१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पदयात्रा क्षेत्रका व्यावसायी भन्छन्ः सिजनको पर्यटक आगमन मध्यम

अन्नपूर्ण आधारशिविरमा पुगेका पाहुना। फाइल तस्बिरः नागरिक

विश्वकै प्रख्यात पदमार्ग अन्नपूर्ण फेरोमा यतिबेला दिनमा डेढ सय हाराहारीमा पदयात्री उक्लिरहेका छन्। हुन त यो बेला पर्यटकीय सिजन पनि हो, त्यसैले पदयात्रामा जाने पर्यटकको संख्या अहिले भन्दा अझै धेरै हुनुपर्ने हो। तर, कोरोना भाइरस संक्रमणले शून्यमा झरेको आगमनमा सुधार हुँदै गर्दाको अहिलेको आगमन मध्यम आकारको मान्न सकिने व्यवसायी बताउँछन्।

अन्नपूर्ण फेरोमा पर्ने मनाङका अगुवा पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार अहिले दिनमा कम्तीमा एक सय जना विदेशी पर्यटक माथिल्लो मनाङ उक्लिरहेका छन्। अघिल्लो सातासम्म यो संख्या अझ बढी थियो। ‘कोरोना भाइरस संक्रमणले शून्यमा झरेको पर्यटक आगमन अहिले यो आकारमा उक्लिनु पनि सकारात्मक नै हो,’ गुरुङले भने, ‘अहिले आगमन मध्यम आकारको रह्यो। किनकि शून्यमा झरेको आगमनले गति लिँदै गरेको अवस्था हो। एकै पटक पहिलेकै आकारमा आउनुपर्छ भन्ने होइन।’

व्यावसायीले यो आगमनबाट केही राहतको महसुस गरेको पनि उनले बताए। ‘कुनै बेला होटलमा ताला लगाएर बस्नुपरेको अवस्था थियो। अहिले कम्तीमा व्यावसाय थामिन सक्ने गरि पाहुना आएका छन्, कमाउने भन्दा पनि व्यावसाय चलायमान बनाउने काम मात्र भएको छ,’ उनले भने, ‘हुन त यो बेला अझै बढी पर्यटक आउने अपेक्षामा व्यावसायी थिए। तर, सोचे अनुसार आगमन हुन सकेन।’  

माथिल्लो मनाङ अन्नपूर्ण फेरोको पदमार्गमा पर्छ। मनाङ हुँदै पर्यटक तिलिचो र थोराङला भञ्ज्याङ पार गर्ने गर्छन्। कतिपय पर्यटक मनाङ हुँदै फर्किन्छन् भने कतिपय मुस्ताङ निस्केर पोखरा आइपुग्छन्। विदेशीसँगै पछिल्लो समय आन्तरिक पर्यटक पनि आउन थालेकोले पर्यटन क्षेत्रमा केही सहज भएको उनले सुनाए। ‘आन्तरिक पर्यटक त समूहमै आउँछन्, आन्तरिकका कारण पनि पर्यटनलाई साथ मिलेको छ,’ उनले भने।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार अहिले दिनमा डेढ सय हाराहारीमा विदेशी पर्यटक मनाङ प्रवेश गरिरहेका छन्। हुन त यो बेला त्यो आकार अझै ठुलो हुनुपर्ने भए पनि शून्यमा झरेको आगमनमा सुधार हुँदै जाँदा यो आगमनलाई पनि कमजोर मान्न नहुने गौतमले बताए।

‘हुन त कोरोना संक्रमण सुरु हुनुअघिको जत्तिको आगमन अझै भएको छैन। तरपनि अहिलेको आगमनलाई पनि नराम्रो र कमजोर मान्नु हुँदैन,’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा सुधार आएको छ। यसलाई कमजोर मान्नु पनि भएन। बिस्तारै सुधार आउने अपेक्षा गर्नुपर्छ।’

संरक्षण अधिकृत गौतमले पनि अहिलेको आगमनको आकारलाई मध्यम भन्न मिल्ने बताए। उनका अनुसार कोरोना संक्रमण सुरु हुन अघिका वर्षमा सन् २०१८ मा सबैभन्दा बढी ३० हजार विदेशी पर्यटक मनाङ पुगेको थिए। त्यो आकार कोरोना पछि घट्दै जाँदा सन् २०२२ मा १५ हजार आगमन भएको थियो। यो वर्ष त्यो आगमन पोहोर भन्दा बढेर २२ हजार पुग्ने अनुमान रहेको उनले सुनाए। ‘यो वर्ष २० हजार कट्ने हाम्रो अनुमान छ। अहिलेको आगमन मध्यम आकारको हो। सबै हिसाबले राम्रो मान्नुपर्ने हुन्छ। किनकि शून्यमा झरेको आगमन एकै पटक उकालो लाग्ने भन्ने हुँदैन,’ गौतमले भने, ‘व्यावसायी यो आकारबाट केही खुसी छन्। पर्यटकीय चहलपहल बढेकोले व्यावसायीले राहत महसुस गरेका छन्।’

अन्नपूर्ण क्षेत्रकै अर्को पदमार्ग अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पनि यतिबेलाको आगमन मध्यम आकारको रहेको त्यहाँका व्यावसायीले बताएका छन्। माछापुच्छ्रे आधार शिविर (एमबिसी) का व्यावसायी दिलीप गुरुङका अनुसार अहिले दिनमा १४० जनाको हाराहारीमा पर्यटकहरू आधार शिविर उक्लिरहेका छन्। ‘कोरोना अघिको यो बेलाको सिजनमा त दिनमै तीनसय जनाजति पाहुना उक्लेका हुन्थे। अहिले त्यसको आधा संख्यामा मात्र पाहुना आएका छन्,’ उनले भने, ‘अहिलेकै आगमन उत्कृष्ट त होइन, तर, मध्यम आकारको आगमन भन्न मिल्छ।’

कोरोनाले थलिएको पर्यटन क्षेत्रमा यो आगमनले व्यावसायीलाई केही राहत मिलेको उनले बताए। ‘हुन त यो बेला आन्तरिक पाहुना पनि केही आकारमा आएका छन्। दिनमै ३०–४० जना आन्तरिक पाहुना आएका छन्। यो भन्दा बढी संख्यामा पाहुना आउनुपर्ने हो, तर, अहिले सबैतिर पर्यटकीय गतिविधि कमजोर हुँदा त्यसको असर पनि परेको हुनसक्छ,’ उनले भने, ‘तर, अहिलेको आगमनबाट व्यावसायी आशावादी छौं। अबका दिनमा पाहुना आगमन अझ बढ्नेमा विश्वस्त हुन सकिन्छ।’

प्रकाशित: १७ वैशाख २०८० १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App