coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखराः विमानस्थलसँगै होटल त ठडिए, तर अन्तर्राष्ट्रिय उडान सुरु भएन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको चारमहिना कटिसकेको छ। पोखराका पर्यटन व्यावसायीले अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको पहिलो दिन (२०२३ जनवरी १) देखि नै पोखराबाट कुनै एउटा गन्तव्यसम्म अन्तर्राष्ट्रिय उडान होस भन्ने चाहेका थिए।  

पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म सिधा हवाई सञ्जालले जोड्दै विदेशी पाहुनालाई सिधै पोखरा ओराल्ने व्यावसायीको चाहना थियो। तर, विमानस्थल संचालनमा आएको चारमहिना नाघिसक्दासम्म अन्तर्राष्ट्रिय उडानको कुनै टुंगो नलाग्दा व्यावसायी चिन्तित छन्। अन्तर्राष्ट्रिय उडान त परैको कुरा, यो सिजनका लागि पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि कसैले स्वीकृति समेत नलिँदा व्यावसायी खिन्न छन्। व्यावसायी भन्छन, ‘पोखरालाई चाहिएको अन्तर्राष्ट्रिय उडान हो, तर, विमानस्थललाई आन्तरिक उडानमै सिमित राखियो।’

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि व्यावसायीले पर्यटन क्षेत्रमा लगानी बढाउन थालेका थिए। विमानस्थल संचालनमा आउने बेलासम्म व्यावसायीले लगानी बढाईसकेका थिए। केहीले मर्मतसम्भारमा पनि ठुलो आकारमा रकम खर्चेका थिए। तर, अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको छेकछन्द नपाउँदा व्यावसायी निराश छन्।  

‘अन्तर्राष्ट्रिय उडानको टुंगो नलाग्दा पोखरा खुसी छैन। विमानस्थल बन्न थालेपछि लगानी बढाएका व्यावसायी अहिले दुखि छन,’ सुवेदीले भने, ‘हाम्रो चाहना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानका लागि मात्र उपयोग नहोस भन्ने थियो, तर, अन्तर्राष्ट्रिय उडानको तत्कालै पहल कतै भएको देखिन्न। यसले लगानी थपेका व्यावसायीलाई निराश बनाएको छ।’ पोखरामा सिधै विदेशी पाहुना ओराल्ने पोखराको चाहना पुरा नभएसम्म विमानस्थलले अर्थ नदिने उनले बताए।

‘व्यावसायिक संघसंस्थाले ताकेता नगरेका पनि होइनन्, नागरिक उड्डयन प्राधिकरण (क्यान) देखि प्रधानमन्त्री र विभिन्न देशका राजदून पनि गुहारेका छौ। तर, तत्कालै पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने कुनै छेकछन्द देखिएको छैन,’ उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरिकमै सिमित गर्ने संभावना देखिएको छ।’ विमानस्थलले बनाएको आशा अहिले निराशामा परिणत भएको उनले बताए।

व्यावसायीले नियमित नभएपनि चार्टर उडानका लागि पनि प्रयास गर्नका लागि विभिन्न निकाय धाएकोधायै गरेको उनले बताए। ‘चिनियाँ पर्यटक भिœयाउनका लागि अहिले चिनको विभिन्न सहरसम्म काठमाडौंबाट चार्टर उडान भईरहेको छ। हामीले त्यही चार्टर उडानलाई कम्तिमा पनि पोखरासम्म जोडिदिनुप¥यो भनेका छौ, तरपनि त्यसमा उचित पहल भएको पाएनौ,’ उनले भने।  

विमानस्थल निर्माणाधिन अवस्थामा रहँदा कोरोना भाइरस संक्रमणले सताउँदा पनि व्यावसायी उत्तिसारो निराश थिएनन, किनकी भाइरस संक्रमण कमजोर हुँदासम्म पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म सिधा हवाई उडानमार्फत जोड्न सक्नेमा उनीहरु आशावादी थिए। तर, अहिले त्यो आशा हराएको पनि उनले बताए। ‘कोरोनाले सताउँदा पनि व्यावसायी बिमानस्थलका कारण आशावादी थिए, त्यही अनुसार लगानी पनि बढाईरहेका थिए। तर,अहिले त्यो आशा पनि निराशामा परिणत हुन थालेको छ,’ उनले भने।  

व्यावसायीले अन्तर्राष्ट्रिय उडानका लागि गरेको पहल उपलब्धिमूलक नहुँदा व्यावसायी नै थाकेजस्तो हुन थालेको उनले बताए। ‘अन्तर्राष्ट्रिय उडान कहिले भन्ने नै भएन। आशाको त्यान्द्रो नै देखिएन,’ उनले भने, ‘अनाहकमा लगानी गरेको जस्तो गुनासो व्यावसायीले गरेका छन्। पोखरामा सिधै अन्तर्राष्ट्रिय उडानमार्फत पाहुना ओराल्ने चाहना पुरा हुने अवस्था देखिन्न।’ अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुँदाको तामझामका बेला निकै नै अपेक्षा व्यावसायीले गरेपनि त्यसपछि सबैजसो सरोकारवाला निकाय सुस्ताएको उनले बताए।

