ७ सय १२ व्यवसायिक फर्महरु अद्यावधिक रहेको गौतमले बताए। उनका अनु्सार चैतमा मात्र घरेलुले चालु वर्ष ३६ वटा फर्महरु खारेज गरेको छ। जसमा उद्योग १९ वटा र बाणिज्यतर्फ १७ वटा रहेका छन्।

प्रकाशित: २७ वैशाख २०८० ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App