पोखरा महानगरपालिका–११ कालिखोला देखी काँहुकोटसम्म पुग्नेगरि कालिखोला–काँहुकोट अर्ग्यानिक पदमार्ग निर्माण गरिने भएको छ।
पोखरा भित्रिएका स्वदेशी तथा विदेशी पर्यटकलाई अर्ग्यानिक पदमार्गमा लगेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरे।
कालिखोलादेखी काँहुकोटसम्म झन्डै दुइकिलोमिटर दूरीको अर्ग्यानिक पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताए। ‘पोखरा आसपासमा थुप्रै पदमार्ग छन्, ती पदमार्गलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ,’ आचार्यले भने, ‘छोटो दूरीका पुराना पदमार्गको मर्मतसम्भार गर्नुपर्ने छ। नयाँ पदमार्ग निर्माण पनि गर्नु पनि आजको आवश्यकता हो।’ अब निर्माण गरिने पदमार्गहरु स्थानीय स्तरका विशेषता झल्कने र पहिचान सहितका हुने भएकोले ती पदमार्गलाई अर्ग्यानिक पदमार्ग नामाकरण गरेको उनले बताए।
‘हामी नाम मात्रको अर्ग्यानिक पदमार्ग बनाउन चाहेका होइनौ, यो पदमार्गमा पदयात्राका क्रममा साँच्चै नै अर्ग्यानिक उत्पादनको स्वाद लिन पनि पाइनेछ,’ उनले भने। पोखरा बजार क्षेत्रमा घुम्न आउने पर्यटकलाई काँहुकोेटसम्म पदयात्रा मार्फत उकाल्नका लागि कालिखोला–काहुँकोट उपयुक्त हुने उनले बताए। छोटो दूरीको पदमार्ग भएकोले ‘मर्निङ र इभिनिङ वाक’मा जानेका लागि पनि यो पदमार्ग सरल र सहज हुने उनले बताए।
पोखराको प्राकृतिक भ्यु टावरका रुपमा रहेको काहुँकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले महत्त्वपूर्ण योगदान दिने उनले बताए। पोखरा सहर नियाल्न र हिमाली शृङ्खला अवलोकनका लागि काँहुकोट चर्चित गन्तव्य हो। काहुँबाट पोखरा सहर स्पष्ट देख्न सकिन्छ भने त्यहाँको जंगलमा फूल्ने लालीगुराँसले पनि पाहुनालाई तान्ने गरेको छ।
पदमार्ग निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा स्थानीय कटिङ डुंगा बिछ्याइनेछ। ६ इन्च अग्ला ४ हजार सिढी निर्माण गरिने उनले बताए। पदमार्गको ठाउँ ठाउँमा कफिसप सहित बिश्रामस्थल पनि बनाईनेछ। चार ठाउँमा कफिसप सहितका विश्राम स्थल रहने उनले बताए । त्यसबाहेक विभिन्न दश वटा भ्यु प्वाइन्ट पनि निर्माण गरिनेछन। दश फिट चौडाइको पदमार्गलाई दुुईभागमा छुट्याउने गरि रेलिङ र दायाँबायाँ तारबारले घेरीने उनले बताए।
ठाडै उकालो यो पदमार्ग पुरा गर्न १ घण्टा १५ मिनेट लाग्ने उनले बताए। पदमार्गको सुरुवाती बिन्दु कालिखोलामा प्राकृतिक पौडी पनि पोखरी निर्माण गरिने छ। पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन भई काम भइरहेको पदमार्गको पहिलो खण्डको काम २०८० सालभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
पदमार्ग निर्माण समितिका सचिव कुमार क्षेत्रीका अनुसार पदमार्ग बनाउन पर्यटन बोर्डले १५ लाख, गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ, पोखरा महानगरपालिकाले ३ लाख ७५ हजार रुपैयाँ दिएको छ। त्यस्तै जनसहभागिताबाट एकलाख ६६ हजार रुपैयाँ संकलन गरि ३० लाख रुपैयाँ बढी लगानीमा पहिलो चरणको सडक बनाउन थालिएको उनले बताए।
उनका अनुसार यो पदमार्ग पुरा गर्न सबैगरि ३ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। तर, सबै बजेट नभएकोले पहिलो वर्ष झन्डै ५ सय सिँढी निर्माण हुने उनले बताए। आगामी वर्षदेखि बजेट मागेर अरू काम गर्ने उनले बताए। उनका अनुसार अहिले पनि यहाँ ट्र्याक त छ। तर, अलि साँघुरो छ। यसलाई फराकिलो र व्यवस्थित बनाउने प्रयास गरिएको हो। यो पदमार्ग मणिपाल अस्पतालको छेउबाट उकालो लाग्ने गरि बनाइनेछ। सामुदायिक वनको क्षेत्र र सार्वजनिक जग्गा हुँदै पदमार्ग तयार हुने उनले बताए।
उनका अनुसार अहिले पदमार्गमा हिउँदमा मात्र हिँड्न मिल्छ। वर्षामा हिँडडुल सहज हुँदैन। सडक अप्ठेरो र दायाँबायाँ झाडि रहेकोले पदयात्रामा सहज नभएको उनले बताए। ‘चाहेर पनि पाहुना काँहु उक्लिन सकेका थिएनन्। मोटरबाटो त छ। तर, बिहान बेलुकी हिँडडुलका लागि पदमार्गले सहज बनाउनेछ,’ उनले भने, ‘पर्यटकलाई भुलाउने ठाउँको रुपमा काँहुकोट हुनेछ।’ पोखराका आएका पाहुनालाई पदमार्गबाट उकालेर काँहु पुर्याउने योजना रहेको उनले बताए।
प्रकाशित: २१ वैशाख २०८० १०:३२ बिहीबार