४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अप्रिलको पर्यटक आगमनः चिनियाँ पाहुनाको आगमन ह्वात्तै बढ्यो

तीनमहिनामा तीनलाख बढी पाहुना भित्रिए

केहीदिन अघि पोखरा आएका चिनियाँ पर्यटक। तस्बिर:नागरिक

पछिल्लो महिना नेपालमा चिनियाँ पर्यटकको आगमनमा ह्वात्तै सुधार देखिएको छ। अप्रिल महिनामा मात्र नेपालमा ४ हजार ७ सय ७० जना चिनियाँ पर्यटक भित्रिएका छन्। हवाई मार्गबाट महिनाभरमा झन्डै एकलाख जना विदेशी पाहुना भित्रिँदा चिनियाँको आगमनमा भने ब्यापक सुधार देखिएको पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार अप्रिल महिनामा नेपालमा ९८ हजार ७ सय ७३ जना विदेशी पाहुना भित्रिएका छन्।  

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार गत जनवरीमा नेपालमा जम्मा १४ सय ३६ जना चिनियाँ पाहुना भित्रिएका थिए। त्यो आकार फेब्रुअरी महिनामा २२ सय ६६ थियो। मार्चमा भने त्यो आकारमा २६ सय ३५ थियो। तर, अप्रिलमा भने ४ हजार ७ सय ७० जना पाहुना भित्रिएर नेपालमा बढी विदेशी पाहुना भित्रिने दश मूलूकभित्र चीन चौथो नम्बरमा परेको छ। नेपालमा पछिल्लो चार महिनामा मात्र भित्रिने विदेशी पाहुनाको संख्या ३ लाख २६ हजार ५ सय २८ पुगेको छ।  

‘चिनियाँ पर्यटकको आगमनमा यो महिना निकै नै राम्रो सुधार भएको छ। यसले पर्यटन क्षेत्रलाई निकै नै आशावादी तुल्याएको छ,’ लामिछानेले भने, ‘चिनियाँ पर्यटक भित्रिने हो भने पर्यटन क्षेत्रलाई बल पुग्नेछ। नेपालको पर्यटन क्षेत्रले चिनियाँ पाहुनाको आगमनलाई पर्खेको छ। पछिल्लो समय समूहगत रुपमा पनि चिनियाँ पाहुना भित्रिन थालेका छन्।’ लामो समय रोकिएका चिनियाँ पाहुना घुमघाममा निस्कन लागेको उनले बताए। त्यसको लाभ नेपालले समेत पाउने उनले बताए।  

गत मार्च १५ देखि लागु हुनेगरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। त्यसअघि चीनले आफ्ना नागरिकलाई घुम्न जान पाउने २० मुलुकभित्र नेपाललाई समेटेको थिएन। तर, दोश्रोपटक सूँची प्रकाशित गर्दै नेपाललाई पनि लिष्टमा अटायो। त्यसपछि बल्ल चिनियाँ पर्यटकको नेपाल आगमनमा केही सुधार देखिँदै गएको व्यावसायीले बताएका छन्।  

पर्यटन व्यावसायीका अनुसार चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। यही सिजनको मुखैमा चीनले आफ्ना नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा नेपाललाई पारेको थियो। त्यसपछि चिनियाँको आगमनको आकार बढ्दै गएको व्यवसायीले बताएका छन्। कोरोना भाईरस संक्रमण सुरु भएपछि चिनियाँ पर्यटकको घुमघाम रोकिएको थियो। कोरोना मत्थर भएपछि बल्ल चीनले आफ्ना नागरिकको घुमघाम खुकुलो बनाएको थियो।  

पर्यटन व्यावसायीले चिनियाँ पर्यटक भिœयाउने पहल गरिदिन अनुरोध गर्दै नेपालस्थित चिनियाँ दूतावासमार्फत ध्यानाकर्षण समेत गराउँदै आएका थिए। त्यत्तिमात्र नभई पोखरेली पर्यटन व्यावसायीले त चिनियाँ पाहुनालाई नेपाल भिœयाउन सहयोग पुग्ने भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चिनियाँ सहरसम्म जोड्नेगरि सिधा हवाई उडान संचालनको पहल गरिदिन आग्रह पनि गर्दै आएका छन्।  

नेपालमा अघिल्लो महिना (मार्च)मा ९९ हजार ४ सय २६ जना विदेशी पाहुना भित्रिएका थिए। अप्रिलको आगमन संख्या अघिल्लो महिनाभन्दा केही कम भएपनि यसलाई सुधारकै निरन्तरता भन्न मिल्ने बोर्डका निर्देशक लामिछानेले बताए। किनकी नेपालमा कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटक आगमन ह्वात्तै तल ओर्लेको थियो। संक्रमण कमजोर हुँदै जाँदा आगमनमा सुधार भएर यो आकारमा पाहुना आएको उनले बताए। सन् २०२२ को अप्रिलमा नेपालमा ६१ हजार ५ सय ८९ जना विदेशी आएका थिए। 

कोरोना संक्रमणका त्रासका कारण त्यो संख्या २०२१ को अप्रिलमा जम्मा २२ हजार ७ सय ३२ थियो। सबैभन्दा कम २०२० को अप्रिलको आगमन जम्मा १४ थियो। २०२० को अप्रिल नै नेपालमा सबैभन्दा कम संख्यामा विदेशी पाहुना भित्रिएको महिना थियो। त्यो संख्या २०१९ को अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ थियो। ‘सबैभन्दा बढी पाहुना आएको वर्ष २०१९ को अप्रिलको तुलनामा २०२३ को अप्रिलको आगमनमा ९० प्रतिशत सुधार भएको छ,’ लामिछानेले भने, ‘यो निकै नै सुधार मान्नुपर्छ।’

अप्रिलमा पाहुना भित्रिने उत्कृष्ट १० मुलुक

अप्रिल महिनामा नेपाल भित्रिएका पर्यटक मध्ये सबैभन्दा बढी भारतीय पाहुना छन्। भारतबाट अप्रिल महिनामा ३१ हजार ४ सय ३७ जना पाहुना नेपाल भित्रिएका छन्। दोश्रो नम्बरमा अमेरिकी पाहुनाको संख्या ८४ सय १३ रहेको छ। तेश्रोमा बेलायतका ५४ सय ९, चौथोमा चिनियाँ ४७ सय ७०, पाँचौमा अस्ट्रेलियाका ३८ सय २८ जना पाहुना नेपाल भित्रिएका छन्।  

छैठौंमा जर्मनका ३२ सय ४६, सातौमा फ्रान्सका ३२ सय ११, आठौंमा रसियाका २६ सय ६३, नवौंमा बंगलादेशका २२ सय १७ र दशौंमा थाइल्याण्डका २१ सय २ जना पाहुना नेपाल भित्रिएका छन्। ती सबै पाहुना हवाईमार्गबाट मात्र नेपाल भित्रिएको बोर्डले बताएको छ।  

प्रकाशित: १९ वैशाख २०८० १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App