पोखरामा यतिबेला करोडौं लगानीमा होटलहरु निर्माण भईरहेका छन्। तीमध्ये कतिपय होटल विमानस्थल निर्माण थालिएसँगै बनाउन थालिएका थिए। कोरोना भाइरस संक्रमण सुरु हुनुभन्दा ६ महिना अघि मात्र होटल बनाउन थालेका व्यावसायी दोर्जे लामाले आगामि महिना होटल संचालनमा ल्याउँदैछन्। 

‘होटल त तयार भयो, तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने कुनै संकेत नै देखिएको छैन, यसले हामी लगानीकर्तालाई दुखि बनाएको छ,’ लामाले भने, ‘हुन त अन्तर्राष्ट्रिय उडान सुरु गर्न अरु तातेर हुँदैन, पोखरा नै तात्नुपर्छ । तरपनि सरकारले पहल नगर्दा व्यावसायीको प्रयास मात्र अपर्याप्त भएको अनुभव भएको छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि सम्बन्धित निकायले कम चाँसो दिएको उनले बताए। ‘विमानस्थलकै कारण अर्बाैको लगानी पर्यटन क्षेत्रमा थपिएको हो। कोरोना संक्रमण अप्ठेरो आउनेबारे कसैलाई पनि थाहा थिएन, तर, विमानस्थल बन्न थालेको देखेरै हामीले लगानी बढाएका हौ,’ उनले भने, ‘कोरोना सकियो, अन्तर्राष्ट्रिय विमानस्थल तयार पनि भयो, हाम्रा होटल पनि ठडिए। तर, उडान सुरु भएन। यसले चिन्तित तुल्याएको छ।’ पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म हवाई उडानमार्फत जोड्नका लागि अझै दवाव आवश्यक परेको उनले बताए ।

आन्तरिक उडानमा मात्र सिमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कहिले र कुन हवाई कम्पनिले अन्तर्राष्ट्रिय उडान भर्छन भन्ने पनि अहिलेसम्म यकिन छैन। पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत बाह्य गन्तव्यमा जोड्नका लागि हवाई रुट देखि गन्तव्य पहिचानसम्मका समस्या रहेको सरकारी पदाधिकारीले बताउँदै आएका छन्। भारतसँग हवाइ रुट माग्नका लागि कुटनीतिक रुपमा पहल गरिरहेको सरकारले बताउँदै पनि आएको छ।  

पोखराका पर्यटन व्यावसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुँदाका दिनदेखि नै अन्तर्राष्ट्रिय उडान सुरु हुनेमा आशावादी भएपनि चारमहिना बित्दासम्म कतै संकेत नपाएको बताउँछन्। ‘आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान पनि तत्काल सुरु हुनेमा आशावादी थियौ। तर, त्यो हुन सकेन। व्यावसायी चिन्तित छन्। यसप्रति राज्य गम्भिर हुनुपर्छ,’ श्रेष्ठ भन्छन, ‘ठोस पहल पनि कतै भएको देखिन्न। यसले लगानीकर्तालाई निराशाको बाटोमा लगेको छ।’

अन्तर्राष्ट्रिय हवाई कम्पनिले नचाहेपनि ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजमार्फत पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म जोड्नेगरि उडान गर्न सक्ने भएपनि त्यो पहल पनि नभएको उनले बताए। ‘व्यावसायीले गर्नुसम्मको पहल गरेका छन्। तर, सरकारकै पहल भएको देखिन्न। सरकारले चाहेमा केहि हुन्थ्यो, तर, सुरुवात नै भएन।’ नेपाल एयरलाईन्सले उडान थाल्ने हो भने विदेशी एयरलाइन्सलाई पनि पोखरासम्म आउनका लागि बाटो खुल्ने भएपनि त्यसका लागि समेत सरकारी निकाय सुस्ताएको उनले बताए।

‘अन्तर्राष्ट्रिय उडानका लागि ठोस काम भएको छैन। हामीले धेरै पहल ग¥यौ, अनुरोध गर्न बाँकी कतै छैन। तर, परिणाम आएन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान कहिलेबाट भन्ने प्रश्नको जवाफ कसैसँग छैन। किनकी त्यसको आधार्र देखिन्न।’ विमानस्थल बन्न थालेपछि लगानी बढाएका व्यावसायी बीचमा कोरोना संक्रमण हुँदा पनि विमानस्थलकै कारण आशावादी रहेकोमा अहिले उडान नहुँदा उनीहरुमा निराशापन बढेको श्रेष्ठले बताए।  

प्रकाशित: २४ वैशाख २०८० १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App